सरोवर संस्कृति
नेपाल हिमालयको काखमा पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। विशाल हिमशृंखलाका गर्भबाट विभिन्न नदीका स्रोतहरू पैदा भएका छन्। तिनको उत्पत्ति विशेष महापुरुष, ऋषि, साक्षात् देवीदेवता, भगवान् शंकर, हिमालयकी नन्दिनी पार्वती आदि एक से एक तपस्वीहरूले गरेको तपस्याबाट भएको पाइन्छ। उहाँहरूलाई आधार बनाएर कयौं नदीहरू नेपालमा हिमालयबाट प्रकट भएर बगेका छन्।
नेपालका केही विशिष्ट नदीहरूको उत्पत्ति, महिमा, मर्म र महत्त्वबारे नेपालका जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :
वृन्दावन बस्दा सधैं गंगामा स्नान गर्ने र सर्वलोकप्रिय मन्त्र ‘गंगे च यमुने चैव गोदावरी सिन्धु कावेरी सरस्वती नर्वदे...’ उच्चारण गर्र्दै स्नान गर्थें। त्यही मन्त्रमा बानी परेको म चतराको कौशिकीमा मन्त्रोच्चारण गर्दै स्नान गरिरहँदा अचानक फरक भावना मनमा आयो। नेपालमा भएको कुनै नदीको नाम किन यो मन्त्रमा आएन ? म स्नान गर्ने कौशिकी गंगामा तर नाम जप्दै छु पल्ला गाउँको। एकाएक आत्मग्लानि भयो र त्यति बेलै नदी किनारमै बसेर ‘गण्डकी कौशिकी चैव गोदावरी च वाग्मती बेत्रा नारायणी शुक्ला जलेस्मिन सम्मिधिं गुरु। महाकालीं तथा सेतीं भेरीं कर्णाली मेवच प्रातकाले स्मरण नित्यमं महापापक नाशनमं। सेती भेरी महाकाली गण्डकी कौशिकी अनि पार्छिन् शुद्ध कर्णाली जति पाप भए पनि’ मन्त्र रचना गरें। यसरी नेपालकै नदीको जप गर्नुपर्छ भनेर स्तुति लेख्ने प्रयत्न गरें।
नदीका विषयमा माहात्म्य लेख्छु भनेर अध्ययन गर्दा श्रीमद्भागवत महापुराणमा कोसी अर्थात् कौशिकीका विषयमा यस्ता कयौं श्लोक भेटिए। स्कन्द महापुराण, शिव पुराण, लिंग पुराण, महाभारत, वाल्मीकि रामायणको बालकाण्डमा कोसी (सप्तकौशिकी) र नेपालमा रहेका विभिन्न नदीका विषयमा ठूलो महत्त्व रहेको चर्चा र श्लोक भेटें र सप्तकौशिकी गंगाको माहात्म्य लेखें। यसमा उक्त नदीबारे साह्रै ठूलो महिमा छ।
ब्रह्महत्या पखाल्ने कोसी नदी
कोसीमा स्नान, जप, यज्ञ गर्दा अक्षय पुण्य प्राप्ति हुन्छ भन्ने कुरा स्कन्द महापुराणमा वर्णन भएको छ। बलरामले नैनीसारण्यमा गएर सुतजीको वध गरेपछि त्यो ब्रह्महत्या पखाल्न पनि कोसीमा स्नान गरेर पिण्डेश्वरको दर्शन गर्नुभयो। यस्तै राजा परिक्षितले यही कौशिकीमा स्नान गर्नुभयो। विश्वामित्रले चौबीस पटक गायत्रीको पुरश्चरण यहीँ गर्नुभयो।
आफ्ना शिष्य राम र लक्ष्मणलाई कौशिकीकै तटमा ल्याउनुभयो। महर्षि दुर्वासाले कोसीकै तटमा तपस्या गर्नुभयो। साक्षात् भगवान् वराहले आएर कोसीको तटमा आफ्नो निवासस्थान वराहक्षेत्र बनाउनुभयो। औलिया महामुनि यहीँ आएर तपस्या गर्नुभयो। यसरी एक से एक तपस्वी ऋषिहरूले कोसीकै तटमा तपस्या गरेको कथन सर्वत्र पुराणहरूमा छ।
