मिथिला महाकुम्भ

मिथिला महाकुम्भ

पहेंलो वस्त्र धारण गरेका दुई साधु। एकाबिहानै घरीघण्टा बजाउँदै जोडजोडले दगुरिरहेको दृष्य। सधैंभन्दा फरक आवाज सुनेर बच्चादेखि वृद्धवृद्धासम्म घरघरबाट निस्किएर सडकमा भेला हुन थालेपछि एकाएक माहोल फरक भयो। ठूला कदका एक साधु ‘मिथिला विहारीको डोला’ लेखिएको सिङ्गै बाँसको भाटामा लहराउँदै घरीघण्टाको ध्वनीलाई पिछा गर्दैछन्, गाडी छुटेपछि यात्रीले बसलाई पच्छ्याएझैं। झण्डाको पछिपछि मिथिला विहारी (भगवान् राम)को डोला छ, त्यसमा उनीहरूले काँध भिरेका छन्।

ढोलक, झ्याली, कर्ताल र हारमोनियमको तालमा नाचगान गर्दै ‘जय सियारा, जय सियारा, जय सियाराम...’ बोल गाउँदै कीर्तन मण्डली भगवान्को महिमा गाउन व्यस्त छन्। यो संगीतमय वातावरणमा मिथिला विहारीको डोलासँगै किशोरी (सीता माता) पछिपछि महोत्तरीको जलेश्वर र मठिहानीको बिच गाउँ सुगामा पुग्छिन्। दुवै डोलाको पछिपछि आँखाले देखेसम्म लाखौं तिर्थालु भक्तजनको लवालस्कर जलेश्वरतर्फ आइरहेको देखिन्छ। यो दृष्य हो, मिथिला माध्यमिक परिक्रमाको। नांगो खुट्टा तय गरिने १३३ किलोमिटरको १५ दिने धार्मिक यात्राले  मिथिलाको पावनभूमि उत्मवमय बनेको छ। यसको वातावरणमा गरिबको अनुहारमा पनि खुसी छाएको छ।

मिथिला माध्यमिक परिक्रमा १८औं शताब्दीबाट चल्दै आएको छ। प्रत्येक वर्ष फागुन शुक्ल प्रथमा (परेवा) तिथिबाट परिक्रमाको सुरुआत हुन्छ। जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै यसको समापन हुन्छ। त्यसको भोलिपल्ट मिथिलामा होली मनाइन्छ। महोत्तरी र धनुषाको १२ साथै भारतको मधुवनीका तीन स्थान गरी १५ स्थानमा परिक्रमा गरी धार्मिक यात्रा पूरा हुन्छ। दिनभरी यात्रा गरेपछि साँझ वनका गएर विश्राम गर्छन्। झाँकी र कृतनमा रमाउँछन्। साधुसन्त र महन्थहरू बास बसेको स्थानमा ठूलो धार्मिक मेला लाग्छ। भगवान् राम र सीताको दर्शन गर्न गाउँगाउँबाट मानव सागर नै उर्लिन्छ।

७३ वर्षीय रसिलाल राउत कुर्मी ७ वर्षदेखि १३३ किलोमिटर पैदल यात्रा गर्दै मिथिलाको परिक्रमा गर्छन्। सोनमा गाउँपालिका–३ का उनी भन्छन्, ‘धर्म गर्नुपर्छ, बेइमानी गर्नु हँुदैन। मरेर लानु के छ ?’ रसिला मात्रै धार्मिक यात्रामा छैनन्, उनी २५ जनालाई सँगै लिएर परिक्रमामा सहभागी छन्। उनका बुबा विहारीले रसिलाललाई परिक्रमा घुमाउन लगेका थिए। बुबाको मृत्युपश्चात रसिलालले अहिले परिक्रमामा गाउँलेलाई लिएर हिँडिरहेका छन्।

