स्वास्थ्य सावधानीका साथ होली
नेपालीको राम्रो जुझारूपन, छिटै तनावसँग जुधेर तथा बिर्सेर अघि बढ्न सक्ने क्षमता, डराए पनि सचेत, साँझ–बिहानको छाक टार्ने बाध्यता, गर वा मरको अवस्थाले नेपाली महामारीको चपेटमा छन् । न सावधानी छ, न त मास्क, सरसफाइ र भौतिक दूरी । लाग्छ, कोरोना इतिहास भइसकेको छ । कसैलाई हेक्का छैन । लकडाउन, प्रतिबन्ध सरकारका तर्फबाट सबै खुलेर निर्बाध चलिरहेका छन् । देश चुनावमय बन्दै आन्तरिक शक्ति संघर्ष उत्कर्षमा छ । दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने र प्रतिस्पर्धामा लाखौं जम्मा गर्दे राजनीतिक मेला लगाइरहेकै छन् । तैपनि कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुगेपछि घटेको घट्यैमा विगत सातादेखि बढ्दै छ । नेपाल सरकारले घरभित्र होली खेल्न तथा भीडभाड नगर्न भनिरहेको छ ।
जाडोमा हुने कम सरसफाइ र नुवाइधुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउ“छ । फेरि रङहरूको पर्व होली अर्थात् फागु पूर्णिमा पहाडमा आज त तराईमा भोलि मनाइँदैछ । महिना दिन पहिल्यै लोलाको आतंक मच्चिने सहरहरूमा समयक्रम, व्यस्तता तथा कोरोना महामारीले कमी ल्याएकै छ । विगतमा नराम्रो अनुभव भएका यस वर्ष नखेल्ने तथा साथीभाइ र अन्यको जबर्जस्तीबाट बच्न अनेक बहाना र उपाय बनाउँदै तथा सोच्दैछन् ।
हाल रसायन मिसाइएका कृत्रिम रङको बोलवाला छ; जसले फोक्सो, छाला, आँखा, दाँत, मुख, नाक, कान, घाँटी, कपाललगायतका अंगमा हानिकारक असर पार्छन् । त्यस्तै होलीमा लोला प्रहारले आँखामा क्षति, दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगहरूमा लाग्दा घाइते, बेहोस र मृत्यु पनि हुन सक्छ । मदिरा, भाङजस्ता नशालु पदार्थ सेवनसँगै होली खेल्दा जोसले हेक्का नै नभई रङ आँखा, नाक, मुख हुँदै शरीरभित्र पस्न सक्छ । श्वासनली, मुटु, मिर्गौलाजस्ता संवेदनशील अंगमा गएर टासिन्छन् । रङलाई तेलमा मिसायर छालामा लगाउँदा झनै समस्या बढ्छ । धेरैजसो अजैविक सुक्खा रङ वा अबिरमा हुने दुवै तत्व रङ दिने कलरेन्ट र अस्वेस्ट्स वा सिलिका दुवै स्वास्थ्यका लागि जोखिम हुन्छन् । अस्वेस्ट्सले क्यान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ ।
रङमा मिसाइने जिंक क्लोराइड रङ दलेपछि छाला चिलाउँछ तथा स्वास्थ्यका लागि धेरै हानिकारक छ ।
त्यस्तै रंगीन पत्रपत्रिका पनि मुखमा पार्दा विषालु हुन्छन् । औंलामा थुक लगाएर पाना फर्काउने बानीले रङमा हुने साइनाइड तत्व पनि मुखमा पर्न जान्छ । लिप लाइनर, लिप स्टिक, आइलाइनर, हेअर डाइ र कस्मेटिक कलरमा भएका रङको असर विस्तारै देखिन्छ भने होलीका रङले भने त्यही वा अर्को दिन छालामा साना बिमिरा, चिलाउने, सुन्निने, पानी आउने, घाउ भई संक्रमणजस्ता असर देखाइहाल्न सक्छ ।
मिर्गौलालाई हानि गर्ने लिड अक्साइड–कालो रङ दिन, आँखालाई क्षति गर्ने कपर सल्फेट– हरियो रङ दिन, सासमा असर पार्ने क्रोमियम आयोडाइड– हल्का बैजनी रङ दिन, छालामा असर पार्ने पर्सियन ब्लु– नीलो रङ दिन, छालाको क्यान्सर बनाउने मर्करी सल्फेट– रातो रङ दिन र क्यान्सर बनाउने अल्मुनियम ब्रोमाइड– सिल्भर रङ दिन प्रयोग गरेको पाइन्छ । सुक्खा र गिला रङले दम बढाउने, ब्रोङकाइटिस हुने गर्छ । कपाल फुट्ने, खस्रो र जर्रो बनाउँछ । रङले छालामा एलर्जी भई पोल्ने, फोका उठ्ने, एक्जेमा–छाला चिलाउने, घर्षण भई जलन र घाउखटिरा आउने, छाला सुक्खा हुने, फुट्ने, रगत आउने, छालाको रङमा परिवर्तन, घाममा रङ दलिँदा छालामा टाँसिई छालाको बाहिरी र भित्री तहमा क्षति र दीर्घकालीन संक्रमण गराउन सक्छ । रङमा मिसाइने जिंक क्लोराइड रङ दलेपछि छाला चिलाउँछ तथा स्वास्थ्यका लागि धेरै हानिकारक छ ।
