मेलम्चीको महत्व
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भटराईले मेलम्चीको पानी काठमाडौं ल्याउने भनी २०४८ सालमा देखाएको सपना आइतबार पूरा भएको छ। योजना निर्माण हुन लामै समय लागे पनि उपत्यकामा सबैभन्दा ठूलो समस्या रहेको खानेपानी वितरण तत्कालका लागि सहज भएको छ। आइतबारदेखि आंशिक रूपमा वितरण सुरु भए पनि केही दिनभित्रै सबैका घरमा पानी पुग्ने पक्कापक्की भएको छ। यसले उपत्यकावासीको मुहारमा खुसी छाएको छ। विगतमा जेजस्ता ढिलासुस्ती र गल्ती भए पनि तत्कालका लागि पानी वितरण सुरु हुनु सकारात्मक काम हो। विगतका कमजोरी सच्याउँदै अबदेखि पानी वितरणलाई नियमित बनाउनेतर्फ सरकारी ध्यान केन्द्रित हुनुपर्छ।
सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो। पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर अहिले ६० लाखभन्दा बढीको बसोवास छ। अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ। लामो समयदेखि बहसमा रहेको र पटक–पटक भाका सार्दै भए पनि मेलम्ची सफल भएको छ। पिउने पानीको अभावमा काकाकूल बनेका राजधानीवासीलाई हर्षित बनाएको छ। संघीय राजधानी रहेको सहरमा खानेपानी अभावमा कष्टकर जीवन बिताउनुपर्ने अवस्था ढिलै भए पनि अन्त्य हुनु सुखद हो। कुनै प्राविधिक अवरोध नआएमा अब नियमित रूपमा उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनेछन्। मेलम्ची आयोजना सफल हुनु भनेको विकासको दृष्टिले मुलुकले ठूलो फट्को मार्नु हो।
उपत्यकामा दैनिक ३७ करोड लिटर खानेपानीको माग छ। मेलम्चीबाट मात्रै १७ करोड लिटर पानी दैनिक उपत्यका भित्रिनेछ। अन्य स्रोतबाट पनि दैनिक आठ करोड लिटरजति पानी संकलन हुने गरेको छ। हाल आपूर्ति भइरहेको भन्दा दोब्बर परिणाममा पानी भित्रिएपछि उपत्यकावासीमा खानेपानी समस्या टर्नेछ। तर जनसंख्या वृद्धिदर उच्च रहेकाले खानेपानी माग अझै बढ्न सक्ने भएकाले त्यसतर्फ सरोकारवालाले अध्ययन थालिहाल्नुपर्छ। मेलम्चीको पानीको पहुँच नपुग्ने राजधानीकै अन्य बस्तीमा देखिएको पिउने पानीको समस्या समाधानका लागि पनि छलफल हुनुपर्छ। मेलम्ची आयोजना सफल भएपछि सरकारले घोषणा गरेको राष्ट्रिय गौरवका अन्य आयोजनालाई पनि तोकिएको समयमै सम्पन्न गर्नुपर्ने दबाब पुग्छ। आयोजनाका ठेकेदार तथा यसमा संलग्न अन्य पक्षलाई पनि यसले तातो लगाउनेछ। यसले अन्ततः मुलुक र जनतालाई नै लाभ पुग्नेछ। सोमबार मात्रै शिलान्न्यास भएको मुलुकका विभिन्न भेगमा औद्योगिक क्षेत्र स्थापना प्रक्रियालाई ढिलासुस्ती नगरी सञ्चालन गरिनुपर्छ। मुलुकमा अब विकासको मुहान फुटाउनुपर्छ। सरकारले जनउत्तरदायी साबित गर्नुपर्छ।
राजनीतिक अन्योल र अस्थिरताबाट निरास बनेका जनतालाई विकास निर्माण क्षेत्रमा पछिल्ला दिनमा देखिएको यस्ता प्रगतिले थोरै भए पनि आशा जगाएको छ। लामो समयदेखि अलपत्र औद्योगिक क्षेत्र स्थापना प्रक्रिया पनि सुरु भएको छ। सबै प्रदेशमा एकैपटक यो कार्यक्रम अभियानका रूपमा चलेको छ। विकास निर्माणका क्रममा देखिने भ्रष्टाचार, अनियमितता तथा कछुवा शैलीबाट दिक्क भएका नागरिकलाई यस्ता गतिविधिले खुसी बनाउनु स्वाभाविक हो। यही शैलीमा विकास निर्माण कार्य अघि बढ्यो भने सरकारले भन्दै आएको समृद्ध नेपाल सुखी नेपालीको नाराले समेत मूर्तरूप पाउनेछ। यसको सुरुवात मेलम्चीको पानीले गरेको छ।