गुर्जोको गुरुत्व

गुर्जोको गुरुत्व

कोरोना भाइरस हामीबाट जति टाढिँदै छ त्यति कम हुँदै छ गुर्जोको चर्चा। कोरोना महामारीले च्याप्दा हाम्रो आशाको त्यान्द्रो गुर्जो, बेसारपानी लगायतमा अल्झिएको थियो। जतिबेला खोपको टुंगै थिएन। लकडाउनका बेला यसो सागसब्जी, खाद्यान्नको जोहो गर्न निस्किँदा पसल–पसलमा गुर्जो बिक्री गर्न राखेको पाइन्थ्यो। तर, कसरी, कति मात्रा सेवन गर्नुपर्ने भनेर धेरै जनमानसमा अनभिज्ञता थियो।

त्यसैबेलादेखि गुर्जो चिनाउँदै निःशुल्क उपलब्ध गराउन लागेका हुन्, महोत्तरी जलेश्वरका कमलबहादुर राजलवट। आफ्नो बलबुताले भ्याएसम्म गुर्जो खुवाए। गुर्जोमिश्रित धुलो औषधि र गुर्जो चिया उपलब्ध गराए। गुर्जोको बेर्ना उत्पादन गरी ठाउँ–ठाउँमा पठाए। गुर्जो चिया र गुर्जो मिश्रित धुलो औषधि वितरण गरिरहेकै छन्। आफैं एक थर्मस चिया बोकेर गोष्ठी, सेमिनार या कुनै कार्यक्रममा पुगेर गुर्जोसहित जडीबुटीको मिश्रण सेवन गराउन अग्रसर भइरहेकै छन्।

सुरुमै सोध्छन्, ‘तपाईंसँग ग्यास्ट्रिक या कुनै रोग छ ?’ अरूले आआफ्नो स्वास्थ्य अवस्थाबारे जवाफ दिन्छन्। अनि ठट्यौली पारामा भन्छन्, ‘यो रामवाण हो। यसले जवान महसुस गराउँछ। त्यसपछि पहलवान बनाउँछ।’ भन्छन्, ‘पहिला चिया पिइसक्नोस्, त्यसपछि भन्छु।’ तब उनको जवाफ हुन्छ, ‘गुर्जो चिया एक चिम्टी एक गिलास पानीमा उमाल्नुस्। त्यसपछि पिउनुस्। स्वादका लागि मह र बिरे नुन प्रयोग गर्न सक्नुहुन्छ। यसलाई चियाकै रूपमा सेवन गर्न सक्नुहुन्छ।’

‘धुलो औषधि नि ?’ यो एक चिम्टी मन तातो पानीमा घोलेर बिहान खाली पेटमा र बेलुका खाना खाएको एक घण्टापछि सुत्ने बेला सेवन गर्नुहोस्। ‘साइड इफेक्ट के छ ?’ ‘मैले यसको साइड इफेक्ट देखेको छैन। साइड इफेक्ट भनेकै निरोगिता हो। यसको नकारात्मक प्रभाव देखिएको छैन र हुँदैन पनि। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक बल प्रदान गर्ने, शरीरका विकारलाई बाहिर निकाली स्वस्थ बनाउने हुन्छ।’

कमल गुर्जोमिश्रित धुलो औषधि र गुर्जो चिया चखाउँदैनन् मात्र यसका प्याकेट निःशुल्क उपलब्ध गराउँछन्। नियमित सेवन गर्न सल्लाह दिन्छन्। आवश्यक परे सम्पर्क गर्न आग्रह गर्छन्। उनका अनुसार गुर्जोमा एन्टी भाइरल, एन्टी ब्याक्टेरियल, एन्टी अक्सिडेन्टल, एन्टी एलर्जिकजस्ता धेरै गुण छन्। भन्छन्, ‘मैले यसको अवगुण पाइनँ। बरु यसले युवापन (युथनेस) बढाउँछ।’ उनका अनुसार गुर्जो भनेपछि अधिकांशले कोरोनाको औषधि भन्दै सहर्ष स्वीकार गर्छन्। शरीरमा बल दिन्छ भनेर गुर्जाे चिया सेवन गरिहाल्छन्।

कमलबहादुर राजलवट पहिलो भेटमै सोध्छन्, ‘तपाईंसँग ग्यास्ट्रिक या कुनै रोग छ ?’ अरूले आआफ्नो स्वास्थ्य अवस्थाबारे जवाफ दिन्छन्। अनि ठट्यौली पारामा भन्छन्, ‘यो रामवाण हो। यसले जवान महसुस गराउँछ। त्यसपछि पहलवान बनाउँछ।’

