मेला, जात्रा, नगर्न अनुरोध : बिस्का जात्रामा विकल्प खोजिने

मेला, जात्रा, नगर्न अनुरोध : बिस्का जात्रामा विकल्प खोजिने

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस (कोभिड १९)  संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यहरु नगर्न र नगराउन अनुरोध गरेको छ ।

कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै जिल्लाका कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायत नगर्न अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको पत्रानुसार जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय लिइएको जानकारी दिए ।

भक्तपुरमा नजिकिँदै गरेको बिस्का जात्रामा भने बैकल्पिक उपाय खोजिने उनको भनाइ थियो ।

‘तत्काल बिस्का जात्रा रोक्ने भनेर निर्णय लिएका छैनौं’, प्रजिअ भट्टराईले भने, ‘बिस्का जात्रा सञ्चालन गर्न बिकल्प खोज्छौं ।’

उनले सीमित जात्रालुहरुको उपस्थितिमा बिस्का जात्रा सञ्चालन गर्नेतर्फ विचार गरिने स्पष्ट पारे ।

गत वर्ष पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भनेर भक्तपुरको बिस्का जात्रा रोकिएको थियो । जसअनुसार गत वर्ष बिस्का जात्रा औपचारिकतामा सीमित गरिएको थियो ।

बिस्का जात्राको लागि अहिले भक्तपुरमा भैरवनाथको रथ बनाउने कार्य भइरहेको छ । लिंगोको लागि आवश्यक काठको जोहो गरिसकिएको छ ।
बिस्काजात्राअन्तर्गत नै मध्यपुर थिमि नपा ८ बोडेमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा तथा सिन्दूर जात्रा सञ्चालन हुँदै आएको छ । जुन गत वर्ष रोकिएको थियो ।

यस वर्ष जिब्रो छेड्ने जात्रा अवलोकनको लागि सरकार प्रमुख वा राष्ट्र प्रमुखलाई ल्याउन पहल गरिएको छ । मध्यपुर थिमि नपाको तर्फबाट गरिएको उक्त पहल अब रोकिने सम्भावना बढेको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले भक्तपुरको बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्न र लिंगो उठाउन सीमित जात्रालुको सहभागितामा प्रविधि प्रयोग हुनसक्नेसमेत संकेत गरे ।

लिंगोजात्राको लागि आवश्यक लिंगो काठ ल्याउँदा डोजर प्रयोग गरिएको औंल्याउँदै उनले भने, ‘लिंगो परम्परागत रुपमा नल्याई डोजर प्रयोग गरेर ल्याइएको छ । अब भैरवनाथको रथ र लिंगो तान्ने कार्यमा पनि केही बैकल्पिक उपाय प्रस्ट रुपमा भन्दा मेसिन नै प्रयोग गर्ने हो ।’

तैपनि यस विषयमा बिस्का जात्राका सरोकारवालाहरुसँग छलफल गरेर निक्र्योल गरिने उनले स्पष्ट पारे ।

प्रजिअ भट्टराईले कोरोना भाइरसका कारण मान्छे नै रहने कि नरहने भन्ने अवस्थामा बिस्का जात्राका बारेमा पनि उपाय गरेर जात्रापर्व पनि समाप्त नहुने गरी बैकल्पिक उपाय अपनाइने सुनाए ।

प्रशासनले कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा ल्याइएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई पुनः तयारी अवस्था राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ । उसले स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

प्रशासनले कोभिड १९ को जोखिमबाट बच्न सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षालगायतका मापदण्ड पालना गर्नसमेत जिल्लावासीलाई आग्रह गरेको छ । उक्त मापदण्ड उल्लंघन गर्नेहरुलाई संक्रामक रोग २०२० बमोजिम कारबाही गर्ने बताएको छ ।

प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी मनाउन भनेको छ । सरकारी तथा अन्य सेवाप्रदायकहरुबाट सेवा प्रवाह गर्दा कोभिड १९ को मापदण्ड पालना गरेरमात्र सेवा प्रदान गर्न उसले जोड दिएको छ ।

पत्रकार सम्मेलनमा वितरित जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्णय । तस्बिर : ईश्वरकाजी खाइजू
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.