अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प सीमाक्षेत्र अवलोकनमा जाने
वासिङटन: अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशको सीमा भ्रमण गर्ने भएका छन् ।
दक्षिणी सीमा क्षेत्रमा उनी केही सातामै अवलोकनका लागि जाने जनाएका हुन् । साथै दक्षिणी सीमा क्षेत्रबाट आप्रवासीहरुको आगमनसँगै ट्रम्पले राष्ट्रपति जो बाइडेनको आलोचना समेत गर्दै सिमानामा जाने बताएका हुन् ।
सीमा क्षेत्रमा कडाइ गर्न नसकेको भन्दै ट्रम्पले बाइडेन प्रशासनको आलोचना समेत गरेका छन् । ट्रम्पले आगामी केही साताभित्रै सिमानामा जाने बताएका हुन् । तर यसबारे विस्तृतमा बताएका छैनन् ।
मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने बाचा सहित राष्ट्रपति पदमा पहिलो पटक २०१६ मा चुनावमा उठेका ट्रम्प आप्रवासीहरुप्रति अनुदार नेता मानिन्छन् । तर उनको विपरीत वर्तमान राष्ट्रपति बाइडेन भने आप्रवासीप्रति उदार देखिन्छन् । बाइडेनले ल्याएको आप्रवासी संरक्षण कार्यक्रमको ट्रम्पले आलोचना गर्दैआएका छन् ।
विदेशबाट लाखौँको संख्यामा विदेशीहरु अमेरिका प्रवेश गरिरहेको र जसले गर्दा देश नै ध्वंश हुने भन्दै ट्रम्पले सिमानामा जाने प्रतिक्रिया दिएका हुन् ।