गृहस्थी जीवनबाट समय निकाल्न उनलाई निकै मुस्किल पर्छ। परिक्रमाका लागि आएपछि सबै काम छोडेर १५ दिन देशविदेश भ्रमण गर्ने, धर्म कमाउने समय निकाल्ने गरेको उनी सुनाउँछन्। ‘मानव नै भगवान् हो, दुःखका परेकालाई सहयोग गर्दा र भोकालाई खाना खुवाउँदा पुण्य प्राप्त हुन्छ’, उनी भन्छन्, ‘परिक्रममा आउँदा मन गद्गद् हुन्छ। आरामले खान पाइन्छ, सबैले सबैलाई प्रेम गरेको देख्न पाउँछौं। यस्तै समाजमा पनि होस्।’

आजभन्दा करिब पौने २ सय वर्ष पहिले सियालाल प्रभंस नाम गरेको सन्तले १०–१२ जना साधु मिलेर परिक्रमाको सुरुआत गरे। त्यसपछि मिथिला बिहारी (राम)को डोला सुरु भयो। त्यसपछि किशोरीजीको पनि डोला सुरु भयो। परिक्रमाले नेपाल र भारत दुवै देशको संस्कृतिलाई जोड्ने काम गर्छ। यसले मानवलाई धर्मको माध्यमबाट नैतिकवान् र आशावादी बनाउँछ।

मिथिलाञ्चलका श्रद्धालु प्रौढ मानिस छोराबुहारीले घरव्यवहार सम्हालेपछि जीवनमा कम्तिमा पनि एकपटक माध्यमिक परिक्रमा गर्न चाहन्छन्। अधिकांश सहभागी १५ दिनको सामल, लत्ताकपडा, औषधि आदि सँगै बोकेर हिँडछन्। सरसामान बोक्न दर्जनौं लान्छन्। साधुहरू भने आफूसँग आफ्ना गाई, घोडा, बाँदर समेत पनि लगेका छन्। पन्ध्र दिने परिक्रमामा विशुद्ध पारिवारिक माहौल हुन्छ। धार्मिक यात्राबाट शान्ति र आनन्द मिलेको कमोधिया  बताउँछन्। ‘न दुःख न शोक न चिन्ता न त बिध्न बाधा नै हुन्छ परिक्रमा यात्रामा। केवल आनन्द नै आनन्द मिल्छ’, उनले भनिन्, ‘हिँड्दै हिँड्दै धर्म पनि हुने र तीर्थस्थलको दर्शन पनि हुने यस्तो पर्व कतै छैन।’

राजनीतिक कित्तामा विभाजित समाजलाई परिक्रमाले जोड्छन्। परिक्रमावासीलाई स्वागत गर्न के धनी, के गरिब, के दलित, के ब्राह्मण सबै एक भएर जुट्छन्। तिर्थालुको स्वागत सत्कारमा सबै रमाउँछन्। एक विश्राम स्थलबाट अर्को विश्राम स्थल जाँदा स्थानीयवासी, सरकार, संघसंस्था सबै सडकमा लामबद्ध हुन्छन्। गाउँको सिमानामा (प्रवेशद्वार) मा उनीहरूले भव्य स्वागत गरेर भित्र्याइन्छ, हर्षबढाई गर्दै विदाइ गरेर भोलिपल्ट अर्को विश्रामस्थलमा पठाउँछन्।

श्रद्धालु बसेका स्थानहरू भरिभराउ हुन्छ, झकिझकाउ हुन्छ। साना व्यापारीहरू सरसमान बिक्री गरेर आर्जन गर्छन्। वर्षभरी भएका सबै क्रोध, झैझगडालाई बिर्सिदै धार्मिक मेलामा रमाउँछन्। यो एउटा मिथिलाको सांस्कृतिक पर्व हो, जसले आन्तरिक पर्यटनलाई बढावा दिन्छन्। नेपाल–भारत बिचको सम्बन्धलाई प्रत्येक वर्ष ‘रिचार्ज’ गर्छ।

