एकै थलोमा ११ चित्रकार

एकै थलोमा ११ चित्रकार

काठमाडौं : आर्ट ग्यालरीभित्र पस्दा–पस्दै भित्ताभरि रंगीविरंगी चित्र देख्न सकिन्छ। छेउको कुनामा अरुणा लामा, तारादेवी, न्यू बज्राचार्य, नारायण गोपाललगायत केही लिजेन्ड कलाकारका पोटे«ट हाँसिरहेका छन्। पेन्सिलले ड्रइङ गरेका यी पोटे«ट फोटोजस्तै दुरुस्तै छन्। यी पोट्रेट न्हुजा रोयले बनाएका हुन्। 

दायाँतर्फको भित्तामा हिमालतिर फर्किएका हिँडिरहेका बुद्ध देखिन्छन्। नयना शाक्यले फाइडिन्ङ बुद्ध इन यु शीर्षकको चित्र सिरिजमा बुद्धका यी अनेक पोस्टर बनाएकी हुन्। यस्तै रस्ना श्रेष्ठले कमलको फूल सिरिजमा चित्र उतारेकी छन् त कसैले गुलावको फूललाई निकै फरक र आकर्षक तवरले दृश्य दिएका छन्।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ११ चित्रकारको संयुक्त चित्र प्रदर्शनी ‘आर्टिस्ट इलेभेन’ शनिबार सुरु भएको छ। आर्ट स्पेस अफ नेपालको आयोजनामा सुरु भएको चित्र प्रदर्शनीमा विभिन्न पेसा व्यवसाय अपनाउँदै चित्र सिर्जना गरिरहेका चित्रकारको समूह समावेश छ। केही चित्रकार फाइन आर्ट अध्ययन गरेकै छन् भने धेरैजसोले फरक पेसा अपनाएका तर चित्र बनाउने रहर र क्षमता भएका नयाँ चित्रकार समावेश छन्। चित्रकार रीता मानन्धर र चन्दा श्रेष्ठको पेन्टिङ भने अतिथि कलाकारका रूपमा समावेश छ।

ग्यालरीको अर्को कोठामा महिलाका विभिन्न भावभंगीका चित्र लस्करै झुन्ड्याइएको छ। कलात्मक र सुन्दर देखिने यी चित्र शैली राना विष्टले बनाएकी हुन्। पेसाले फेसन डिजाइनर शैली सानैदेखि चित्र बनाउन मन गर्थिन्। पहिलो पटक एकल चित्र प्रदर्शनी गरिरहेकी शैली निकै खुसी र हर्षित देखिन्थिन्। उनका चित्रमा कतै मायालु जोडीको सामीप्य झल्कन्थ्यो त कतै बिहान उठेर योगआसनमा बसिरहेकी महिला। अर्को चित्रले फूलका गहना लगाएर मुस्कुराइरहेकी युवतीको खुसी देखाउँथ्यो त कुनैमा कपाल कोर्दै मक्ख परिरहेकी युवती। प्रायः एक्रेलिक कलर र अयल कलरको प्रयोगमा रमाउने शैली महिलाको अनेक भावभंगीका चित्रमा आफूलाई खोज्छिन्।

सन्ध्याकालमा दियो जलाइरहेकी महिला अर्को चित्रमा अटाएकी छन्। यस्तै वर र पीपललाई प्रेमीप्रेमिकाका रूपमा बुझेर एउटै हाँगोमा समेटिदिएकी छन् उनले। महिला संवेदनालाई पनि उनले कलात्मक चित्रमार्फत सजाएकी छन्। उनको एकल चित्र प्रदर्शनीमा २५ वटा पेन्टिङ छन्। लामो समय फेसन डिजाइन पेसामा आबद्ध शैली चाहेर पनि सक्रिय चित्रकारितामा आउन सकिनन्। छोरा हुर्काइन्, परिवार सम्हालिन्। केही फुर्सद समयमा चित्र बनाउन सिक्न थालिन्। 

चित्रकार एरिना ताम्राकारसँग पेन्टिङ सिकिरहेकी उनी निकै लगनशील भएर पछिल्लो दुई वर्ष चित्रकारितामा सक्रिय छन्। यो बीचमा यी पेन्टिङ जम्मा भएका हुन्। भन्छिन्, ‘चित्र बनाएर माइन्डलाई आनन्द प्राप्त हुने रै’छ। आफैँलाई पोख्न पाउने गजवको कला रहेछ आर्ट। सदैव खुसी मात्र मिलिरहने। अरूलाई भन्दा आफ्नै अनुभव उतार्नु, मनलाई समेट्नु गजवको काम।’ 

यस्तै, ग्यालरीकै अर्को कोठामा विशाल महर्जनको एकल चित्र प्रदर्शनी समावेश छ। उनी पनि आर्टिस्ट इलेभेन सिरिजमै संलग्न भएका हुन्। विशालका चित्रमा भने विभिन्न विषय र शैली तथा प्रस्तुति भेट्न सकिन्छ। परम्परागत आर्ट मन पराउने विशालले मिक्स चित्र बनाएका छन्। अलि परको भित्तामा झुन्डिएको छ, महिलाको सानो बच्चा, आमा र हजुरआमाको क्लोज चित्र। 

जहाँ उन्मुक्त हाँसिरहेको अनुहार छ, सानी बालिकाको। छोरीहरू बच्चा हुँदा मात्रै यसरी हाँस्न पाउँछन् भनेर चित्रमा देखाएका छन्। उनीसँगैको आमाको हाँसो भने अलि सिरियस खालको छ। जीवनका जिम्मेवारीले वयस्क अवस्थामा महिलाहरू खुलेर हाँस्न पाउँदैनन् भन्ने उनको सोच छ। यस्तै, वृद्ध उमेरमा पुगेकी हजुरआमा मृत्युको डरले हाँस्नै सकिरहेकी छैनन्।

अर्को चित्रमा विशालले रातो र नीलो रंग पोतेर चरा बनाएका छन्। सम्बन्धमा मिठास ल्याउन एउटा रातो रंग जस्तै कडा भए अर्को नीलो रंग जस्तै शान्त हुनुपर्छ भन्ने भाव व्यक्त गरेका छन्। यसका अलावा उनले स्वर्गका अप्सारा, बुद्धको परम्परागत कथा देखिने चित्र, लाखे नाच्दा लगाउने मकुण्डो, क्रषिमुनीकालीन चित्र पनि बनाएका छन्।

यस्तै, रस्ना श्रेष्ठले कमलको फूललाई चित्रमा देखाएकी छन्। न्यु लाइफ शीर्षकको चित्रमा उनले कमलको फूलको चरित्र उतार्ने कोसिस गरेकी छन्। उनी भन्छिन्, ‘मलाई कमलको फूल खुव मन पथ्र्यो। एक दिन इन्टरनेटमा सर्च गर्ने क्रममा कमलको फूलको अर्को विशेषता पनि थाहा पाएँ। हिलोमा फुलेर कति पनि दाग नलगाई फक्रनेरहेछ। राति पुनः हिलोमुनि नै जाँदो रहेछ। अर्को बिहान उस्तै दाग नलाई हिलोमाथि फुलिरहेको हुन्छ। दौडेर जहाँ जहाँ पुगे पनि, गए पनि आफ्नो धरातल बिर्सन हुन्न भन्ने शिक्षा पाएँ मैले कमलबाट।’ प्रदर्शनी एक सातासम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.