भ्रम र यथार्थ

भ्रम र यथार्थ

देशमा सबैजसो खेती ओइलाएको छ। तर झुटको खेती मौलाएको छ। चौका दाउ हान्न सबै सिपालु तर बजार भाउ ठीक ठाउँमा राख्न कोही तयार छैनन्। कोरोना लकडाउनको वार्षिकीसँगै दोस्रो लहर सुरु भएको छ। अब फेरि एकपटक देश चुस्नेहरू सल्बलाउने छन्। राजनीतिमा धेरै झुटको फसल चलेको छ तर कृषिप्रधान भनिएको देशमा कृषि फसलले स्थान पाउन सकेको छैन। दाउपेच, घोचपेचले श्रीपेचको ठाउँ उछिनेको छ।

झुटको खेती नगरी सत्य, इमानदारी, निष्ठा र प्रणालीले राज्य सन्चालन गर्छु भन्दै उच्च ओहोदामा पुग्नेहरू विदेशतिर भने शपथ खाँदा कोही बाइबल समात्छन्, कसैले कुरान। तर हामीकहाँ हाम्रा वेद, उपनिषद्, रामायण, महाभारत, गीता समातेर शपथ खाने कोही भएनन्। संसारलाई अनुशासन र नैतिक अनि निष्ठा र चरित्र सिकाउने वेदको सिर्जना भएको देशमा सत्यको सट्टा झुटको खेती वृद्धि हुँदा संसार पनि अचम्मित भएको छ। त्यसैले त नेताजीहरू आफैं भन्छन्– हाम्रो देश देखेर संसारै अचम्मित भइसकेको छ।

देशमा पशुपतिनाथको मन्दिर छ। मौका पाए लाख बत्ती र सुनको जलहरी चढाउन पनि हाम्रा नेताहरू पछि पर्दैनन्। कृषिभूमि गाईको अनादर गर्ने पनि हामी नै भएका छौं। हिजो गौ अस्माकं माता भन्ने हामी हाम्रा गाई बाच्छा नै तिरस्कृत भएका छन् अहिले। गाईका अंगअंगमा सबै देवता इन्द्र, वरुण, अग्नि, यम, धर्म, काल, नाग, कुबेर सबै बस्ने भनी शास्त्रहरूले भनेका छन् र गाईको दूध अमृतसमान हुने, खुरदेखि पिठ्युँ, ढाड, कम्मर, सिङ, पुच्छर सबै अंगमा देवताको वास हुने भनिएको छ। गाईका सबै अंग पवित्र केवल मुख मात्रै अपवित्र हो। त्यो पनि शिव भनौं, उनै पशुपति महादेवकै श्रापका कारण, गाईले झुट बोलेकै कारण। पशुपतिको देश प्रसंग शिवरात्रिको पनि छ।

हिजोआज भने सबैतिर झुटको खेती मनग्गे मौलाएको छ। दिनमा दसपटक रातमा सयपटक झुटो बोलिरहेको मात्रै होइन; जताततै अविश्वास र हानाथाप छ। अनि त न सुशासन, न पारदर्शिता, न उपकार, न सेवा, कतै भेटिन्न।

शिवरात्रि मनाउने सन्दर्भमा कसैले शिवको जन्म दिन भने, कसैले धर्ती अवतरित दिन भने, कसैले उनको वैवाहिक जीवन आरम्भ भएको भने, वास्तवमा त्यो केही थिएन। थियो केवल सर्जक ब्रह्मा र पालक विष्णुले पहिलो पूजा गरेको दिन। चोट नलागी आत्था कसैले भन्दैन। समस्या नपरी देवतालाई कसले गुहार्छ। यस्तै समस्या एकपटक स्वयं सृष्टिकर्ता ब्रह्मा र पालनकर्ता विष्णुलाई पनि परेको थियो। घमण्डीको घमण्ड चूर्ण गर्न विज्ञानले सकेको छैन। आध्यात्मिक विज्ञानमा नपसी यथार्थ बुझिन्न।

एकपटक सर्जक ब्रह्मालाई घमण्ड चढेछ म ठूलो भन्ने। विष्णु पनि के कम भन्दै म ठूलो भन्न थालेछन्। उनले भनेछन्, ‘हे ब्रह्मा, तिमीले त विश्वको सिर्जना पो गरेको त।  सिर्जना कसरी ठूलो हुन्छ, जब पालना नै भएन भने। आमाले बच्चा जन्माउँछिन् तर खाना नपाए त्यो बाँचिरहन्छ र ?’ तर्क दुवैको बलियो हो। दुवैको मुद्दाको छिनोफानो गर्ने काम शिवको हुन गएछ।

हामी ईश्वरलाई सर्जक, जेनरेटर अर्थात् जी भन्छौं, पालनकर्ता विष्णुलाई सञ्चालक अर्थात् ओ ओपरेटर भन्छौं अर्का शक्ति शिवलाई संहारकर्ता डी अर्थात् डिस्ट्रोयर भन्छौं। जीओडी गड हुन्छ अर्थात् ईश्वर। यहाँ तीन किसिमको काम हुन्छ। राज्यका तीन अंग विधायिकी, कार्यपालिका र न्यायिक अंग भने झैं। तीन अंग स्वतन्त्र हुन्छन्, एकले अर्काको हस्तक्षेप हुन्न तर झुट मूठ भए न्यायको तराजुले अदालतले हेर्छ।