जहाँ कृपा रामे होई, 
उहाँ कृपा सबकोई के।

अर्थात् जहाँ भगवान् रामको कृपा हुन्छ त्यहाँ सबैको कृपा हुने लक्ष्मीनारायण मठ मठिहानीका महन्थ जगरनाथ दास वैष्णव बताउँछन्। ‘परिक्रमा हाम्रो संस्कृति, हाम्रो सभ्यता हो। जहाँ जहाँ राम र सीताको चरण परेको छ। ती ठाउँहरू भ्रमण गर्दा मनोकामना पुरा हुने जनविश्वास छ’, उनी थप्छन्।

हिमाल नपग्लिए मधेस सिञ्चित हुन्न। पहाड नउम्रे मधेसले पानी पाउन्न। मधेस डढे पहाड मर्छ, पहाड बर्सिए मधेस, पहाड बर्सिए मधेस डुब्छ, हिमाल पग्ले पहाड खस्छ र मधेस पुरिन्छ भन्ने सन्देश फैलाउँदै मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने मिथिला मध्यमा परिक्रमा ठुलो संख्यामा पहाडी समुदाय सहभागी हुन्थ्यो। २०६३ र २०६४ को मधेस आन्दोलनले भने जनकपुर, जलेश्वरबाट पहाडी समुदाय पलायन भयो। त्यसले गर्दा परिक्रमामा पहाडी समुदायको उपस्थित कम भएको छ।

‘मानव नै भगवान् हो, दुःखमा परेकालाई सहयोग गर्दा र भोकालाई खाना खुवाउँदा पुण्य प्राप्त हुन्छ’, ७३ वर्षीय रसिलाल राउत कुर्मी भन्छन्, ‘परिक्रमामा आउँदा मन गद्गद् हुन्छ। आरामले खान पाइन्छ, सबैले सबैलाई प्रेम गरेको देख्न पाउँछौं। समाजमा पनि यस्तै होस्।’

‘धार्मिक, भाषिक, सांस्कृतिक, सामाजिक अन्तरघूलन बढाउँदै तराई–मधेस र  पहाड गरी दुई क्षेत्रका नेपालीलाई एक ठाउँमा ल्याउने उद्देश्यका साथ उनीहरू सो धार्मिक यात्रामा सहभागी हुन्छन्’, नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष ईश्वरी पौडेलले भने, ‘परिक्रमालाई अझै प्रचारप्रसार गराउनु पर्छ। संघीय सरकारले यसको महत्व बढाउँदै लैजानु पर्छ।’ प्राचीन मिथिलाको राजधानी जनकपुरको चारैकुनामा राजा जनकले चारवटा शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरेका थिए। जसलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारीे महन्त रामरोशन दास बताउँछन्। चारवटै शिवालय राजाजनकको इष्टदेव हुन्।

वर्षमा एकपटक विशाल रूपमा तिर्थालुहरू मोक्ष प्राप्तिका लागि मिथिलाको माध्यमिक परिक्रमा गर्छन्। ‘मिथिलाको आफ्नै महत्व छ। संसारमा कुनै न कुनै पाप जानेर वा नजानेर मानिसबाट भइरहेको हुन्छ। तीर्थ गरेपछि त्यसबाट मुक्ति पाइन्छ। तीर्थहरूमा गएर गरिएको पापहरू मिथिलाधामको परिक्रमा गरेपछि मात्रै कट्छ भन्ने धार्मिक विश्वास छ’, नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको यज्ञवाल्क्य लक्ष्मीनारायण विद्यापीठ मठिहानी महोत्तरीका सह–प्राध्यापक ध्रुव रायले भने।

अति प्राचीन ग्रन्थ विष्णु पुराण अन्तर्गतको मिथिला महात्म्हको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिक्रमाको बारेमा विस्तृत वर्णन गरिएको छ। ‘मिथिला भूमि पावन र पवित्र छ। सीता कही पनि उत्पन्न हुँदा हुन्थ्यो तर उहाँ मिथिलाको भूमिमै उत्पन्न हुनुभयो किनभने मिथिलाको माटो नम्र थियो। खाली खुट्टा हिँडेर परिक्रमा गर्न सजिलो थियो’, सहप्राध्यापक राय भन्छन्, ‘मिथिला माध्यमिक परिक्रमाको १५ वटा विश्रामस्थल छन्। सबै ५ कोसको दुरीमा लगभग छन्। अर्थात् १५ किलोमिटर भित्रै पर्छन्।’

