बेलैमा सजग बनौं
यतिबेला सिंगो मानव समुदाय अप्रत्यासित आइलागेको नयाँ समस्यासँग जुधिरहेको छ। कोभिड— १९ का रूपमा भित्रिएको यो समस्याले विश्वलाई पिरोलेको पनि एक वर्ष बितिसकेको छ। विश्वभरका वैज्ञानिक र स्वास्थ्यकर्मी सक्रिय हुँदाहुँदै पनि समस्या नियन्त्रणमा आउन सकिरहेको छैन। विश्वभर कोभिड— १९ का कारण मृत्यु हुनेको संख्या २७ लाख २७ हजार नाघिसकेको छ। हालसम्म १२ करोड ३८ लाखभन्दा बढी मानिस यो भाइरसको चपेटामा परिसकेका छन्। अहिले पनि विश्वभर सक्रिय संक्रमितको संख्या दुई करोड १३ लाखभन्दा बढी छ। नेपालमा यो भाइरसले तीन हजार १६ जनाको ज्यान लिइसकेको छ। दुई लाख ७५ हजारभन्दा बढी कोभिड— १९ बाट संक्रमित भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या ९ सय ६९ छ।
विश्वभरका हजारौं वैज्ञानिकको दिनरातको कठोर परिश्रमपछि कोभिड— १९ विरुद्ध केही खोप अस्तित्वमा आएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि केही खोपलाई स्वीकृति प्रदान गरिसकेको छ। विश्वका विभिन्न भूगोलमा बस्ने सात अर्ब ५० करोडभन्दा बढी मानव जातिका लागि यो खुसीको विषय हो। कोभिड— १९ को पहिलो संक्रमित फेला परेदेखि नै अन्योल र त्रासमा जीवन बिताउन बाध्य मानव समुदायलाई खोपले थोरै मात्र भए पनि राहत दिएको छ। यद्यपि, छोटो समयको परीक्षण र अनुसन्धानपछि ल्याइएका यस्ता खोपको प्रभावकारितालाई लिएर उठेका प्रश्न आफ्नो ठाउँमा यथावत् छन्। खोप बजारमा आए पनि अझै ढुक्क हुने अवस्था सृजना भइसकेको छैन। यो नयाँ भाइरसले मानव जीवनमा पुर्याउन सक्ने क्षतिको जोखिम कायमै छ। विभिन्न औषधि उत्पादक कम्पनीले निरन्तर उत्पादन गरिरहे पनि यी खोप सम्पूर्णको पहुँचमा पुग्न अझै लामो समय लाग्छ। विश्वका थुप्रै विपन्न राष्ट्रका सामान्य नागरिकका लागि त खोप अझै पनि ‘आकाशको फल’ झैं बनेको छ।
नेपाल सरकारले नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्दै बृहत् रूपमा खोप अभियान सुरु गरिसकेको छ। विकसित र शक्ति राष्ट्रकै हाराहारीमा सुरु गरिएको खोप अभियान प्रभावकारी पनि देखिएको छ। विभिन्न राष्ट्र र संस्थाबाट अनुदानमा प्राप्त खोपको मात्र भर नपरी सरकारले आफ्ना नागरिकका लागि ठूलो धनराशि खर्चिएर आफैं खोप खरिद गरेको छ। पहिलो चरणमा करिब १५ लाख नागरिकले खोप लगाइसकेका छन्। आगामी एक वर्षभित्र सम्पूर्ण नागरिकलाई खोपको दायरामा ल्याइसक्ने प्रतिबद्धतासमेत सरकारले व्यक्त गरिसकेको छ।
पछिल्लो समय विश्वभर पुनः कोभिड— १९ को अर्को लहर सुरु भएको छ। विश्वभरका वैज्ञानिक र चिकित्सकले कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी निकै अघि दिएका थिए। छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको देखिन्छ। भारतसँगको खुला नाकासँगै दैनिक हजारौंको संख्यामा सीमाबाट हुने आवतजावतका कारण हाम्रा लागि पनि अवस्था झनै भयावह हुने सम्भावना देखिन्छ। यसतर्फ बेलैमा सचेत हुन सकेनौं भने त्यसले पुर्याउने क्षति अकल्पनीय हुन सक्छ।
कोभिड— १९ विरुद्ध लडाइँ पनि सरकार एक्लैको प्रयासबाट सम्भव छैन। यसका लागि हरेक नागरिकले आआफ्नो स्थानबाट सहयोग पुर्याउनुपर्छ। ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बेस’ भने झैं सरकारले पनि कोरोनाको दोस्रो लहरले आक्रमण गर्नुअगावै सीमानाका र विमानस्थलजस्ता संवेदनशील स्थानमा कोरोना परीक्षणको उपयुक्त व्यवस्था मिलाउने, सकेसम्म अन्य देशबाट आउने व्यक्तिलाई कोभिड— १९ विरुद्घको खोप लगाएरै आउन प्रोत्साहन गर्नेजस्ता प्रयास यथाशीघ्र चाल्न आवश्यक देखिन्छ।