जागिर छाडेर सुन्तला खेती
उदयपुर : धेरै युवाको लक्ष्य सरकारी जागिर खाने नै हुन्छ। किनकि कृषि पेसामा मेहनत बढी छ, प्रतिफलको सुनिश्चित छैन। त्यहीकारण यो पेसा अक्सर कसैले सम्हाल्दैनन्। अधिकांशले विकल्प केही नभएपछि मात्र यो पेसा गर्छन्।
मासिकरूपमा आउने निश्चित भएपछि परिवारको पालनपोषण, शिक्षा, स्वास्थ्यका लागि व्यक्तिले भरपर्दो माध्यम जागिरलाई नै देख्ने गरेको छ। तर, यस्ता व्यक्ति पनि भेटिन्छन् जो सरकारी जागिर छोडेर कृषिमा केही गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका हुन्छन्। पाखुरी चलाउन जाँगर हुनेले विदेश गइराख्न पर्दैन भन्ने उखानलाई उनले चित्रण गरेका छन्। आप्mनै ठाउँमा परिवारजनसँग हाँसीखुसी बसेर राम्रो आयआर्जनका साथ जीविकोपार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरणका पात्र हुन् उदयपुरको ताप्ली गाउँपालिका— १ ओख्लेका तोपबहादुर ठकुरी।
लामो समय शिक्षण पेसामा रहेका उनी सरकारी जागिरबाट सन्तुष्ट नभएपछि कृषि क्रान्तिमा होमिएका हुन्। उनी व्यावसायिक सुन्तला खेतीका अगुवा कृषक हुन्। सुन्तला खेतीबाट उनी वार्षिक १५ लाखभन्दा बढी कमाउँछन्। ‘प्राथमिक तहको शिक्षकको जागिर खाएँ, चार महिनामा एक पटक तलब आउने, त्यतिन्जेलसम्म खाएको ऋण नि तिर्न नपुग्ने, त्यसैले जागिर छोडें, उनले भने, ‘जागिरमा सधंै तनाव, नियमन निकायदेखि लिएर अभिभावकको समेत त्रासमा बस्नुपर्ने, त्यसैले स्वतन्त्र पेसा कृषि समाते।
‘जागिर खाँदै सुन्तला खेती गर्दा पनि मनग्ये आम्दानी हात पर्न थालेपछि, जागिर छोडेर व्यावसायिक ढंगले कृषि पेसा सुरु गरेको हुन्,’ उनले भने, ‘जागिरभन्दा आम्दानी र स्वतन्त्रताको हिसाबले धेरै फरक रहेछ। झन्डै १६ वर्ष अध्यापन पेसाको अनुभव बटुलेका ठकुरी अहिले सुन्तलातर्फ जिल्लाकै उत्कृष्ट कृषकमा पर्दछन्। ‘शिक्षकको जागिरबाट वार्षिक रूपमा धेरै कमाए दुई लाखसम्म त हो नि,’ सुन्तलाबाट लिएको आम्दानीमा खुसी हुँदै उनले भने, ‘वार्षिक १ लाख ५० हजारसम्म लगानी गर्दछु, बर्सेनि १५ लाखभन्दा बढी आम्दानी लिन्छु।’ विद्यालय छेउमै घर भएका ठकुरीले आफूसँग भएको जम्मा १४ रोपनी जग्गा सुन्तला खेती गरेका छन्। २०७० सालबाट सुन्तलाबाट आम्दानी लिन थालेका ठकुरीले ३ सय ६२ बोटबाट बर्सेनि आम्दानी लिइरहेका छन। ठकुरीले १ सय ३० बोट नयाँ हुर्काइरहेको बताए। सुन्तला रोपेको तीन/चार वर्षमा फल दिने गर्दछ।
यसरी सुरु भयो खेती
शिक्षक जागिर खाँदै गाउँबाट सडक पुग्यो। सिद्धिचरण लोकमार्गको बेतेनी भन्ज्याङदेखि रूपाटार जोड्ने सडक निर्माण भएपछि उनले सुन्तला रोप्न थालेका हुन्। २०५८ सालमा आफन्तको घर जाँदा धनकुटा पुगेका उनी छिन्ताङ र उत्तरपानी गाविसमा सुन्तलाको बगान देखेर प्रभावित बनेको तोपबहादुर बताउँछन्।
त्यसपछि गाउँ फर्केलगत्तै बारीमा खाल्डो खन्ने, कृषि प्राविधिकहरूसँगको परामर्शमा जाने, सुन्तला खेतीसम्बन्धीको पुस्तक, पम्प्लेटहरू अध्ययन गरी सुरु गरेको बताए। २०६२ सालमा ९ रोपनी पाखोबारीमा जिल्ला कृषि विकास कार्यालय उदयपुरको सहयोगमा धनकुटाबाट ल्याएको तीन सय सुन्तलाको बिरुवा रोपेर सुन्तला खेती सुरु गरेका उनको पाखोबारी अहिले फलफूलको बगानले भरिएका छन्। सुरुसुरुमा सुन्तलाको बिरुवा रोप्दा धान, मकै, कोदो तथा भटमास फल्ने बारी सखाप पारेको गाउँलेले आरोप लगाउँथे। पछि सुन्तलाको विरुवा हुर्केर आम्दानी दिन थालेपछि गाउँलेहरू पनि सुन्तला खेतीमा आकर्षित भएको ठकुरीको भनाइ छ।