संसारका चार अचम्म !

संसारका चार अचम्म !

कलियुगको पूर्वसन्ध्या ! अनौठा दृश्य देखिँदै थिए। द्वापर युगका नायक श्रीकृष्णले एकपटक युधिष्ठिरलगायत अन्य चार भाइलाई बोलाएर एकै ठाउँमा राखी भन्न लागे, ‘बाबु युधिष्ठिर, तिमी सत्यका प्रतीक हौ। धर्मको अर्को रूप हो यो तिम्रो ! संसारमा तिमीले केही अचम्मका कुराको खोज, अनुसन्धान गर्नुपर्छ।’ अर्का भाइ भीमसेनलाई भन्नुभयो, ‘बाबु तिमी वीर छौ। तिमीले पनि केही कुराको नयाँ अवलोकन गर्नुपर्छ।’ अर्जुनलाई भन्नुभयो, ‘बाबु तिमी इन्द्रका प्रतीक हौ। तिमीले पनि आश्चर्यका केही विषयको खोज गर्नुपर्छ।’ नकुल र सहदेव उस्तैउस्तै सादासीधा उनीहरूलाई भनियो, ‘बाबुहरू तिमीहरूले संसारका केही अचम्मका कुरा खोजेर ल्याऊ।’

आदेशपालक तिनीहरू चार समूह मिलाएर पृथ्वीको चारै दिशातिर हिँडे। सबैका हातमा एकएक डायरी थियो। पूर्व दिशाको नेतृत्व युधिष्ठिरले गरे। घुम्दै जाँदा बाटामा एउटा अचम्मको दृश्य देखे। एउटा यामानको हात्ती रहेछ। दुईतिर सूँढ भएको र दुवै सूँढले वरिपरिका सबै सामान भस्मासुर शैलीमा निल्दै रहेछ। दुवैतिरबाट खाना खाने क्या अचम्मको, कहीं नदेखिएको दृश्य भन्दै उनले डायरीमा नोट गरे। दक्षिणको नेतृत्व भीमसेनले गर्दै थिए। उनले आफ्नो भ्रमणमा सर्वथा अनौठो दृश्य देखे। एउटा ब्याएको गाई रहेछ। भर्खरै जन्मेको बाच्छोले माउको दूध चुस्तै रहेछ। माया गरेर माउले आफ्नो बाच्छोलाई आफ्नै खस्रो जिब्रोले बेस्सरी चाट्दै गर्दो रहेछ। चाट्दाचाट्दै कोमल अंगबाट रगत बग्दै गरेको दृश्य देखी अचम्मित भएर आफ्नो डायरीमा नोट गर्दै फर्किएछन् उनी !

पश्चिम दिशाको नेतृत्व गर्ने अर्जुनले बाटामा अचम्मको दृश्य देखेछन् एउटा चरो। चराका दुवै प्वाँखका बाहिरभित्र साधु, सन्त र ज्ञान अनि विज्ञानको ट्रेडमार्क रहेछ। तर चुच्चो भने रक्ताम्य। उनलाई अचम्म लागेछ। यस्तो ट्रेडमार्क भएको अनि साधुको चिह्न भएकाको पनि हिंसाले मुख रातै भएको अचम्म लागेर डायरीमा नोट गर्दै फर्किएछन् उनी ! चौथो समूह उत्तरतिर जाँदै गर्दा नकुल र सहदेवले देखेछन् अनौठो दृश्य ! लस्करै सातवटा पोखरी रहेछ। ६ वटामा पानी टलपलटलपल तर जोडिएको अन्तिम पोखरीको भुइँमा कमिला हिँडेको, चुहिएको, पानी रसाएको, कतै भुइँ भिजेको पनि छैन। कस्तो अचम्मको दृश्य ! यसको उत्तर र जिज्ञासा समाधानका लागि हामी श्रीकृष्णसामु नै जानुपर्छ भन्दै सबै समूह भेला भई अघि आदेश दिने कृष्णसामु नै पुगेछन् सबैजना। एक किसिमको गोष्ठीको आयोजना नै भएछ।

गरिबको नाम भजाइन्छ। दृश्य देखाइन्छ। दाताहरूले गरिबका नाममा पैसा, सामान छुट्ट्याउँछन् पनि तर गरिबतिर चुहिँदैन, अर्कैले भुँडी भर्छ।
 

