अन्ततः आयो मेलम्ची

अन्ततः आयो मेलम्ची

काठमाडौं : मेलम्चीको पानी अन्ततः काठमाडौं उपत्यकामा उपभोक्ताका धारासम्मै आइपुगेको छ। काठमाडौंमा आइतबारदेखि ४ करोड लिटर पानी खानेपानी प्रणालीमा थप भएको छ। यससँगै वर्षौंदेखिको मेलम्ची सपना साकार भएको छ। अब १५ दिनभित्र मेलम्चीको १७ करोड लिटरै पानी वितरण गर्ने तयारी छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधित पानी आइतबार दिउँसो महांकाल चौरस्थित ट्यांकीबाट उपभोक्ताका घरमा वितरण गरिएको बताए। पहिलो दिन महांकाल, अनामनगर र बानेश्वरबाट पानी वितरण गरिएको छ। 

पानीट्यांकी भरिन चार घण्टा लाग्छ। ट्यांकी भरिएपछि राति नै उपभोक्ताका धारामा वितरण गरिने केयूकेएलले जनाएको छ। मीनभवन, बालाजु, महाराजगन्जका ट्यांकी राति भरिनेछन्। त्यसपछि पानी वितरण हुने प्रवक्ता राईले बताए। ‘अहिले ट्यांकी भर्ने काम भइरहेको छ’, उनले भने, ‘रातिसम्म अन्य क्षेत्रमा पनि मेलम्चीको पानी जानेछ।’

मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ। खुमलटालको नयाँ पानी ट्यांकीको आइतबारै परीक्षण गरिएको छ।

उनका अनुसार अनामनगरका पाँच सय घरमा नयाँ पाइपबाट पानी दिइएको छ। अनामनगरमा १ हजार ६ सय नयाँ धारा जडान गर्नुपर्नेछ। यहाँ बाँकी धारा जडानको काम धमाधम चलिरहेको छ। यहाँ परीक्षणका रूपमा नियमित पानी पठाउने केयूकेएलको तयारी छ। अन्य स्थानमा पुरानै पाइप प्रणालीबाट पानी वितरण गरिनेछ। केयूकेएलका अनुसार पुराना पोखरीमा पानी भरेर पुरानै पाइपलाइन र धाराहरूमा दिइएको छ। 

आयोजना कार्यान्वयन निर्देशनालयबाट बिछ्याइएका नयाँ पाइपलाइनबाट परीक्षण गर्दै लैजाने केयूकेएलको योजना छ। 

केयूकेएलले थोरै समय मात्रै भए पनि प्रत्येक दिन पानी दिने योजना बनाएको छ। ‘पानीको मात्रा बढ्दै गएपछि पानी दिन समय बढाउँदै लैजान्छौं’, राईले भने, ‘सिस्टममा जोडिएका सबै धारामा पानी पुर्‍याउँछौं।’

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले मेलम्चीको पानी केही समय केयूकेएलका पुराना पाइपलाइनबाटै वितरण गरिने बताए। सुरुङ परीक्षण गर्दै सिन्धुपाल्चोकबाट ल्याइएको पानी फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो।

उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा  मागको  एकतिहाइ पूरा हुन्छ। उपत्यकामा पूर्णरूपमा पानीको माग धान्न यांग्री र लार्केको ३४ करोड पानी ल्याउन गृहकार्य सुरु भइसकेको छ।

उपत्यकामा पानी वितरण गर्न केयूकेएलले १ हजार १ सय किलोमिटर पाइपलाइन निर्माण गरेको छ। त्यस्तै दुई सय किलोमिटर पाइपलाइनको काम पनि अघि बढेको छ। प्रत्येक घरमा चैतभित्रै पानी पुर्‍याउने गरी धारा जडान गरिएको छ। १ लाख १० हजार धारा जडान गर्नुपर्नेमा अधिकांश सम्पन्न भइसकेका छन्।

केयूकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी उद्घाटन गर्न चैत २० गते तय गरेको छ। उक्त दिन राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने तयारी रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.