श्रीकृष्ण शालग्रामका रूपमा प्रकट हुँदा गण्डकी नदी
जब मैले कोसीको महिमा लेखें, गण्डकीको पनि महिमा लेख्ने इच्छा भयो र गण्डकीका बारेमा पनि अध्ययन गरें। वराह पुराणको १४४ अध्यायमा गण्डकी नदीको ठूलो महिमा बताइएको छ। महर्षि गण्डककी छोरी गण्डकीले हिमालय अर्थात् वर्तमानको दामोदर कुण्डको उत्तरतिर गौगिरि पर्वतको फेदमा १० हजार वर्ष तपस्या गर्नुभयो। गण्डकीको तपस्याबाट प्रसन्न भएर भगवान् श्रीकृष्ण प्रकट हुनुभयो र भन्नुभयो, म तिम्रो तपस्याबाट प्रसन्न भएँ इच्छित वर माग। गण्डकीले हजुर मेरो पुत्रका रूपमा जन्म लिनुहोस् भनिन्। श्रीकृष्णले तथास्तु भनेर वरदान दिनुभयो। त्यसपछि गण्डकी देवी गण्डकी नदीका रूपमा प्रकट भएर बग्न थालिन्। भगवान् श्रीकृष्ण गण्डकी पुत्र शालग्रामका रूपमा प्रकट हुनुभयो। भगवान् श्रीकृष्णको वरदानद्वारा प्रकट भएकी हुनाले गण्डकी कृष्णगण्डकी नामले प्रसिद्ध भइन्। श्रीमद्भागवत महापुराणको पञ्चम स्कन्दमा नदीहरूमा श्रेष्ठ नदी कुनै छन् भने त्यो गण्डकी हो भनेर व्याख्या गरिएको छ।
गण्डकी नदीको महिमा श्रीमद्भागवत महापुराण, पद्म महापुराण र वराह महापुराण आदिमा व्यापक वर्णन गरिएको छ। १८ वटै पुराणमा गण्डकीको महिमा कहीँ न कहीँ उजागर गरिएको प्रसंग र स्कन्द महापुराणमा मुक्तिनाथको किनारमा गण्डकी नदीको चर्चा आउँछ। कृष्ण गण्डकीलाई कालीगण्डकी नामले प्रसिद्धि प्राप्त भयो। यहाँ भगवान् विष्णु आएर तपस्या गर्नुभयो। लोकका लागि भगवान् मुक्तिनाथका रूपमा विराजमान भएर रहनुभयो।
मानसरोवरको पानी अलि पर्वत हुँदै बग्दा कर्णाली नदी
स्कन्द महापुराणको मानस खण्डमा ‘नरो भवती देवता’ भनेर उल्लेख गरिएको छ। मानवमा देवत्व प्राप्ति हुने हुँदा कर्णालीमा स्नान गर्नु उत्तम हुन्छ। कर्णालीमा गएर जसले स्नान गरी पितृश्राद्ध, तर्पण, दान, धर्म, सत्कर्म गर्छ उसलाई अनन्त पुण्य प्राप्त हुने उल्लेख गरिएको छ। सूर्यपुत्र कर्णले हुम्ला जिल्लाको उत्तरपट्टि मानसरोवरनजिकै अलि नामको पहाडमा गएर तपस्या गरे। भगवान् सूर्य प्रसन्न भएर ‘हे पुत्र ! तिम्रो तपस्याबाट म प्रसन्न भएँ वरदान माग’ भन्नुभयो। कर्णले सूर्यलाई नमस्कार गरी ‘हे पिता ! हजुर प्रसन्न हुनुहुन्छ भने मानसरोवरको जल यो अलि पर्वतमा ल्याइदिनुहोस्’ भने। सूर्य भगवान्ले आफ्नो चक्र छोड्नुभयो, चक्र पर्वतहरू छेड्दै छेड्दै गएर मानसरोवरमा पुग्यो। त्यही चक्रले फोडेको पहाडबाट बगेर मानसरोवरको जल अलि पर्वतमा आइपुग्यो। त्यही जलले कर्णले सूर्यलाई अघ्र्य दिनुभयो। तत्पश्चात् प्रसन्न भएका सूर्य भगवान्ले कर्णलाई ‘हे बाबु ! तिमीले आह्वान गरेर अलि पर्वतबाट बगाएको हुनाले यो नदीको नाम कर्णाली भनेर प्रसिद्ध हुनेछ’ भन्ने आशीर्वाद दिनुभयो।
