वायु प्रदूषणले बढाएको चिन्ता
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा फैलिएको तुवाँलोले जनजीवन कष्टकर बनाएको छ। काठमाडौंमा वायुको गुणस्तर शुक्रबार संसारकै सबैभन्दा खराब अवस्थामा पुगेको थियो। नांगो आँखाले टाढासम्म देख्नसक्ने अवस्था छैन। काठमाडौं उपत्यकाभित्रबाट देखिने आकाशलाई करिब एक सातादेखि तुवाँलोले ढाक्न सुरु गरेको थियो। सुरुमा यसतर्फ धेरैको ध्यान गएन। तर, शुक्रबार बिहानैदेखि काठमाडौंको आकाश पूर्णरूपमा तुवाँलोले ढाकियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भए।
मानव स्वास्थ्यमा पनि त्यसको प्रत्यक्ष असर देखिन थाल्यो। धेरैमा आँखा पोल्ने समस्या देखियो। त्यसपछि सरकारी निकायले सूचना प्रकाशित गर्दै नागरिकलाई अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन सजग गरायो। शनिबार पनि बिहानैदेखि उपत्यकाको आकाशको अवस्था उस्तै छ। थुप्रै हवाई उडान प्रभावित छन् भने सडकमा मानिसको चहलपहल निकै कम छ। उपत्यकाबाहेक देशका अन्य भागमा पनि यस्तो समस्या देखिएको छ।
यतिबेला सिंगो विश्वसँगै हामी पनि कोभिड—१९ महामारीको दोस्रो लहरलाई झेल्ने चुनौतीसँग लडिरहेका छौं। झन् वातावरण प्रदूषणको अर्को समस्याले हामीलाई गिजोलेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लामो समयदेखि वर्षा हुन नसक्नु तथा हावामा धुलो र धुवाँको मात्र बढ्नु नै यो समस्याको प्रमुख कारण हो। वनजंगलमा लागेको डढेलोको धुवाँले पनि वातावरण थप प्रदूषित बनाएको छ।
वन विभागको पछिल्लो तथ्यांकअनुसार अहिले देशको ४ सय ३७ स्थानका वनजंगलमा डढेलो लागेको छ। वायु प्रदूषण र मानव स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्यलाई विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्। खासगरी फोक्सो र मुटुसम्बन्धी रोगको प्रत्यक्ष सम्बन्ध वायु प्रदूषणसँग जोडिएको हुन्छ। यसदेखि बाहेक वायु प्रदूषणले क्यान्सर, मस्तिष्कघात, छालासम्बन्धी रोगसमेत निम्याउन सक्ने विज्ञहरूले बताउँदै आएका छन्।
पछिल्लो समय विश्वव्यापी रूपमा बढ्दो वायु प्रदूषणलाई धुमपानभन्दा पनि खतरनाक मानिएको छ। धुमपानले सेवनकर्तामा बढी असर पुर्याउँछ भने वायु प्रदूषणको असर प्रत्येक तह र क्षेत्रका व्यक्तिलाई समानरूपमा पर्छ। विश्वभर वायु प्रदूषणका कारण हुने मृत्युमध्ये दुईतिहाइ मृत्युको मुख्य कारण मानवसिर्जित वायु प्रदूषण रहेको एक अनुसन्धानले देखाएको छ। त्यसमध्ये पनि वृद्ध र विभिन्न रोगबाट पीडित व्यक्ति सबैभन्दा बढी मारमा पर्ने गरेका छन्। प्रदूषणका कारण विभिन्न रोग लागेर मृत्यु हुनेमध्ये ७५ प्रतिशत मानिस ६० वर्षभन्दा माथिका छन्।
बढ्दो वायु प्रदूषण यतिबेला विश्वकै चासो र चिन्ताको विषय बनेको छ। वायु प्रदूषण धेरै हदसम्म मानवसिर्जित समस्या हो। प्रदूषणको समस्यालाई पूर्णरूपमा निमिट्यान्न पार्न सम्भव नहोला। तर सरकार र नागरिकको सामूहिक प्रयासबाट यसलाई धेरै हदसम्म कम गर्न सकिन्छ। वनजंगलमा लाग्ने डढेलो मानवसिर्जित समस्या हो। चुरोट, बिँडी खाएर जथाभावी फाल्ने, जानीजानी वनजंगलमा आगो लगाउने, अन्य कुनै कारणले आगो लागिहाले पनि त्यसलाई समयमै नियन्त्रणमा ल्याउन अग्रसरता नदेखाउने प्रवृत्तिले पनि यस्तो विकराल समस्या सिर्जना भएको छ।
यसदेखि बाहेक विभिन्न उद्योगधन्दा वा कलकारखानाबाट निस्कने धुवाँ, इँटा भट्टा र सवारी साधनबाट निस्कने धुवाँले पनि निरन्तररूपमा वातावरणलाई प्रदूषित पारिरहेको हुन्छ। पक्कै पनि उद्योगधन्दा, कलकारखाना र सवारी साधन विकासका आधार हुन्। यसलाई रोक्न मिल्दैन। यस्ता साधनबाट निस्कने धुवाँ वा प्रदूषणलाई नियन्त्रण गरी समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ। यसका लागि स्पष्ट नीति, नियम र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक पर्छ। सरकार र नागरिकको समान सक्रियताबाट मात्र यो समस्याबाट पार पाउन सकिन्छ भन्ने यथार्थलाई भुल्नु हुँदैन।