राजा जनक शिवभक्त थिए। उनले जनकपुरको पूर्व र दक्षिण कुनामा स्थापना गरेको कलान्याश्वर महादेव स्थानबाट दुई साता चल्ने माध्यमिक परिक्रमा प्रारम्भ हुन्छ। यो परिक्रमालाई विस्तार गर्ने काम जानकी मन्दिरका महन्थ सुरकिशोर दासले व्यवस्थित रूपमा अगाडि बढाउने काम गरेका थिए। यो परिक्रमालाई सबैले नेपालको महाकुम्भ भन्छन्। भारत वर्षमा यसरी तीर्थहरूको परिक्रमा गर्ने चलन छ। मध्यमिक परिक्रमा नेपालकै ठूलो धार्मिक यात्रा रहेको उनी बताउँछन्।

माता, पिता, तीर्थ र गाई यिनीहरूको परिदक्षिणा परिक्रमा गर्नुपर्छ भन्ने भाव परिक्रमाले झल्काउँछ। आफू जन्मेको भूमि उसका लागि स्वर्गभन्दा प्यारो हुन्छ। मिथिला भनेको जगत् जननी सीताजीको जन्मभूमि हो। जन्मभूमिलाई कदापि बिर्सिनु हुँदैन। टाढा टाढा गएका मान्छेहरू वर्षमा एकपटक भएपछि परिक्रमा गरेर सुमरण गर्छन्। मिथिला क्षेत्रमा आराध्यदेव नै राम र सीता हुन्। नर रूपमा आएपछि राम र सीताजी भन्दा पहिला कुनै भगवान्को बिहे नै भएको थिएन।

धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट रामजानकी डोला (प्रतिमा) को अगुवाइमा निस्केको यो धार्मिक यात्रा ठेरा, जमुनिया, बेंगा शिवपुर हुँदै जनकपुरको रत्नसागर मन्दिर पुग्छ। त्यहाँ खाना खाएर परिक्रमाका सहभागी जानकी मन्दिरको दर्शन गर्दै राति जनकपुर–१२ कुवारामपुरस्थित हनुमानगढीमा विश्राम गर्छन्। सूर्योदयलगत्तै उनीहरू भारतको कलानेश्वरका लागि बाटो तताउँछन्। जहाँबाट विधिवत् परिक्रमा थालिएको मानिन्छ।

धार्मिक यात्राबाट शान्ति र आनन्द मिलेको कमोधिया सोनमा बताउँछिन्। ‘न दुःख न शोक न चिन्ता न त बिध्न बाधा नै हुन्छ परिक्रमा यात्रामा। केवल आनन्द नै आनन्द मिल्छ’, उनले भनिन्, ‘हिँड्दै हिँड्दै धर्म पनि हुने र तीर्थस्थलको दर्शन पनि हुने यस्तो पर्व कतै छैन।’

परिक्रमावासीलाई धनुषाको कचुरीका गाउँलेले हर्षपूर्वक बिदाइ गर्छन्। त्यहाँ बिहान दहीचिउरा र जलपान गराउँछन्। परिक्रमाका सहभागीलाई घरघरबाट चामल, दाल, आलु, नुन, खुर्सानी, बेसार पनि प्रदान गरिन्छ। धनुषाको बेंगाबाट स्वागत गर्न जमुनिया आएका ८० वर्षीय दीपनारायण यादव आफू ५ दशकदेखि परिक्रमावासीलाई स्वागत गरिरहेको बताए। यात्रीहरू भारतको कलना, फूलगामा, करुणा र बिसौल तथा नेपालको धनुषा र महोत्तरीका गरी १५ स्थानमा यात्रा गर्छन्। उनीहरू महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः कलानेश्वर पुग्छन्। श्रद्धालुहरू विश्राम गर्ने स्थानको छुट्टाछुट्टै धार्मिक महत्व छ। फूलहरूमा राम र सीताबिच पहिलो मिलन भएको विश्वास छ भने मटिहानीमा विष्णुको प्रख्यात मन्दिर छ।