मानसरोवरको दक्षिण दिशा भएर बगेकी सेती नदी
स्कन्द महापुराणको मानस खण्डमा हिमालयबाट उत्पन्न भएकी परमपवित्र सेती नदीलार्ई ‘सीता’ भनिएकोे छ। श्रीमद्भागवत महापुराणमा मानसरोवरको चारैतिर (पूर्व, पश्चिम, उत्तर, दक्षिण) चारवटा नदी बगेको प्रसंग उल्लेख छ। त्यसमध्ये दक्षिण दिशाबाट बग्ने सीता नदी हाम्रो नेपालको पश्चिमको सेती नदी हुन्। शीतल जल लिएर कलकल बग्ने सेती नदीलाई देख्नेबित्तिकै पाप नाश हुन्छ। जसरी भागीरथी गंगालाई देख्नासाथ पाप नाश हुन्छ, त्यसरी नै सेती गंगालाई। सेती गंगामा स्नान गर्दा साक्षात् वैकुण्ठलोक प्राप्त हुन्छ। सेती गंगामा स्नान, दान, तर्पण, होम, जप जसले गर्छ त्यसले देवताले पनि प्राप्त गर्न दुर्लभ वैकुण्ठलोक प्राप्त गर्दछ। हाम्रै नेपालका सेती, कर्णाली, गण्डकी, कोसीमा स्नान गर्नाले मुक्ति प्राप्ति हुन्छ।
चर्मवासाको अंगबाट प्रकट भएकी चर्मण्यवती नदी
चौलानी नदीको प्रामाणिक नाम चर्मण्यवती नदी हो। यो नदीलाई चौलानी वा चमेलिया पनि भन्छन्। यो नदीको उत्पत्ति वर्तमानको बझाङ जिल्लाको उत्तरपट्टिको अपि हिमाल र सैपाल हिमालको तटबाट प्रकट भएर बग्छिन्। यस सरोवरमा चर्मवासा नाम गरेका ऋषिले तपस्या गर्नुभयो। तपस्या गर्दागर्दै आफ्नो वायुलाई रोक्नुभयो। सो क्रममा उहाँको हाडछाला सबै मक्कायो। वायु रोक्दा हावाको गति नै बन्द भयो, सबै हाहाकार भए। सबै देवता छट्पटाएर आत्तिँदै रुँदै कराउँदै वैकुण्ठमा भेला भए र भगवान्लाई प्रार्थना गरे। भगवान्ले किन आयौ भनेर सोध्नुभयो। ‘पृथ्वीमा हावा चल्न छोड्यो। सारा वायुको गति बन्द भयो। हामी यो हावाबाट वञ्चित भयौं र प्रार्थना गर्न आएका हौं।’ भगवान् विष्णुले ध्यानमग्न भएर यसो हेर्नुभएको त प्राणवायुलाई रोकेर तपस्यारत चर्मवासा ऋषिलाई सुषमा सरोवरमा देख्नुभयो। मैले कुरा बुझें तपाईंहरू जानुहोस् र चर्मवासा ऋषिलाई जगाउने प्रयत्न गर्नुहोस् म पनि आउँछु भन्नुभयो।
नभन्दै ऋषि चर्मवासाले नेत्र खोल्नुभयो। आँखा खोल्दा वैकुण्ठबाट भगवान् विष्णु हातमा कलश लिएर आउनुभएको देख्नुभयो। चर्मवासालाई अमृत जलधाराले अभिषेक गर्नुभयो।
