बुद्धकृष्णले फेरि छेड्ने भए जिब्रो
भक्तपुर : भक्तपुरको बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिस्थित बोडेको जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले नै फेरि आफ्नो जिब्रो छेडाउने भएका छन् । अघिल्लो वर्ष नै जिब्रो छेडाउन तम्तयार भएर बसेका बुद्धकृष्णले कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापनको कारण जिब्रो छेडाउन पाएनन् ।
‘अघिल्लो वर्ष जिब्रो छेडाउन पाइनँ’, उनले थपे, ‘त्यसैले यस वर्ष मै छेड्छु।’ उनले अर्को वर्ष भने नयाँ पुस्तालाई पालो दिने सुनाए ।
मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष बैशाख २ गते हजारौं भक्तजनको सामुन्ने जिब्रो छेडिँदै आएको छ ।
बुद्धकृष्णले यसअघि ६ पटक जिब्रो छेडाइसकेका छन् । यसपटक सातौंपटक उनले जिब्रो छेडाउने तयारी गरेका हुन् । उनले १२ वर्षअघिसम्म लगातार चारपटक जिब्रो छेडेका थिए । तर पाँचौंपटक जिब्रो छेड्न नपाउँदै घरमा जूठो परेको थियो ।
दाजु कृष्णचन्द्रले पनि भाइ बुद्धकृष्णले इच्छा व्यक्त नगरेसम्म १२ पटक लगातार जिब्रो छेडाएका थिए । १३ औं पटक जिब्रो छेड्न नपाउँदै भाइ बुद्धकृष्णले पनि जिब्रो छेड्ने इच्छा व्यक्त गरेपछि सर्लक्कै छोडेका कृष्णचन्द्रले ११ वर्षदेखि अरुको जिब्रो छेड्दै आएका छन् । बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ ।
बुद्धकृष्णका अनुसार जिब्रो छेड्न तयार हुनेले तीनदिन अघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नुहुन्न भन्ने भनाइ रहँदै आएको छ । जिब्रो छेड्दा थप पीडा नहोस् भनेर साता दिनअघि नै नून बार्नुपर्ने प्रचलन रहेको उनले बताए ।
त्यस्तै व्रत बस्दा जिब्रो छेड्दा शक्ति प्राप्त होस् भनी जिब्रो छेड्ने व्यक्तिले बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजा गर्ने चलन रहेको छ । स्थानीय पाँचो गणेश मन्दिरमा जिब्रो छेड्ने दिन नाइके प्रधान, कर्मी नाइके उपस्थित भइसकेपछि नाय्खीँ बाजासहित तीनपटकसम्म जिब्रो छेड्ने व्यक्तिको घरमा निमन्त्रणा लिएर जानुपर्छ । तेस्रोपटकमा मात्रै उक्त व्यक्ति जिब्रो छेड्दा प्रयोग गरिने परम्परागत पोशाक लगाएर गर्वका साथ पाँचो गणेश मन्दिर आइपुग्ने जात्राको विधान रहँदै आएको छ ।
जिब्रो छेड्ने तयारी भइरहँदा पाँचो गणेश मन्दिर परिसरमै जिब्रो छेड्ने व्यक्तिले बोक्ने अर्ध चन्द्रकारको मसाल जस्तै महादीप तयार गरिन्छ ।
बुद्धकृष्णका अनुसार नकर्मीले जिब्रो छेड्ने सुइरो महिना दिनअघि नै तयार गर्छन् । उक्त सुइरो तयार भएपछि तेलमा डुबाएर राख्ने उनी बताउँछन् ।
‘तेलमा डुबाएर राख्दा फलामको सुइरोमा खिया लाग्न पाउँदैन र जिब्रो छेड्दा हुने घाउमा संक्रमण हुँदैन भन्ने छ’, उनले भने ।
जिब्रो छेडिसकेपछि महादीप बोकेर जिब्रो छेड्ने व्यक्तिले करिब एक घन्टा समय लगाएर बोडे सहर परिक्रमा गर्छन् । जिब्रो छेड्ने व्यक्तिले चाहे उनी जहाँ पनि जान सकिने बताइन्छ । कुनै समय जिब्रो छेड्ने व्यक्ति काठमाडौंको पशुपतिसम्म हिँडेर पुगेको बताइन्छ ।
बोडेकै महालक्ष्मी मन्दिरमा उक्त परिक्रमा समापन गरिन्छ । जहाँ जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३÷४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ । जसअनुसार उक्त प्रचलनले अहिलेसम्म निरन्तरता पाउँदै आएको हो ।