‘के प्रतिक्रिया दिन्छन् ?’ ‘सकारात्मक प्रतिक्रिया आइरहेको छ। ग्यास्ट्रिकलगायत विभिन्न स्वास्थ्य समस्या ठीक भयोे भन्छन्। रुघाखोकी, ज्वरो, रक्तचाप, मधुमेह, मुटु/कलेजो/मृगौलासम्बन्धी, पायल्स, हाडजोर्नी, माइग्रेन, एन्जाइटी नसासम्बन्धी, थाइराइटलगायत समस्यामा बहुगुणकारी बहुउपयोगी देखिएको छ।’ रक्तचाप कम हुनेलाई समस्या गराउँछ कि गराउँदैन ? यस्तो प्रश्नमा उनी भन्छन्, ‘रक्तचाप कम हुने महसुस भयो भने आत्तिनुपर्दैन। कुनै पनि प्रकारको नुन मिसाएर सेवन गर्दा लाभ पुग्छ। गर्भवती, काखे बच्चालाई गुर्जाे सेवन गराउनु हुँदैन।’

हाकिमको जडीबुटी लगाव
गुर्जोको गुरुत्व चिनाउन/बुझाउन लागिपरेका कमल आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख करअधिकृत हुन्। धुलिखेल कार्यालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप पनि हेर्छ। सिन्धुपाल्चोकबाहेक तीन जिल्लामा करदाता सेवा कार्यालय छन्। २०५६ सालमा नायबसुब्बासरह लेखापरीक्षण अधिक्षक पदबाट सेवा प्रवेश गरेका कमल खुलाबाट २०५९ फागुनमा शाखा अधिकृत, खुलाबाटै राजस्व समूहमा २०६७ असारमा उपसचिव भएका हुन्। सहसचिवमा भने लिखितबाट सफल भएनन् तर बढुवा हुने पालो आएको छ। 

करको हिसाबकिताब राख्नुपर्ने, राजस्व वृद्धिका विषयमा योजना बनाउनुपर्ने व्यक्ति गुर्जोमा कसरी आकर्षित हुनुभयो ? गुर्जोको सेवन गर्दा रुघाखोकी, ज्वरो निको हुन्छ भन्ने सुनेको थिएँ। आफैं सेवन गर्दा फाइदा भयो। १०–११ वर्षदेखि गुर्जो सेवन गर्दै आएँ। जडीबुटीबाट घरेलु औषधि बनाएर सेवन गर्दै आएँ। त्यसले मलाई फाइदा गर्‍यो। त्यसपछि घरपरिवारमा सेवन गराउन थालें। परिवारका सदस्यलाई पनि फाइदै गर्‍यो।

खासगरी ग्यास्ट्रिक, रुघाखोकी, ज्वरोमा फाइदा गर्‍यो। यस्ता रोगले समाइहाले पनि पनि निको भइहाल्ने भयो। रोगको प्रभावै कम पर्ने भयो। गुर्जो शक्तिवद्र्धकजस्तो महसुस भयो। त्यसले मलाई उत्साहित बनायो। जडीबुटीको अध्ययन गरें। जडीबुटी मिश्रणको मात्रा बढाएँ। साथीभाइलाई सेवन गराएँ, उहाँहरूलाई फाइदा भयो। अफिसका स्टाफलाई खुवाउन थालें, त्यहाँ पनि फाइदा भयो। छरछिमेकमा पनि खुवाएँ, उहाँहरूलाई नि फाइदै भयो। उनको उत्तर सहज छ।

किन गर्नुहुन्छ गुर्जोको चिन्तन ?
जन्मेपछि मृत्यु निश्चित छ। जन्म र मृत्युको बीचमा बाँच्ने कला छ। कसरी बाँच्ने र कसका लागि बाँच्ने ? त्यो महत्वपूर्ण हुँदो रहेछ। आफू र परिवारका लागि जो पनि बाँचिरहेका हुन्छन्। त्योभन्दा अझै माथि उक्लिएर समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्प्रतिको दायित्व पनि छ। अरू सबैप्रतिको दायित्व निर्वाह गर्ने क्रम हो यो। जसबाट मलाई सन्तुष्टि मिलिरहेको छ।

यो काम गर्न कसरी समय व्यवस्थापन गर्नुहुन्छ ? म आफ्नो पेसाप्रतिको दायित्व निर्वाह गर्दै बिदा र फुर्सदको समय सदुपयोग गर्छु। मन्त्रालय, विभागका कर्मचारीलाई सेवन गराए। चिनजानका माध्यमबाट कोरोना पोजिटिभ भएका परिवारसम्म पनि पुगे। अन्य परिवारमा पनि पुगे। भन्छन्, ‘हामी (परिवारका सदस्य र शुभेच्छुकसहित)ले विभिन्न योग केन्द्र, ध्यान केन्द्र, अस्पतालहरूमा गुर्जो पुर्‍यायौं।’

माग आएका स्थान र व्यक्तिहरूलाई उनले धुलो औषधि र गुर्जो चियाको सेवा पुर्‍याए। ‘लकडाउनको डेढ महिना धुलो औषधि (वैशाखसम्म)मा १ सय २३ किलो गयो। त्यसपछि १ हजार किलो र चिया ६ सय किलो सेवा गरें। कोरोना पोजिटिभ तथा उनीहरूका परिवारका १० हजारभन्दा बढी व्यक्तिलाई सेवा दियौं’, उनी भन्छन्, ‘काँचो गुर्जो ८ हजार किलोभन्दा बढी सेवा दिएँ।’ सिरहाको लहानमा बाटो छेउछाउ, गाउँघरमा प्रशस्त गुर्जो पाइन्थ्यो। त्यही संकलन गरी अरूलाई सेवा दिएको उनी सुनाउँछन्। उनले त्यसयता गुर्जो चिया २ लाखभन्दा बढीलाई सेवन गराएका छन्।