त्यसपछि उहाँलाई लिएर वैकुण्ठ जानुभयो। उनै चर्मवासाको अंगबाट प्रकट भएकी हुनाले नदीको नाम पनि चर्मण्यवती गंगा नामले प्रसिद्ध भयो। सम्पूर्ण नदीमा गरेको दान फल पुण्यभन्दा एकैपल्ट चर्मण्यवती नदीमा गरेको स्नानले सम्पूर्ण फल मिल्दछ। ‘सर्वयज्ञ फलम् सर्वम् सर्वदान फलम् तथा’ अर्थात् सम्पूर्ण यज्ञ, अश्वमेघ यज्ञ, राजसी यज्ञ, ठूला ठूला सोम यज्ञ, रुद्र यज्ञ, १०१ विष्णु यज्ञ आदि गर्दा जुन पुण्य प्राप्त हुन्छ त्यो सम्पूर्ण फल चर्मण्यवती गंगा (चौलानी नदी)मा स्नान गर्नाले मिल्दछ। यो नदी दार्चुला, बैतडी र बझाङ हुँदै बग्दछ र महाकालीमा गएर मिल्दछ। यहाँको स्नानले मात्र पनि ठूलो पुण्य प्राप्ति हुने वर्णन स्कन्द महापुराणमा प्रस्टसँग उल्लेख छ।
महाकाल रूप देखेर कालो वर्णकी हुँदा महाकाली नदी
लिम्पियाधुराको हिमालमा आयोजना गरिएको यज्ञराज कुवेरको यज्ञमा आउनुभएका महर्षि वेदव्यासको प्रार्थनाबाट प्रसन्न हुनुभएका भगवान् शिवले व्यासजी केका लागि स्तुति गर्नुभयो ? भनेर जिज्ञासा गर्दा कुवेरको यज्ञमा पानीको अभाव भएको हुँदा जल प्राप्तिका लागि प्रार्थना गरेको हुँ भन्नुभयो। त्यसपछि भगवान् शिवले जटामा बसेकी गंगाजीलाई हिमालयमा प्रकट हुन आग्रह गर्नुभयो। पटक–पटक आग्रह गर्दा पनि गंगाजी जटाबाट नओर्लेपछि रिसले अत्यन्त क्रोधित हुँदै महाकाल स्वरूप बनेर आफ्नै हातको त्रिशूल जटामा प्रहार गर्नुभयो। भगवान्का क्रोधबाट भयभीत बनेकी गंगाजी शिवजीका डरले कालो वर्णकी भएर लिपुलेक (हिमालय)मा ओर्लनुभयो। महाकाल रुद्रका क्रोधबाट डराएर कालो वर्णकी भएर हिमालयबाट प्रकट भई बगेकी हुनाले ती गंगाको नाम महाकाली नदी भनेर प्रसिद्ध भयो।
महाकाली नदी प्रकट भएपछि कलकल गर्दै लिम्पियाधुरा, लिपुलेक, व्यास आश्रम (गाउँपालिका), धौली गंगालाई हुँदै चर्वण्यवती गंगा, ईश्वरी गंगा, सरयु गंगा, रेणुका गंगा साथमा लिएर कर्णालीमा प्रवेश गर्नुभयो। कर्णाली, सेती, भेरी सबैलाई समेट्दै भारतको अयोध्यामा पुग्नुभयो। यसकारण महाकाली नदी वर्तमानको लिम्पियाधुरा हुँदै बग्नुभएको छ। साक्षात् शिव भगवान्का जटाबाट पैदा हुनुभएकाले महाकाली नदीमा एक पल्ट स्नान गरेको फल सय पल्ट भागीरथी गंगामा स्नान गरेबराबर प्राप्ति हुन्छ भनेर स्कन्द महापुराणमा लेखिएको छ।
सरयु नदीको उद्गम स्थल नेपालमा
स्कन्द महापुराणको आधारमा सरयु गंगाको तटमा केदारनाथ, विश्वनाथ, रामेश्वरम् र पञ्चेश्वर छन्। लिम्पियाधुरा र लिपुलेक हुँदै आएकी महाकाली नदी र बझाङको बित्थ्ड अर्थात् विश्व पर्वतको फेदबाट प्रकट भएर बगेकी सरयु नदी गएर जहाँ महाकालीमा मिल्दछिन् त्यही ठाउँलाई पञ्चेश्वर तीर्थ भएर प्रसिद्ध छ भनी वर्णन गरिएको छ। वर्तमानको बैतडी जिल्लाको सर्नाली र रूपाल भन्ने दुईवटा गाउँको फेदमा महाकाली र सरयु नदी जोडिन्छन्। महाकालीमा सरयु मिलेपछि महाकाली आफैं सरयु नामले प्रसिद्ध भएर भारतमा जानुहुन्छ। यसरी सरयु नदीको पुराणमा ठूलो महत्त्व बताएको छ।
शिवको जटा निचोर्दा भेरी नदी