रङ आँखामा पर्दा आँखामाक्षति, कन्जङटाइभाइटिस, रातो हुने, दुख्ने, बिझाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्या देखिन्छन् । घाम लागेका बेलामा रसायन मिसिएका र अनुहारमा दल्दा छालामा दीर्घकालीन असर देखिन्छ । त्यसैमा मोबिल, अन्डा, इनामेल, मट्टीतेल र फोहोर पानीको प्रयोग बढ्दो छ; जसले उत्पन्न गराउने समस्या र रोग झनै अनगिन्ती छन् ।
रङमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रङ र वस्तु मिसाइँदा रङ दिनप्रतिदिन खतरा र हानिकारक भइरहेका छन् । रङ धेरै दल्दा सुन्दरतामा असर परी सुन्दरता नै गुम्छ । त्यसैमा रसायन मिसिएका रङमा हुने हानिकारक तत्वले विभिन्न छाला, आँखा सम्बन्धित अल्पकालीन तथा दीर्घकालीन समस्या र रोग लाग्न सक्छ । छाला शरीरको रक्षाकबच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ । तसर्थ छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुन्छ ।
सावधानी
प्रहरीले होली पर्व मनाउने नाममा सर्वसाधारण तथा विदेशीमा जबर्जस्ती रङ तथा रसायनयुक्त पदार्थ दल्ने, फोहोर पानी हाल्ने, छ्याप्ने, लोला हान्ने गरे, अभद्र व्यवहार गर्ने, मापसे, लागुपदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, अशान्ति मच्चाउने गरे सार्वजनिक मुद्दा चलाई कारबाही गर्ने जानकारी दिएकै छ ।
राम्रो गुणस्तर वा पाउडर, पानीमा घुलनशील, शुद्ध, उत्तम र केवल रङको प्रयोग गर्नुपर्छ । स्थायी रङले छाला सुक्खा बनाउने भएकाले प्रयोग नगरौं । गोल्डेन, सिल्भर रङ तथा सिलिका मिसाइएका रङ प्रयोग गर्नु हुँदैन । रङ पानीसँग मिसाएर प्रयोग गर्नु हुँदैन । रङसँगै लामो समय बस्नु हुँदैन । रङलाई गाढा बनाउने निहँुमा तेजाबी, कृत्रिम रङ थप्नु हुँदैन ।
रङ लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रङ, फोहर पानी, बेलुनको प्रयोग नगर्ने गर्नुपर्छ । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा क्षति हुन्छ । तसर्थ नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ । होली खेल्नुअघि अनुहार र हातमा म्वाइस्चराइजर र फाउनडेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइटफिट चस्मा लगाउन सकिन्छ ।
चिल्लो र म्वास्चराइजर क्रिमको प्रयोग, औषधि भएको, खस्रो, साबुन प्रयोग नगर्ने, ग्लेसेरिन भएको साबुन प्रयोग गर्नुपर्छ । तोरी र सस्र्यु तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्छ । कपालको चमकता कायम राख्न एक चम्चा सिरकामा तीन चम्चा तेल मिसाएर दल्नुपर्छ । छाला बारम्बार साबुनले नधुने गर्नुपर्छ । छाला र अनुहारको रङ हटाउन रुवा वा कपासको सहयोगले नरिवल तेल लगाउनुपर्छ । यस्तो बेला चिसोपानी मात्रै प्रयोग गर्ने र नुहाएपछि म्वाइस्चराइजर लगाउनुपर्छ । गोरा र सेन्सिटिभलाई घामबाट हुने जलनबाट जोगाउन सनक्रिम प्रयोग गर्नुपर्छ । मोबिल र इनामेल हटाउन टरपेन्टाइन तेल प्रयोग गर्नुपर्छ ।
अन्त्यमा, रिस, झगडा र रगतको होली नखेलौं । रङको होली अस्थायी हो । उपचार गरे ठीक हुन्छ तर रगतको होली खतरनाक हुन्छ । ज्यान गए फर्किंदैन । होलीमा कुलत शून्य, रङ थोरै तथा प्राकृतिक र रमाइलो त्यो पनि घरभित्र र आफन्तमा जनस्वास्थ्यका मापदण्डसहित धेरै गर्दै सभ्य र भव्यका साथ मनाऔं ।
–डा. बुढाथोकी नेपाल चिकित्सक संघका निर्वाचित केन्द्रीय कोषाध्यक्ष हुन् ।