थाइल्यान्डतर्फ जाँदै म्यानमारी
यांगुन : म्यानमारमा सेनाको हवाई हमलाबाट जोगिन हजारौं नागरिक थाइल्यान्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका छन्।
करेन समुदायको मुक्तिका लागि म्यानमारमा वर्षौंदेखि संघर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्यान्डको सीमातर्फ पलायन भएका हुन्। करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेलाई सीमा क्षेत्रमा रोकेको थाई प्रशासनले सोमबार जनाएको छ।
म्यानमारको सेनाले आइतबार राति तीनवटा हवाई आक्रमण गरेपछि गाउँले घर छोडी जीवन रक्षाका लागि थाइल्यान्ड सीमा क्षेत्रमा पुगेका फ्रि बर्मा रेन्जर्सले बताएको छ। म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पुर्याउने यो संस्थाका अनुसार आक्रमणबाट कसैको हताहत भएको खबर भने आएको छैन।
म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन्। यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो। सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू बाहिर निस्केपछि घातक प्रहार गरिएको अधिकारीहरूले दाबी गरेका छन्।