कैलाशमा शिवका भक्त भैरव हुनुहुन्थ्यो। एक पटक शिवसँग रुष्ट भएर भैरव पूर्वतिर लाग्नुभयो। जाँदाजाँदै मुस्ताङ जिल्लाको साँधमा पुगेपछि भैरवलाई शिवजीको तपस्या गर्न मन लागेछ। मुस्ताङ र डोल्पा जिल्लाको सिमानामा बसेर उहाँले शिवजीको कठोर तपस्या गर्नुभयो। शिवजी प्रसन्न भएर प्रकट भई ‘हे भैरव ! तिम्रो तपस्याबाट म खुसी भएँ, वरदान माग’ भन्नुभयो। भैरवले ‘हे शिवजी ! हजुर खुसी हुनुहुन्छ भने यहाँ हजुरका जटाबाट एउटा धारा खसाइदिनुहोस्’ भन्नुभयो।
हवस् भनेर शिवजीले आफ्नो जटा तान्नुभयो र निचोरेर पानी झार्नुभयो। त्यहाँ एउटा सरोवर तलाउ बन्यो। भैरवले तपस्या गरेर आह्वान गरेको हुनाले त्यस कुण्डको नाम भैरव कुण्ड रहन गयो। भैरव कुण्डको जल उठाएर दिनैपिच्छे भगवान्् शिवलाई अभिषेक गर्नुभयो। भैरवले सधैं जलले शिवजीलाई अभिषेक गरेर बगेको हुनाले त्यो नदी भैरवी नामले प्रसिद्ध भयो। अपभ्रंश भएर भैरवीलाई पछि भेरी गंगा भन्न थालियो। भैरवी गंगा नै भेरी गंगा हुन्।
हलाहल विषको पीडा शान्त पार्न त्रिशूली नदी
शिवजीले समुद्र मन्थन गर्दा हलाहल विष पिउनुभयो। विष सेवनले आगोले झैं पोल्यो। त्यो पीडा शान्त भएन। विषको पीडाले अत्यन्त पीडित भगवान् शंकर हिमालयको काखमा रहेको गोसाइँकुण्ड रहेको स्थानमा आफ्नो त्रिशूलले जमिनमा हान्नुभयो। त्यहाँ कल कल गर्दै तीनवटा धारा प्रकट भए, जसलाई धर्मधारा भनिन्छ। भगवान् शिवको त्रिशूलले उत्पन्न भएर बगेकी हुनाले त्रिशूली गंगा प्रसिद्ध र विख्यात हुनुभयो। गण्डकी विष्णुको विग्रह स्वरूप भएको र त्रिशूली साक्षात् भगवान् रुद्रावतार शिवको स्वरूप भएको पाइन्छ। दुवै नदीको संगम हरिहर क्षेत्र अथवा देवघाट हो।
शिवजी खित्का छोडेर हाँस्दा वाग्मती नदी
वाग्द्वारभन्दा माथिको पर्वतलाई महेन्द्र पर्वत भनिन्छ। त्यहाँ ब्रह्माजीले तपस्या गर्नुभयो। तपस्याबाट शिवजी प्रसन्न भएर भन्नुभयो, ‘हे ब्रह्मा ! म प्रसन्न भएँ वर माग्नुहोस्’ भन्दा यो धर्तीलाई पवित्र बनाउने गंगा बगाइदिनुहोस् भनेर ब्रह्माले भन्नुभयो। शिवजी खित्का छोडेर हाँस्नुभयो। हाँस्दा मुखबाट थुक उछिट्टिएर गंगा बग्न लागिन्। मुख (वाग)बाट बगेकी हुनाले वाग्मती नामले प्रसिद्ध भइन्।
महेन्द्र पर्वतबाट उत्पन्न भएर गोमुख वाग्द्वार हुँदै बग्दै–बग्दै वाग्मती नदी आउनुभयो। यसलाई पुराणमा सरस्वती पनि भनिएको छ। वाग्मतीको जल पशुपतिमा अर्पण गर्दा प्राप्त हुने पुण्यको कुरा हिमवत् खण्डको नेपाल महात्म्यमा वर्णन गरिएको छ। भागीरथी गंगाको भन्दा वाग्मतीको जलको सयौं गुणा ठूलो महिमा छ। जसका तटमा गोकर्णेश्वर महादेव, पशुपतिनाथ, शंखमूल तीर्थ विराजमान भएको कुरा पुराणमा उल्लेख छ। श्रीमद्भागवत महापुराणमा सरस्वती नदीमा भगवान् श्रीकृष्ण द्वापरमा आएर वाग्मतीमा स्नान गरी पशुपतिनाथ भगवान्को पूजा गरेको प्रसंग उल्लेख छ।
