कोरोना कहरमा वैदेशिक रोजगार
मुलुकको अर्थतन्त्र अहिलेको अवस्थासम्म ल्याउन वैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिट्यान्सको ठूलो महत्व छ। यति मात्रै होइन, स्वदेशमा रोजगार सिर्जना हुन नसकेर बेरोजगार समस्या उत्कर्षमा पुग्दै गर्दा युवालाई खपत गर्ने राम्रो गन्तव्यका रूपमा यो क्षेत्र स्थापित भइसकेको छ। त्यसैले यो क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वासिलो बनाउनु अहिलेको आवश्यकता हो। तर कोभिड– १९ का कारण सिर्जित समस्याले स्वदेशभित्र अझै पनि लाखौं युवा सुरक्षित भविष्यको पर्खाइमा बस्नुपरेको छ। विश्वव्यापी रूपमा फैलिएको यो महामारीले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुकमा कामदार जान पाएका छैनन्।
विगतमा अवस्था सामान्य हुँदा दैनिक एक हजार पाँच सयजनासम्म युवा रोजगारका लागि बिदेसिने गरेका थिए। तर अहिले यो संख्या घटेर पाँच सयमा खुम्चिएको छ। जुन दुःखलाग्दो अवस्था हो। स्वदेशमा कोरोनाको कहर मत्थर भए पनि गन्तव्य मुलुकमा उस्तै रहेकाले यो समस्या आएको हो। समस्या फेरि बल्झिन क्रममा रहेकाले अवस्था सहन हुन अझै समय लाग्ने देखिन्छ। अवस्था सामान्य होला र गन्तव्य मुलुकमा जाऔंला भनेर पर्खने हो भने अझै कति दिन लाग्छ भन्ने यकिन गर्न सकिँदैन। तसर्थ कूटनीतिक पहलमार्फत सुरक्षित तरिकाबाट रोजगारमा आउने जानेतर्फ लाग्नुपर्छ। यसका लागि पहिलो पहल सरकारी स्तरबाटै हुनुपर्छ। नेपाली युवाका लागि आकर्षक रोजगारको गन्तव्य रहेको मुलुकमा कूटनीतिक पहल गरिनुपर्छ। कोभिडले कतार, साउदी अरब, दुबई, ओमान मलेसिया तथा युरेपियन मुलुक प्रभावित भएका छन्। जापान, इजरायल र दक्षिण कोरिया पनि प्रभावित भएका छन्। इजरायल पठाउने कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको छ। कतिपय देशमा दूतावासले प्रमाणीकरणमा ढिलासुस्ती गरेका कारण कामदार रोजगारमा जान पाएका छैनन्। यो समस्या समाधानतर्फ लाग्नुपर्छ।
जापान पठाउने कार्यविधि पनि पूरा हुन नसक्दा रोजगार प्रभावित भएको छ। दक्षिण कोरियाले कामदार लिन नमान्दा प्रतीक्षामा बसेका कामदार हैरानी भएका छन्। साउदीमा दूतावासले मागपत्र प्रमाणीकरण गर्न ढिलाइ गरेका कारण कामदार प्रभावित भएका छन्। कतारमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने र त्यसको खर्च कामदार आफैंले तिर्नुपर्ने भएपछि कतार रोजगार प्रभावित भएको छ। मलेसिया सुरुदेखि नै बन्द छ। दुबई, कुबेत र बहराइन पूर्णरूपमा ठप्प छ। कुबेतमा अझै लकडाउन कायम छ। मौरिससमा पनि कामदार जान पाएका छैनन्। यी सबै समस्याका कारण सम्बन्धित मुलुकबाट डिमान्डसमेत आउन सकेको छैन। विश्वलाई नै एकसाथ पिरोलेका कारण मानवले चाहना गर्दैमा यसलाई परास्त गर्न त सकिँदैन; तर रोजगार क्षेत्रलाई कसरी सुरक्षित पार्ने भन्नेतर्फ पहल गर्न पनि छाड्नुहुन्न। सरकारले नागरिकलाई रोजगारको दृष्टिकोणबाट मात्रै होइन; मुलुकको अर्थतन्त्रको बलियो खम्बा मानेर यो क्षेत्रको गुणात्मक विकासमा जोड दिनुपर्छ।
विश्व स्वास्थ्य संगठन र सम्बन्धित मुलुकले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर भए पनि यो क्षेत्रलाई पुरानै लयमा ल्याउनेतर्फ ध्यान दिनुपर्छ। कामदारले पनि आफ्नो सुरक्षा आफैं गर्नुपर्छ भन्नेतर्फ ध्यान दिनुपर्छ र रोजगारलाई सुरक्षित बनाउनेतर्फ लाग्नुपर्छ। रोजगार सहजीकरणका लागि विभागीय मन्त्री, सचिव, कूटनीतिक नियोगका अधिकारी र नेपालस्थित सम्बन्धित मुलुकका दूतावासका अधिकारीबीच कूटनीतिक पहल गर्नुपर्छ।