टिपरको ठक्करले आमाको मृत्यु, छोरा सकुशल
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक महिलाको मृत्यु भएको छ।
मृतक महिला छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन्। मोटरसाइकल चालक भने सकुशल रहेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करले सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका ११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो।
टिपरको ठक्करले घाइते भएका उनलाई उपचारको लागि भक्तपुर अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक मृतकका छोरा ३४ वर्षीय प्रकाश कार्कीलाई भने केही भएको छैन।
अरनिको राजमार्गबाट भित्री सडक नलिन्चोक हुँदै चित्तपोलतर्फ जाँदै गरेको बा ४ ख ९८१० नम्बरको खाली टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनाबारे जानकारी भएलगत्तै नलिञ्चोकमा रहेको प्रहरी सहायक निरीक्षक रवीन्द्र थापाको कमाण्डको सीआरभी टोली दुर्घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते कार्कीलाई सीआरभी टोलीले तत्काल उद्धार गरी भक्तपुर अस्पताल पुर्याएको थियो।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीसमेत खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरेको थियो।
प्रहरीले टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिएको छ। चालकसँगै दुइटै सवारीसाधन जगाती वृत्तमा राखिएका छन्।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।