मनले चिताएको पाप पखाल्ने मेलम्ची नदी
स्कन्द महापुराणको हिमाद्री खण्डमा भगवान् शंकरले जब विषपान गर्नुभयो त्यो विषले साह्रै पोलेपछि छाती निचोर्नुभयो। शिवको छातीबाट मानसी गंगा उत्पन्न हुनुभयो। तिनै मानसी गंगा अप्रभंश हुँदै मेलम्ची हुन पुगिन्। मनले कसैप्रति अन्याय चिताएको छ भने मेलम्चीमा नुहाए मानसिक पापबाट मुक्ति भइन्छ। सम्पूर्ण बलभन्दा ब्रह्म बल श्रेष्ठ भएको थाहा पाई आफू पनि ब्राह्मण बन्ने इच्छाले कठोर तपस्या गर्दा पनि महर्षि वशिष्टले ब्राह्मण पद नदिएपछि रिसले क्रुद्र भएका विश्वामित्र तरबार लिएर वशिष्टलाई काट्न जानुभयो।
हातमा तरबार लिएर काट्न तयार भएका विश्वामित्र वशिष्टका अगाडि पुगेपछि घुँडा टेकेर ढोग्न पुगे। उनले भने, ‘हे प्रभु ! मैले ठूलो गल्ती सोचें। ममा क्षत्रीय गुण आयो। मनमा चिताएको यो अपराध प्रायश्चित्त कसरी हुन्छ ?’ वशिष्टले हिमालयमा रहेका शिवका वक्षस्थलबाट उत्पन्न भएकी मानसी गंगामा गएर नुहाएपछि चिताएका पाप नष्ट हुन्छ भन्नुभयो। मानसी गंगामा नुहाएपछि विश्वामित्र उक्त पापबाट निवृत्त भए। त्यसैले हामी कसैले कसैप्रति पाप चिताएको भए मेलम्चीमा गएर नुहाए त्यो पापबाट मुक्ति मिल्दछ।
चट्टानले घेरिएको पहाड फोरेपछि इन्द्रावती नदी
काभ्रेको पाँचखालमा चन्द्रपद नाम गरेका राजा थिए। उनले ठूलो यज्ञ गर्ने इच्छा प्रकट गरे। त्यही बेला आकाशवाणी भयो, ‘हे राजन ! हिमालयको काखमा चट्टानैचट्टानले घेरिएर रहेको इन्द्रसरोवर छ। तिम्रो योगबलले त्यो चट्टानलाई फोरेर गंगाजीलाई लिएर आऊ। त्यसपछि पितृहरूलाई तर्पण दिएर मात्र यज्ञ गर।’ चन्द्रपद सम्पूर्ण दलबलका साथ हिमालयमा गए। उनले विशाल चट्टानले घेरिएको पहाड फोरे र धारा निकाले। इन्द्रसरोवरबाट आएकी गंगाको जलले उनले पितृलाई तर्पण गरी यज्ञ प्रारम्भ गरे। त्यही इन्द्रसरोवर प्रकट भएर आएकी नदी नै इन्द्रावती नामले प्रसिद्ध भइन्। काभ्रेको पाँचखाल चन्द्रपदले पितृ श्राद्ध गरेकाले उक्त ठाउँमा स्नान गरी पितृ श्राद्ध गरे मोक्ष प्राप्त हुने स्कन्द महापुराणको हिमाद्री खण्डमा उल्लेख छ। तिनै इन्द्रावती नदी रोशी आदि नदीलाई समेट्दै सुनकोसीमा गएर प्रवेश गरिन्।
स्नानपछि आन्तरिक ऊर्जा दिने सप्तकोसी नदी