शिव मठ पर, राम खेले होली।
किनके हात कनक पिचकारी,
किनका हात अबीर झोरी।

मिथिलाको महापर्व माध्यमिक परिक्रमाका तीर्थयात्रीका अन्त्यहीन लस्करका कारण कञ्चनवन पुगेपछि होलीको गीत गाउँदै फागु अर्थात् रंग र अबीरले होली खेल्छन्। धर्मयात्रीको आगमनले कञ्चन वन भरिभराउ हुन्छ। आँपको बगैचामा भजनकीर्तन, धार्मिक झाँकी, रामायणकालीन उत्सव, साधुसन्तको अलख लगायतका धर्मपरायण नरनारीको जयकारले कञ्चनवनमा रौनक छाउँछ।

मिथिलाञ्चलमा जारी रहेको परिक्रमा प्रत्येक वर्ष कञ्चनवन पुग्दा रंग अबीर खेल्ने चलन छ होलीको गीतसँगै। त्रेता युगमा विवाहपछि वनविहारमा निस्केका राम र सीताले आफ्नो यात्राको आठौं दिन कञ्चनवनमा पुगेर रंग अबीर खेलेको किंवदन्ती प्रचलित छ। परिक्रमा प्रारम्भ भएको आठौं दिन किशोरीजी र मिथिला विहारीको डोला लिएर आएका परिक्रमामा लस्करसँग भक्तजन मिसिन्छन्।

महोत्तरी र धनुषा जिल्लाको सीमामा पर्ने कञ्चनवनमा नुहाई धुवाई गरी उनीहरू सीताराम मन्दिरमा दर्शन पूजा गर्न जान्छन्। त्यसपछि घरबाट लिएर आएको भोजन ग्रहण गरी दिउँसो मेलामा घुमफिर गरेर राति त्यहीँ विश्राम गर्ने चलन छ। मिथिलामा होली श्रीपञ्चमीकै दिनदेखि सुरु भएको मानिए पनि कञ्चनवनमा साधुसन्तले औपचारिक रूपमा होली प्रारम्भ गर्दै आएका छन्।

सीता स्वयम्बरका बेला भाँचिएको शिवधनुषको एक टुक्रा धनुषाधाममा खसेको ठाउँमा पनि परिक्रमा गर्नेहरू रातिको विश्राम लिन्छन्। जहाँ तेत्रा युगमा भाँचिएको धनुषको एउटा टुक्रा अझै धनुषाधाममा देख्न सकिन्छ। सतोषरमा सप्तऋषिको आश्रम रहेको धार्मिक विश्वास छ। ‘परिक्रमाका सहभागीहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन्’, स्वर्गीय पर्शुराम साह मिथिला परिक्रमा धर्म संस्था जलेश्वरका कोषाध्यक्ष राजाबाबुले भने। संघसंस्थाले तीर्थ यात्रीलाई चामल, दाल, तरकारी, दाउरा दिन्छन्। साधुसन्धलाई ओछ्याएर सुत्न पराल दिन्छन्, उनीहरूका गाई, गोरु, घोडाका लागि परालको बन्दोबस्त मिलाइदिन्छन्।

‘यस्तो परिक्रमा कही छैन, जहाँ दुई देश भएर जान्छ। एउटै परिक्रमा १५ दिनसम्म जान्छ। यो एउटा अनौठौ परिक्रमा हो’, किशोरीजीको डोलाका महन्थ नवल किशोर यादव भन्छन्, ‘कोसी, गण्डक, गंगा, हिमालय मिथिला क्षेत्रभित्र पर्दछ। यो बृहत् परिक्रमाभित्र पर्छ। राजा जनकको राजधानी जनकपुरलाई परिक्रमा गर्नु भनेको माध्यमिक परिक्रमा हो।’ जुन परिक्रमाको बारेमा यहाँहरू जानकारी प्राप्त गर्दै हुनुहुन्छ।

