साहित्य र पर्यटन सम्बन्धी ओमानस्थित नेपाली दूतावासको वेभिनार
मस्कट : ओमानस्थित नेपाली राजदूतावासले साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार आयोजना गरेको छ ।
काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखेका ओमानी नागरिक स्व मोहम्मद अल हार्थीले नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मरणोपरान्त सम्मान प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो।
ओमानका लागि नेपालका राजदूत सर्मिला पराजुली ढकालले कार्यक्रमको औचित्यता सम्बन्धमा शुरूवाती मन्तव्य राखेकी थिइन् । कार्यक्रममा दूतावासका द्बितीय सचिव सोमेश थापाले नेपाल तथा ओमानबाट कार्यक्रममा सहभागी भएका विशिष्ट वक्ताहरूको संक्षिप्त परिचय सहित सम्पूर्ण सहभागीहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा ओमानी लेखिका अझहर अल हार्थीले स्व मोहम्मद अल हार्थीको भ्रमण तथा लेखनको बारेमा आफ्ना संक्षिप्त भना राखेका थिए ।
राजदूत सर्मिला पराजुली ढकालले स्व मोहम्मद अल हार्थीको सम्मानमा सम्मानपत्र उनकी छोरी तथा बाल चित्र पुस्तक लेखिका तथा प्रकाशक इब्तिहाज अल हार्थीमार्फत् प्रदान गरेकी थिइन् ।
स्वर्गीय पिताको सम्मानमा दूतावासद्बारा प्रदान गरिएको सम्मानपत्र स्वीकार गर्दै इब्तिहाजले आफ्नो परिवार तथा व्यक्तिगत तर्फबाट सम्मानको लागि धन्यावाद ज्ञापन गरिन् ।
कार्यक्रमको क्रममा राजदूत ढकालले मोहम्मद अल हार्थीको नाममा बनाइएको उनीप्रति समर्पित वेभसाईटको पनि उद्घाटन गरेकी थिइन् ।
स्व मोहम्मदद्बारा नेपालको भ्रमण सम्बन्धमा लिखित पुस्तकका अनुवादक डा ईथान कोरिनले पुस्तकको अनुवाद अनुभव लगायत बारेमा संक्षिप्त भनाइ राखेका थिए ।
त्यसैगरी नेपालबाट कार्यक्रममा सहभागी मान्सी अग्रवालले नेपालको बारेमा पुस्तक लेख्ने तथा नेपालको पर्यटन प्रवर्द्धनका सहयोग पुर्याउने विदेशी नागरिकहरूलाई नेपाली राजदूतावास मस्कटले गरेको सम्मानको प्रशंसा गर्दै आफ्नो नेपाल बसाईका साथै नेपालको विविध प्राकृतिक वातावरण, जीव तथा वनस्पति लगायत विविध पर्यटकीय गतिविधिको बारेमा संक्षिप्त भिडियो सहितको प्रस्तुति दिइन् ।
कार्यक्रममा प्रा श्री तुलसी दिवसले स्वर्गीय ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकोमा खुसी लागेको बताएका थिए । कविताको माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचार उनले व्यक्त गरेका थिए ।
कार्यक्रममा विमल ढकाल, समाजसेवी डा चित्रा नारायण, बेलायती यात्री मे ज रिचार्ड स्ट्रानफोर्ड, राजदूत रलेह सुलेमानी अल हादी, एन आर एन ए का प्रवक्ता डिबी क्षेत्री ओमानस्थित नेपाली समुदायका प्रतिनिधिहरू, नेपाली दूतावास ओमानका कर्मचारी लगायत करीब ५० जना सहभागी थिए ।