सबैले आपूmले देखेका दृश्यको प्रस्तुति गरे। एकसाथ निचोड निकाल्दै श्रीकृष्णले भने, हेर कलिमा यस्तै हुन्छ। अनौठो मान्नु हुन्न। तिमीले देखेको हात्ती कलिको राजा, महाराजा, भनौं नेताहरू हो प्रतीक हो यिनीहरू दुवै हातले खान्छन्। आसुरी शैली हो यो ! अरूलाई दिन जान्दैनन्। आफू र आफन्तलाई भाग छुट्याउँछन्। स्वदेश, विदेश सबैतिर अनेकौं बहाना बनाउँछन् र आफैं उग्राउँछन्। सकेसम्म अरूको भाग पनि खोस्छन्। अब धर्म लँगडो भएको छ। द्वापरको अन्त्यपछि लगत्तै कलिको आरम्भ हुन्छ। यसको उमेर चार लाख बत्तीस हजार वर्षको हुन्छ। (यो आलेख तयार गर्दा पाँच हजार एक सय बाईस वर्ष बितेको छ) यसको अन्त्यतिर महाकलि आउँछ, त्यतिबेला झन् हाहाकार हुन्छ। सक्नेले अगाडि, पछाडि, तल, माथि सबैतिरबाट खान्छन्। मुखैमुख हुन्छ। जति खाए पनि राजनीतिकर्मीहरू अघाउँदैनन्। जनता सुकेनाशमा हुन्छन्। नेता मोटाएर फुल्छन्। तैपनि उनीहरू अघाएको भानै हुँदैन। अनेक बहाना गर्दै सत्ताकै लुछाचुँडीमा हुन्छन्। यसलाई अनौठो मान्ने होइन, सहज मान्नुपर्छ।

श्रीकृष्ण रक्ताम्ये चराको चुच्चोबारे स्पष्ट्याउँदै भन्छन्। हेर ! कलिमा देखाउने ढोंगीहरू धेरै हुन्छन्। सिद्धान्त एकातिर हुन्छ, व्यवहार अर्कातिर ! उनीहरूको ट्रेडमार्क ज्ञान र विज्ञानको हुन्छ, भाषणमा आकाश–पातालका कुरा गर्छन्। नेता, व्यापारी, कर्मचारी, साधु, सन्त, महात्मा, सबैले मीठो कुरा गर्छन्। वेदान्ती प्रवचन पनि गर्छन्। मुखमा राम, राम अनि बगलीमा छुरा हुन्छ। पेटमा हलाहल विष लिएर मुखले अमृत पान गरेको देखाउँछन्। मौका खोज्छन्। गौंडा कुर्छन्। कानुन र नियम देखाइदिन्छन्। इमानदारी, नैतिकता र सच्चरित्रताको वकालत गर्छन्। अनि मौका मिल्नासाथ हत्या, हिंसा, बलात्कार, चोरी, केके हो केके, भएभरको भ्याइदिन्छन्। कानुनको नौ सिङ हुन्छ। पीडक उम्किन्छ, पीडित पिल्सिन्छ। चराको पखेटा झैं वकिल, डाक्टर, आफ्नैले, अग्रजले कैंची काटिदिन्छ। धेरै उदाहरण परेन। एउटा सुन व्यापारीले आफ्नै छोरीको सुन गालेर गहना बनाउँदा जर्ती काटिदिन्छ। यो त नियमले पाएको कुरा भयो। नियमले नदिएको कुरा लुकिछिपी वा झुक्याएर अनेकौं नाटक रच्दै दुनो सोझ्याउने काम हुन्छ। राजनीतिकर्मीहरूले अरू ललीपप देखाएर जनतालाई अर्को भड्खालोमा हालिदिन्छन्। आपूmलाई कम्फर्ट भएन भने अनेकौं तिकडम रचाएर दिनदहाडै अँध्यारो पारिदिन्छन्। मतदाता अवाक् बन्न पुग्छन्। माखे सांग्लो देखेर, समय नआउँदै चुनवतिर पनि धकेलिन बाध्य हुन्छन्।

माउले बाच्छो चाट्दै गर्दा बाच्छो रक्ताम्ये भएको दृश्यको विश्लेषण गर्दै निस्कर्ष निकालिन्छ। माउ गाई कलिको अभिभावक हो। बच्चाको मनमस्तिष्क कोमल हँुदै, राम्ररी हुर्कन नपाउँदै, पुस्तकका भारी बोकाइन्छन्, होमवर्कका ठेली थोपरिन्छन्, हिँड्न नजान्दै बोर्डिङका बसहरू चढाउन सडकमा उतारिन्छ। आमाको मायाबाट टाढा राखी धाई आमा, बट्टाको दूध, बजारको बट्टा बन्दी खाजा, खाना, होस्टेलको दौड, प्लस टु गर्न नपाउँदै भिसा र पासपोर्टको चक्कर, स्वदेशी भाषा होइन, विदेशी भाषा, भेष, लबाइ, रहनसहन, नानाथरीका उर्दी जारी हँुदा बालकको कोमल मनमष्तिस्क भत्कन बेर लाउँदैन।  