‘दुई ठाउँमा भगवान् नाचेका छन्, जहाँ वृन्दावनमा कृष्ण र अध्योधामा राम थिए। जो नाचे’, महन्थ यादव भन्छन्, ‘मिथिलामा मिथिलानीले भगवान्लाई नचाउँछन्। प्रत्येक दिन मिथिला के हो ? यसको परिक्रमा किन गरिन्छ ? भन्नेबारे परिक्रमामा प्रत्येक दिन मिथिला महात्म्हको कथा हुन्छ।’ उनका अनुसार, परिक्रमा भनेको शास्त्र र पुराणमा सीमित भइसकेको थियो। आजभन्दा करिब पौने २ सय वर्ष पहिले सियालाल प्रभंस नाम गरेको सन्तले १०–१२ जना साधु मिलेर परिक्रमाको सुरु गरे। त्यसपछि मिथिला बिहारी (राम)को डोला सुरु भयो। त्यसपछि किशोरीजीको पनि डोला सुरु भयो।

परिक्रमाले दुवै देशको संस्कृतिलाई जोड्ने काम गर्दछ। यसले मानवलाई धर्मको माध्यबाट नैतिकवान र आशावादी बनाउँछन्। मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल भन्छन्, ‘प्रदेश र संघीय सरकारले परिक्रमालाई खासै बुझेकै छैन। यत्रो ठूलो धार्मिक यात्रा भइरहको छ। प्रदेश र संघीय सरकारलाई कुनै चासो नै छैन। पर्यटन मन्त्रालयले यसलाई महत्व दिनुपर्छ। यसको प्रचार प्रसार भएको भए यसले देशलाई राम्रै फाइदा हुन्थ्यो, बाहिरका पर्यटकहरू आउँथे।’ परिक्रमाबारे विश्वविद्यालयहरूले शोध गराउनु पर्ने उनले माग सरकारसँग माग गरे। सञ्चारकर्मी विकास साहले आफ्नै लगानीमा मिथिला माध्यमिक परिक्रमाबारे भिडियो डकुमेन्ट्री बनाएका छन्।

पन्ध्र दिने यस धार्मिक यात्रालाई व्यावसायीकरण गरेर वार्षिक करोडौं आर्जन गर्न सक्ने सम्भावना भए पनि हालसम्म यो धार्मिक यात्रा व्यावसायिक स्वरूप लिन सकेको छैन। यस धार्मिक यात्रामा वार्षिक हजारौं श्रद्धालु सहभागी हुन्छन् तर उनीहरूका लागि सुविधासम्पन्न आवासको सुविधा छैनन्। पोसाक कोड छैन। खानाको व्यवस्था स्थानीयवासीले गर्छन्। अनि कसरी हुन्छ व्यावसायीकरण ?  पध्र दिने यस यात्रालाई प्रचारप्रसार गरेर यात्रीका लागि सुविधासम्पन्न आवास तथा होटल आदिको व्यवस्था गरेर राम्रो आम्दानी गर्न सकिने होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए।

परिक्रमा क्षेत्रमा धर्मशाला नभएकाले यात्रीलाई असहज बनाएको छ।  तीर्थयात्रीको बसाइँ र पर्यटकको व्यवस्थापनमा समस्या भएको हो। धार्मिक पर्यटन कृषि र उद्योग व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित भारतको ईकजीव बैंकको ऋण सहयोगमा भारत सरकारले एक अर्ब ५० करोड २९ लाख २८ हजार ७ सय २८ रुपैयाँको लागतमा ९९ दशमलव ३७ किलोमिटर लामो परिक्रमा सडकको निर्माण थालिएको थियो तर निर्माण जिम्मा लिएका ५ ठेकेदार कम्पनीले जग्गाको मुआब्जा र क्षतिपूर्तिसम्बन्धी विवादका कारण देखाउँदै काम सुस्त गतिमा गरिरहेका छन्। जसले गर्दा परिक्रमामा सहभागी धर्मयात्रीलाई पैदल यात्रा गर्न समस्या भएको हो। निर्माण भएको कालोपत्र सडक पनि उकिन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.