ब्रह्मा र विष्णुको मुद्दा रुद्रकहाँ पुग्दा उहाँले यामानको अग्नि स्तम्भ शिवलिंग खडा गरिदिएर भन्नुभयो। यसको फेद भाग र शिर भाग जसले पहिले पत्ता लगाउँछ उही ठूलो हुनेछ। ब्रह्मा यो जाबो लिंगको टुप्पो केहीबेरमै पत्तो लगाउँछु भन्दै लिंगको टुप्पो चढे। विष्णुले शिवलिंगको फेद पत्तो लाउने निधो गरी पातालतिर गए। समय धेर्र बित्यो दुवैले शिर र फेद पत्तो लगाउन नसकी थाकेर अघिकै स्थानमा आए। घमन्ड चूर भयो।

विष्णु सात्विक थिए। झुट बोलेनन्। आफूले हार खाएको स्वीकारे, पछुतो गरे। गल्ती स्वीकार्नेलाई या त माफी हुन्छ या सजाय। भए पनि कम अक्षम्य अपराध भएको रहेनछ भने। तर ब्रह्माले त्यसो गरेनन्। उनले टुप्पो पत्तो लागेको भन्दै बहानाबाजी मात्रै गरेनन्, साक्षी पनि ल्याए। एउटा मात्रै होइन, दुइटा साक्षी प्रमाण जुटाए। कामधेनु गाई जसलाई सबैले विश्वास गरेका थिए, गाई पवित्र भनेर।

बह्माको इशाराअनुसार गाईले बकपत्र पेस गरिन्। शिवलिंगका साथ मलाई पनि ब्रह्माका साथ लगिएको थियो। जब शिरभागमा पुगियो मेरो थुन रसायो। दूधको धाराबाट शिवलिंगको सेवा गरें मैले। यो मेरा लागि अहोभाग्य हो। गाईको पनि सिर्जना गर्ने ब्रह्माले आफू उनको पितामह भएकाले यसो गर्न भनेका थिए। प्रमाण एक्लैले नहुन सक्छ। ब्रह्माको इशारामा एक विशेष पुष्प जसलाई धतुर पुष्प भनिन्छ, उसले थपिदियो, ‘हो, शिवलिंगको शिरमा म अर्पित थिएँ। ब्रह्माले मलाई प्रयोग गरी पूmल अर्पण गर्नुभएको थियो’। झुटो कुरो सत्य बनाउन सक्ने अवस्था थिएन।

हिजोआजको सीसी क्यामेराभन्दा कम थिएन शिवका आँखा। उहाँले भन्नुभयो, ‘आज विशेष दिन भयो मेरो लिंगमा दुवैले पूजा गर्नोस् तपाईंहरूले, रातको समय छ आजैदेखि आजको दिनलाई शिवरात्रिको नामले संसारभरि कहलिने छ। ब्रह्माजी तपाईंलाई आजैदेखि सृष्टिको ठूलो र भरपर्दो जिम्मेवारी सुम्पिएको छु।’ विष्णुलाई भनियो पालनकर्ता। तपाईंले सारा संसारको पालनाको जिम्मा लिनु हुनेछ। संहार गर्ने जिम्मा त मेरै छ। तर ब्रह्माजीसँग म सन्तोष छैन। ‘तिमी सबैका पितामह भए पनि झुटो बोल्यौ। तिम्रो संसारमा पूजाका लागि मन्दिर बन्ने छैन, पूजा गर्नैपर्ने भए तिम्रो शरीर कुशको बनाएर मात्रै पूजा हुनेछ।’ साँच्चै आराध्य देव पशुपतिनाथको मन्दिरमा पनि ब्रह्माको शिरभाग मात्रै छ, पूरा शरीर छैन।

कामधेनु गाईलाई संकेत गर्दै शिवले भन्नुभयो, ‘तिम्रो शरीरका सबै अंग पवित्र छन् तर मुख पवित्र नहोस्, जहाँ देखे पनि तिमीलाई मानिसको विष्ठा खान मन लागोस्।’ धत्तुर पुष्पलाई संकेत गदै शिवले भन्नुभयो, ‘तिम्रो पूmल देवताहरूले स्वीकार नगरून्।’ आजसम्म पनि हामी देख्छौं– गाईले विष्ठा खाएकै छ। सबै अंगमा ढोगे पनि उनको मुखमा ढोगिन्न र धत्तुर पुष्प देतालाई चढाइन्न। दैवीकानुन यति बलियो थियो, एकपटक झुट बोलेकै कारण सदासर्वदा खोटो भएको। झुटो बोल्दाको परिणाम कस्तो भयो।

हिजोआज भने सबैतिर झुटको खेती मनग्गे मौलाएको छ। दिनमा दसपटक रातमा सयपटक झुटो बोलिरहेको मात्रै होइन; जताततै अविश्वास र हानाथाप छ। अनि त न सुशासन, न पारदर्शिता, न उपकार, न सेवा, कतै भेटिन्न। मानवनिर्मित कानुन पुस्तकालयमा हुन्छन् त्यो आफैं बोल्दैन, रक्षक नै भक्षक हुँदा चुपचाप सहेर बस्नुपरेको अवस्था छ। राजनीति सबैको माउ नीति त्यो आफैं झुटको खेती गर्न लागेपछि त्यसको अनुसरण गर्ने अन्य नीति व्यापार, सेवा, समाज, धर्म, संस्कार, झुट भयो भनेर अचम्म मान्नुपर्ने भएन। बिहान एउटा निर्णय हुन्छ देशमा, बेलुका अर्कै। मसी सुक्न नपाउँदै त्यसैमा अर्को निर्णय भइसक्छ। दिउँसै बत्ती बाल्नुपर्ने अवस्था सिर्जना भइसक्छ। अगुवाकै यो हालत भएपछि अरूले के सिक्ने ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.