मनाङमा ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो
लमजुङ : मनाङको नासो गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमा र १ जना पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए।
लमजुङ सदरमुकाम बेसीशहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा मनाङको नासो गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो। मृतक लियोन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्।
दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनाको ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको र गएराती उपचारको क्रममा नासो गाउँपालिका १ तालका ३ वर्षका थियोन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका ३ का २४ वर्षीय सुमन तामाङ, अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ।
प्रहरीका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ब्याक हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीको किनारमा खसेका थियो। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।