धेरैले प्रजातन्त्र भन्छन्, लोकतन्त्र, गणतन्त्र, मताधिकार, मतपत्र, जनतन्त्र, जनगणतन्त्र, आपैmंमा सम्प्रभुता, दैलोको सरकार, सुशासन, पारदर्शिता अनेकौं शब्दावली प्रयोग गरिन्छ। सरकारमा आउनजान बाकस थापिन्छ। टेन्डर हुन्छ। लिलाम हुन्छ। मतपत्र गन्दा अटोमेटिक बत्ती नै निभ्छ। च्यातिएको मतपत्रले जहाज चढ्छ। अदालतमा घुमफिर गर्छ। चाहेको व्यक्ति ल्याउन सिद्धान्त हेरिन्न। ठाउँ खाली गराइन्छ। कमजोर उम्मेदवार उठाइन्छ। तालमेल गराइन्छ। प्रचार गर्न नपाइने मौन समयमा भित्रभित्रै दलहरूले अर्कै उम्मेदवारतिर मत खसाल्न निर्देशन दिन्छन्। बेलुकी एउटा निर्णय हुन्छ र बिहान परिणाम अर्कै आउँछ। जिताउनुपर्ने उम्मेदवार मतगणनामा अलितल परेको देखियो भने मतगणना स्थगित हुन्छ। कुनै थप सम्झौता भएपछि पुनः सुरु हुन्छ।

देशको मूल कानुन र संविधान बनाउन ठूलो समूह गठन हुन्छ तर तयारी संविधान आउँछ। सबै दर्शक बन्छन्। तररर ताली बजाई भत्ता सिनित्त पार्छन्। जोडघटाउ र लेनदेनका कुरा गोप्य ढंगले गरिन्छ। यो मैले गरेको हो भन्छन् नेताहरू। गर्ने–गराउने अर्कै हुन्छ। सरकारमा आउन निम्तोे दिइन्छ, किस्ती सजाइन्छ। अनि कसैले मेरो अपराधीको मुद्दा फिर्ता गर अनि आउँछु भन्छन्। अर्कालाई भन्यो भने त्यही भन्छ मेरो अपराधी जेलमा छ,स उसलाई छुटाइदिने हो भने आउँछु भन्छ। नआउँदै यस्तो शर्त राख्नेबाट सरकारमा आएपछिको आफ्नै हातमा डाडुपन्युँ हुँदाको अपेक्षा र अवस्था के हुन्छ। सत्ता समीकरणको नाम दिइन्छ यसलाई ! जोकोहीले पनि बुझ्ने कुरा हो यो ! गरिबको नाम भजाइन्छ। दृश्य देखाइन्छ। दाताहरूले गरिबका नाममा पैसा, सामान छुट्ट्याउँछन् पनि तर गरिबतिर चुहिँदैन, अर्कैले भुँडी भर्छ।

अल्पविकसितहरू उठ्न खोज्छन् तर उठिहाले भने नेताहरूको दुनो साँघुरो हुने डरले उठ्न दिँदैनन्। गरिब झन् गरिब हँुदै जान्छ र धनी झन् धनी हुन्छ। विकासमा ट्रिक्कल डाउनको कुरा गरिन्छ तर ट्रिक्कल डाउन हुन्न। नजिकका छिमेकी देशले संसारको विकासको रस लिइसक्छन्, आर्थिक वृद्धि दर मनग्ये गर्छन्। बीचमा परेकाहरू सपनीको आकाशमा रमाउँछन्। नेताहरूले चटकी शैलीमा रूपान्तरण गर्ने भन्दै भाषणबाजी गर्छन्। भाषण गरेका ठाउँमा जनताको ओइरो पनि लाग्छ। तर किन र केका लागि त्यहाँ गएको सुइँकोसम्म तिनीहरूले पाएकै हुन्न। पछिल्लो पोखरीमा पानीको थोपो पनि नहुनुको रहस्य यही हो भन्दै कार्यशाला भनौं गोष्ठीको समापन स्वयं श्रीकृष्णले गरेको कलिको संकेत र प्रसँग हो यो, जुन हिजोआज छर्लंग देखिँदै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.