पाँचथरबाट अख्तियारमा ३८ उजूरी
फिदिम : यो आर्थिक वर्षमा पाँचथरबाट ३८ ओटा उजूरी अख्तियारमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीले फिदिममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो ।
अख्तियारका इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाले प्रस्तुत गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै संघीय मामिलासम्बन्धी उजूरी परेका हुन् ।
संघीय मामिलासम्बन्धी १५, शिक्षासम्बन्धी आठ, खानेपानीसम्बन्धी तीन मुद्दा परेका हुन् । कृषि तथा पशुपंक्षी, सहकारी र भौतिकमा दुई-दुई ओटाका दरले उजूरी परेका छन् । उद्योग, ऊर्जा, वन, भूमिसुधार, सिचाई, र स्वास्थ्यमा एक/एक ओटा मुद्दा परेको खतिवडाले बताए ।
अख्तियारका आयुक्त किशोरकुमार सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा पाँचथरका कार्यालय प्रमुख र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
‘अख्तियारको कार्यक्षेत्रभन्दा बाहिरका विषयमा धेरै उजूरी आउने गरेका छन्,’ अन्तरक्रियाको क्रममा खतिवडाले भने, ‘अधिकारक्षेत्र भन्दा बाहिरको बिषयमा हामीले काम गर्न सक्दैनौँ ।’