धुलो औषधि आवश्यकताअनुसार १८–२० हजार व्यक्तिलाई सेवन गराएको उनी सुनाउँछन्। उनले वैशाख पहिलो सातादेखि १ लाख ५० हजारभन्दा बढी बेर्ना निःशुल्क वितरण गरे। भन्छन्, ‘सातै प्रदेशका लगभग ६० भन्दा जिल्लामा निःशुल्क पुर्‍यायौं।’ लकडाउनका बेला सडकमा भेटिने गाडीलाई अनुरोध गर्थें। सुरुमा अस्वीकार गरे पनि निःशुल्क सेवा हो भनेपछि लैजान सहमत हुन्थे।’

सबै रोगको डाक्टर
कमलले गुर्जो चिया र धुलो औषधि निःशुल्क चखाउँदै आए पनि गुर्जोका बेर्ना उत्पादनमा लाग्ने उनको योजना छ। किन त ? ‘कोरोनाकालमा मानिसहरूले आत्तिएर जरासँगै उखेल्थे। त्यसले मासिने अवस्थामा पुग्यो। त्यसलाई बचाउने अभिप्रायले बिरुवा उत्पादनमा लागें’, उनी भन्छन्, ‘अनि घरघरमै गुर्जो उपलब्ध होस्। सबै रोगको डाक्टर घरमै होस् भनेर बिरुवा उत्पादन गरें।’ सबै नेपाली निरोगी होऊन् भन्ने कामनासहित काम गरेको उनी बताउँछन्। भन्छन्, ‘सर्वे सन्तु निरामयाः।’

लकडाउनका बेला उनी आन्तरिक राजस्व कार्यालय लहानमा थिए। काठमाडौंमा बहिनी अञ्जु प्रधान, दिदी महालक्ष्मी राजलवट, राष्ट्रिय योजना आयोगका सहसचिव तथा योगगुरु किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीको सहयोग रहेको उनी सुनाउँछन्। यसपटक महाशिवरात्रिमा परिवारै खटिएर २० हजार जनालाई चिया सेवन गराए साथै चियाको प्याकेटै उपलब्ध गराए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय योग दिवस २०७७ का अवसरमा बालुवाटारमै गुर्जो सेवन गराए।

बिक्री होइन, सेवा गर्नुहुन्छ ? खर्च कसरी धान्नुहुन्छ ? सामान्य खर्च हुन्छ किनभने आवश्यक कच्चा पदार्थ गाउँघरमै उपलब्ध हुन्छन्। केही सामग्री मात्रै बजारबाट लिनुपर्ने हुन्छ। जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो पनि हुँदो रहेछ। भगवान्ले ‘तिमी चिताऊ म पुर्‍याउँछु’ भन्छन्। दिने त ईश्वर नै हुनुहुन्छ। उनी यस्तै जवाफले मख्ख बनाउँछन्।

डेढ सय जडीबुटीको मिश्रण
कमलका अनुसार गुर्जो चियामा गुर्जोसहित, तुलसी, असुरो, लेमन ग्रास, करी पत्ता, हर्रो, बर्रो, अमला, बेसार, सुठो, जेठीमधुसहित २५ भन्दा बढी जडीबुटी मिसाइएको छ। धुलो औषधि १ सय ५० भन्दा बढी जडीबुटीको मिश्रणबाट बनाइएको छ। पहिलोमा भान्छामा प्रयोग हुने ज्वानो, मेथी, दालचिनीजस्ता मसला ८० प्रकारभन्दा बढी, दोस्रोमा वस्तुभाउले खाने जडीबुटीजन्य घाँसपात तुलसी, पुनर्नवा, भृंगराज, वर, पीपल, आँप, लिची, जामुन, बेल, दूबोसहित ७० भन्दा बढी, तेस्रोमा फलफूलका बोक्रा, कागती, अनार, सुन्तला, मेवाका बोक्रा, बीउ आदि, चौथोमा फूलहरू कमल, इन्द्रकमल, लालीगुँरास, गुलाफ, बाह्रमासे, पारिजातलगायत छन्।

कमलका अनुसार गुर्जोलाई मैथिलीमा गुर्गुज, हिन्दीमा गिलोय, संस्कृतमा गुरुचि, अमृता भनिन्छ। यसको वनस्पतीय नाम टिनोस्पोरा कोर्डिफोलिया हो। यसको स्वाद तीतो हुन्छ। जडीबुटी र भान्सामा प्रयोग हुने मरमसलाका सामग्री सेवन गर्नुपर्छ। नियमित योग तथा शारीरिक व्यायाम गर्न आवश्यक छ। भन्छन्, ‘जहिलेसम्म यो समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्लाई मेरो आवश्यकता पर्छ त्यो बेलासम्म निःशुल्क सेवा गर्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.