चार दर्जनलाई अवार्ड
काठमाडौं : अञ्जु पन्त (मैले रुँदा) र सम्राट चौलागाईं (पानी छर्किने) लाई सर्वोत्कृष्ट गायिका र गायकको उपाधि प्रदान गर्दै नेसनल इन्टरटेनमेन्ट अवार्ड–२०२१ सम्पन्न भएको छ।
क्रिएटिभ इनसाइड मिडियाको आयोजनामा भएको समारोहमा म्युजिक भिडियो निर्देशक (जुरी)को अवार्ड नबोली नबोली बोलको भिडियोका लागि विधान कार्कीलाई प्रदान गरियो। यसैगरी सर्वोत्कृष्ट ब्युटी पेजेन्ट मोडल अफ दी इयर छिरिङ डोल्मा शेर्पा, सर्वोत्कृष्ट योङ इन्टरपेनर अवार्ड बालकृष्ण पोखरेल, सर्वोत्कृष्ट पेजेन्ट डाइरेक्टर निशुकान्त झा तथा पेजेन्ट तथा फेसन कोरियोग्राफर अवार्ड अश्विनीकान्त झाले प्राप्त गरे।
अवार्ड समारोहमा चलचित्र, संगीत, फेसन, पर्यटन एवं संस्कृति, सौन्दर्यकलाजस्ता विधामा अवार्ड प्रदान गरिएको थियो। वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई संगीत साधक सम्मानबाट सम्मानित गरियो। नेपाली संगीत क्षेत्रमा साढे चार दशकभन्दा लामो समयदेखि योगदानको भन्दै बास्कोटालाई क्रिएटिभ इनसाइट मिडियाले सम्मानित गरेको आयोजक सूर्य चन्दले बताए।
बाँस्कोटालाई समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका निवर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, आयोजक सूर्य चन्द, अभिनेत्री निर्देशक दीपाश्री निरौलासहित अतिथिले सम्मानित गरेका थिए।
समारोहमा फेसनतर्फ सर्वोत्कृष्ट फेसन मोडल पुरुषको अवार्ड रणधीर शाहले, महिलाको अवार्ड दुर्गा बिसुरालले, पपुलर फेसन मोडलको अवार्ड शिलास्मा हमालले, फेसन डिजाइनरको अवार्ड इन्ता श्रेष्ठले, फेसन डिजाइनर पपुलर अवार्ड काजल शर्माले, एकेडेमीको अवार्ड नाजिर हुसेनले प्राप्त गरे।