मेलम्ची पर्खाइ पूरा

मेलम्ची पर्खाइ पूरा

काठमाडौं : कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ। अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ। 

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए। उनका अनुसार मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिनेछ।

सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्नेछ। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ। 

सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो। पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले पानीको महसुल तत्कालका लागि पुरानै रहने बताए। ‘पुरानो सिस्टमबाट मेलम्चीको पानी थपिने हो’, राणाले भने, ‘नयाँ सिस्टमको परीक्षण सकिएपछि नयाँ धाराबाट पनि पानी आउनेछ।’ नयाँ, पुराना दुवै पाइपलाइनबाट पानी आउन थालेपछि मात्रै नयाँ महसुल निर्धारण गरिने राणाको भनाइ छ। सरकारले हालै मात्र महसुल निर्धारण आयोगलाई पूर्णता दिएको छ।

काठमाडौंमा सुरुमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ। वैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ। ‘ट्रायल पनि हुन्छ, पहिलो दिनमै सबै ठाउँमा पानी नआउन सक्छ’, उनले भने।

उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। यो उपत्यकाको मागअनुसार एकतिहाइ हो। उपत्यकामा पूर्णरूपमा पानीको माग धान्न यांग्री र लार्केको पानी ल्याइनेछ।

प्रवक्ता पन्तका अनुसार यांग्री र लार्केको पानी ल्याउन नौ किलोमिटर सुरुङ खन्ने तयारी छ। यी दुई आयोजनाबाट १७/१७ करोड लिटर पानी थपिनेछ। ‘कुन विधिबाट काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन’, उनले भने। यांग्री र लार्केको सुरुङ निर्माण गर्न पाँच वर्षभन्दा बढी लाग्ने देखिएको छ। मेलम्ची, यांग्री र लार्केबाट गरी उपत्यकामा ५१ करोड पानी ल्याउने योजना छ।

आयोजनाका अनुसार घरमा बस्ने व्यक्तिको अनुपात हेरी बिहान, बेलुकी पानी आउनेछ। घरमा दिने पानीको पाइप आधा इन्चको छ। औसतमा पाँच सय लिटर पानी दिँदा धेरै व्यक्ति बस्ने घरमा दुई हजार लिटरसम्म जानेछ।

मेलम्चीको सुरुङ निर्माण गर्न २०६५ फागुन ८ गते चिनियाँ कम्पनीसँग २०७० असोज ३० गतेभित्र काम सक्ने गरी सम्झौता गरिएको थियो। तर, ६.५ किलोमिटर खन्ने तथा सपोर्ट लगाउने काम सम्पन्न गरे पनि एक वर्षभित्र सम्झौताअनुसार काम हुने नदेखिएपछि २०६९ असोज १० गते सम्झौता रद्द गरिएको थियो। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गत वर्ष कात्तिकमा गरेको अध्ययनअनुसार सो समय सम्झौताको १५ प्रतिशत मात्रै भौतिक काम भएको थियो।

हेडवक्र्स तथा सुरुङ निर्माणका बाँकी काम सम्पन्न गर्न २०७० असार ३१ गते इटालीको सीएमसी डी राभेन्नासँग सम्झौता भएको थियो। त्यसअनुसार २०७३ असोज १४ गते सक्ने कबोल भए पनि काम हुन सकेको थिएन। त्यसै समयमा भूकम्प र नाकाबन्दीबाट आयोजना थप प्रभावित बन्यो।

कबोलअनुसार धेरै काम भए पनि सीएमसी इटालीमा इन्सोभेलेन्सी प्रक्रियामा गएको र आयोजनालाई जानकारी नगराई अचानक छाडी हिँडेका कारण निर्माण कार्य अवरुद्व भएको थियो। सोही कारण ठेक्का सम्झौता रद्द भएको समिति सभापति कल्याणीकुमारी खड्का संयोजक रहेको समितिको अध्ययन प्रतिवदेनमा उल्लेख छ।

आयोजनाको सुरुआती लागत १७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ अनुमान गरिएको थियो। तर, सुरुङ, हेडवक्र्स, सडकलगायतमा झन्डै ३० अर्ब खर्च भइसकेको जनाइएको छ।

उपत्यकामा पानी वितरण गर्न केयूकेएलले १ हजार १ सय किलोमिटर पाइपलाइन निर्माण गरेको छ। त्यस्तै दुई सय किलोमिटर पाइपलाइनको काम अघि बढेको छ। प्रत्येकघरमा चैतभित्रै पानी पुर्‍याउने गरी धारा जडान गरिएको छ। १ लाख १० हजार धारा जडान गर्नुपर्नेमा अधिकांश सम्पन्न भइसकेको छ।

त्यहाँदेखि यहाँसम्म
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा देखाएका थिए, मेलम्चीको सपना। भट्टराईले निर्वाचनका बेला मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका थिए। त्यसको २९ वर्षपछि त्यसले साकार रूप लिँदै छ।

उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मेलम्चीसहित २२ वटा विकल्प २०४१ सालमा पहिचान गरिएको मेलम्ची खानेपानी विकास समितिको २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। सरकारले खानेपानीको खोजी गर्ने क्रममा २०२९ सालदेखि पानीका सम्भाव्य स्रोतहरूको अध्ययन थालेको पनि प्रतिवेदनमा जनाइएको छ।

‘वि.सं. २०४९ को तुलनात्मक अध्ययनले प्रत्येक नदीबाट १७ करोड लिटरका दरकाले दैनिक ५१ करोड लिटर पानी काठमाडौं उत्पत्यकामा आपूर्ति गर्न उपयुक्त हुने आर्थिक तथा प्राविधिक रुपमा उत्तम विकल्प हुन आएका मेलम्ची, यांग्री र लार्के नै हुन् भन्ने निष्कर्ष निकालेको थियो’, प्रतिवेदनमा छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राणाले सरकारले मेलम्चीको अध्ययन २०३५ सालमा थालेको बताए। त्यस बेला बिनी एन्ड पार्टनरलाई अध्ययन गर्न जिम्मा दिएको थियो।

लगानीकर्ता पहिचान गरी आयोजना कार्यान्वयन गर्न २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो। त्यस्तै, २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसपछि २०५७ मा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने सहमति जनाई ऋण सम्झौता गरियो। आयोजनाको काम २०५८ र सुरुङ निर्माण २०६६ सालमा थालिएको थियो। यसरी आयोजनाको काम सुरु भएको २० वर्षमा मेलम्चीको पानी काठमाडौं सुन्दरीजलसम्म आइपुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.