सप्तकोसी पार्वतीका अंगबाट प्रकट भइन्। प्रत्येक कोसीमा गएर नुहाउनाले आन्तरिक ऊर्जा प्राप्त हुन्छ। भगवती दुर्गाको अवतार हो कोसी नदी। यसमा महाकालीको स्वरूप पनि छ। यिनै सप्तकोसीको तटमा भगवती दुर्गाले चण्डमुण्ड, शुम्भ–निशुम्भ आदि दैत्यहरूको बध गरी देवताहरूको रक्षा गर्नुभएको थियो। शुम्भ–निशुम्भ आदि दैत्यहरूको बध गरिसकेपछि भगवती दुर्गा काञ्चनाद्री (कञ्चनजंघा) पर्वतको नजिकमा गएर पाथीभराका रूपमा विराजमान हुनुभयो। उनै पार्वतीका पसिनाबाट सातवटा धारा प्रकट भएर सप्तकौशिकी नदी बगेकी हुन्। यसलाई सप्तकोसी भनिन्छ।
महर्षि मरिचिकी छोरी मेची नदी
ब्रह्माजीका मरिचि नाम गरेका पुत्र थिए। श्राद्धदेव नाम गरेका राजाका पालामा वर्तमानको इलाम जिल्लाको नजिकमा महर्षि मरिचिले कठोर तपस्या गरी गंगाजीलाई आह्वान गर्नुभयो। उनै महर्षि मरिचिद्वारा प्रकट गरी बगाइएकी पवित्र नदीलाई नै मेची नामले बोलाउन थालियो। श्राद्धदेव राजाका पालामा सप्तऋषिमध्येका एक थिए मरिचि। श्राद्धदेवका सन्तान भएनन्। उनले ठूलो यज्ञ गरेपछि इला नामकी छोरी जन्मिइन्। राजाले छोरीलाई इलामा इलामा भन्दै छोरी चाहिएन भनी निषेध गरे। इलामा भन्दाभन्दै त्यो ठाउँको नाम इलाम रहन गएको हो। उनी सुधुम्न नाम गरेका राजकुमार भए जो ६ महिना छोरा र ६ महिना छोरी भएर राजकाज चलाए भन्ने कथन छ। उनै मनुका पालामा मरिचि नाम गरेका ऋषिकी पुत्रीका रूपमा मेची गंगा प्रकट भएर बगेको पाइन्छ।
आदिकवि ब्रह्माजीकी छोरी काबेली नदी
आदिकवि भनेर ब्रह्माजीलाई मानिन्छ। ब्रह्माकी छोरी कावेरी हुन्। वर्तमानको काञ्चनाद्री पर्वतको फेदमा अगस्त्य ऋषिले तपस्या गर्नुभयो। अगस्त्य ऋषिको तपस्याबाट उनै ब्रह्माजीकी छोरी कावेरी त्यहाँ प्रकट भइन्। त्यही नदी नेपालमा कावेली नामले प्रसिद्ध भयो; जसको उद्गम स्थल कञ्चनजंघा हिमाल हो। कावेली सप्तकोसीमा गएर मिल्दछ।
स्वर्णगंगा सुनकोसी, ताम्रगंगा तामाकोसी
पार्वतीले शिवजीलाई पतिका रूपमा प्राप्त गर्नुपर्यो भनेर कालिञ्चोकको फेदमा तपस्या गर्नुभयो। गौरी हुनका लागि कालो वर्ण फ्याँक्न उहाँले तपस्या गर्नुपर्यो भन्ठानेर कुण्डमा नुहाउन जानुभयो। कुण्डछेउ पुगी किनारमा गरगहना राख्नुभयो। तिनै गहनामध्ये सुनका गहनाबाट स्वर्णगंगा र तामापित्तलका गरगहनाबाट ताम्रगंगा उत्पन्न भयो। त्यही स्वर्णगंगालाई सुनकोसी र ताम्रगंगालाई तामाकोसी भनियो। पार्वतीले ब्रह्माजीको आशीर्वाद प्राप्त गरी गौरीद्वारा शंकर हिमालमा विराजमान भएपछि गौरीशंकर हिमाल नामले प्रसिद्ध भयो।
नदी सभ्यतामा नेपालको योगदान
पहिलो सभ्यता सिन्धुघाँटी सभ्यता हो। यहाँबाट गंगाको प्रवाहसँगै गंगा सभ्यता भयो जुन कर्णाली आइपुग्दा कर्णाली सभ्यता भयो। यस्तै गण्डकी सभ्यता, वाग्मती सभ्यता, कोसी/कौशिकी नदी किनारबाट मानव सभ्यताको विकास पनि भयो। हिन्दू धर्ममा पानीलाई मानव जीवनका रूपमा लिइन्छ। पूजाआजा, पाठ, यज्ञ, अनुष्ठान, तीर्थव्रत, स्नान आदि हरेक कुरामा मानिसलाई पानी आवश्यक पर्छ। हिन्दू धर्मको प्राचीन सभ्यता नै सिन्धुघाँटीबाट सुरु भएको देखिन्छ। सिन्धु नदीदेखि बर्माको म्यानमारस्थित ऐरावती नदीसम्म सबै सभ्यता नदी किनारकै सभ्यता हुन्।
