४० वर्षपछि रिहा भए दुर्गाप्रसाद
कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका छन्। चालीस वर्षदेखि कारागार जीवन बिताइरहेका दुर्गाप्रसाद रिहा भएका हुन्।
कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो।
अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका छन्।
चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए। उनलाई ह्याम रेडियोको क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन्।
२०३७ सालमा दुर्गाप्रसादले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्थे।
जेलबाट छुटेपछि बाहिरी संसार देख्न पाएका उनले सञ्चारकर्मीले सोधेका प्रश्नको कुनै जवाफ दिएनन्।
उनी कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकार उपस्थित थिए।
कारागारबाट निस्किएपछि उनलाई रसबरी दिइएको थियो। रसबरीको बट्टा नै हातमा दिएर उनका शुभचिन्तकले ‘तपाईंकी आमालाई लगिदिनुहोस्’ भनेको एक भिडियोमा सुन्न सकिन्छ।