नदीहरूको स्वच्छता, नदीको आश्रय, नदीको अपरिहार्यतामा ध्यान दिन जरुरी हुन्छ। नदी जीवनको जल हो, जीवन हो अनि पद्धति हो। नदी संस्कार हो, संस्कृति हो। नदी जीवन्त प्राण हो। पानीबिना मानिस बाँच्नै सक्दैन। उर्वर भूमि सिञ्चित गर्न, खेतीबाली उब्जाउन पनि नदीको पानी उपयुक्त हुने भएकाले हाम्रा ऋषिमुनिहरूले नदीको तटमा बासस्थान बनाएर मानव सभ्यताको विकासलाई उजागर गरेको पाइन्छ।
पशुपतिनाथ वाग्मती नदी, मुक्तिनाथ गण्डकी नदी, वराह क्षेत्र कौशिकी नदी र देवघाट नारायणी नदी किनारमा अवस्थित छन्। त्यसैगरी भारतमा पनि हरिद्वार गंगा किनारमा, वृन्द्रावन यमुना किनारमा र अयोध्या सरयु नदी किनारमा रहेको पाइन्छ। यसकारण हाम्रो पूर्वीय दर्शनमा नदीकिनारको सभ्यता नै मानव सभ्यताको उद्गम स्थल हो भन्ने प्रस्ट देखिन्छ। मान्छे कति संस्कारी छ भनेर उसको नजिकै बग्ने खोला/नदीको शुद्धता हेरेर थाहा हुन्छ।
नेपालीको दुर्भाग्य के छ भने पूर्वजको धरोहरहरूलाई अर्थात् सम्पदाहरू बचाउन सकिरहेका छैनन्। पोखराको शुक्लागण्डकी पनि फोहोर, काठमाडौंको वाग्मतीमा पनि फोहोर, वराहक्षेत्रको कोसी नदीमा पनि फोहोर, वृन्दावन, अयोध्या र काशी नदीमा पनि फोहोर। काशीको कन्तबिजोग हेर्दा त वाग्मती धेरै स्वच्छ देखिन्छ। तथापि नदीहरू फोहोर पार्ने कामलाई दुरुत्साहन गर्नैपर्छ।
वाग्मती र शुक्लागण्डकीमा ठूलो अन्याय भएको छ। मानिसले नदीमा फोहोर फालेर गरेको अन्याय अत्यन्त निकम्मा शैली हो। अमर्यादित र अशिष्ट व्यवहार भएको हुनाले नदीहरू दिनप्रतिदिन फोहोर भइरहेछन्। फोहोर हुनबाट नदीलाई बचाउनुपर्छ, यसले हाम्रो सभ्यता बचाउँछ। नत्र अतिवृष्टि, अनावृष्टि, आँधीबेहरी, बाढीपहिरो र महामारी आउने सम्भावना हुन्छ। नदी सफा र भव्य बनाउन सके यी सबैबाट बच्न सकिन्छ।
यो देश ऋषिहरूले तपस्या गरेको साथै भगवान्हरूको देश भएकाले स्वर्गजस्तै छ। त्यसैले स्वर्गका देवताहरू पनि नेपालजस्तो भूखण्डमा जन्मने इच्छा गर्छन्। देवताहरूले पनि यहाँ जन्मने इच्छा गरेको देश हो नेपाल। गण्डकी र कौशिकी आदि पवित्र नदीहरू भगवान्को स्मरण, भजन, कीर्तन, ब्रह्म चिन्तन, आत्म चिन्तनसमेत गर्न पाइने भएकाले स्वर्गबाट देवताहरू पनि नेपालमा जन्मन चाहन्छन्। यति पवित्र तीर्थस्थल भएकाले नेपाल तीर्थैतीर्थको देश, पवित्र गंगाहरूको बास भएको धरती मानिन्छ। यसकारण नेपालले विश्वकै असाध्यै महत्त्वपूर्ण राष्ट्रका रूपमा प्रसिद्धि प्राप्त गरेको हो।