एक दिनको मूल्य
राजा आफ्ना मन्त्रीसहित जंगलमा सिकार खेल्न निस्किए। सिकारकै क्रममा समय बितेको पत्तो भएन। यसैबीच ठूलो पानी पर्यो। जंगलको बीचमा एउटी वृद्ध महिलाको कुटी रहेछ। राजा र मन्त्री दुवै कुटीभित्र छिरेर ओत लागे। महिलाले दुइटा पिर्का ल्याएर बस्नका लागि अनुरोध गरिन्। मन्त्री एउटा पिर्का समातेर बसे तर राजा भने बसेनन्। राजा बेचैन हुँदै यताउता हेर्न थाले। असहज महसुस गर्न थाले। ती वृद्ध महिलालाई यस्तो लाग्यो, आसन सानो र नराम्रो भएकाले बस्न मानेनन्। ती राजा हुन् भन्ने पनि ती महिलालाई थाहा थिएन। तैपनि पानी परेको साँझ, कुटीभित्र छिरेका पाहुना एउटा गलैंचा ल्याएर उनले राजालाई बस्न अनुरोध गरिन्। तैपनि राजा बसेनन्।
महिला अचम्म परिन्। मन्त्रीले महिलालाई असहज नहुन अनुरोध गर्दै भने– उहाँ राजा हुनुहुन्छ, सिंहासनबाहेक अरू कुनै पनि आसनमा बस्नु हुन्न। राजाले आसन खोजे या राजाको मनले खोज्यो ? राजाले त्यो एक दिनको महत्व र मूल्य बुझे कि बुझेनन् ? सधैं सिंहासनमा विराजमान हुने राजाले त्यो क्षण एक गरिब महिलाको संवेदनासँग आफूलाई साक्षात्कार गर्न र संवेदना जगाउन बिर्से। त्यो समय उनको खेर गयो। त्यो अस्तित्वगत परीक्षामा उनी सामेल हुन सकेनन् उनको मनको अस्थिरताका कारण। मनले त सधैं त्यस्तै कुरा खोज्छ; जुन पाएपछि अरू चाहना नहोस् तर त्यो सम्भव छैन।
संसारका सानातिना कुरामा हाम्रो मन अडिँदैन। सानातिना कुरा हाम्रो मनले खोजेको होइन। तर आन्तरिक खोज र इच्छामा मन जान भ्याएको छैन मानिसको त्यसैले उसको पहिलो खुसीको खोज हुन्छ आफ्नो प्रेमी, प्रेमिका अनि परिवारसँग। उसलाई थाहा छ– प्रेमी या प्रेमिका खुसी भएको क्षण मेरो जीवनको खुसी त्यसमै छ। आफ्नो परिवारले दिएको सुख र सन्तोष अनि आफूले परिवारलाई दिने सुखमै त खुसी छिपेको छ। एउटा सुविधायुक्त घर र सवारीसाधन होस्। बैंकमा आफूले सुरक्षित महसुस हुने गरी बैंक ब्यालेन्स होस्। जीवनको केही भर छैन। यो कति दिनको हो। त्यसैले त संग्रह पनि गर्नु नै छ।
विगतका केही असफलता र चिन्ताले सताउँछन् किनकि भविष्य सुरक्षित राख्नु छ। जीवनमा कुनै प्रतिकूलता नआओस्। सहजता र खुसी आफूबाट नगुमोस्। तर यो खुसीको स्रोत हो के ? यसको सीमा केले मापन गर्ने ? जीवनका सुन्दर सपना देखेर हिजो राति ओछ्यानमा गएकाहरू आज बिहान हुँदा सपनासँगै सधैंका लागि चीर निद्रामा पुगिसकेका हुन्छन्। त्यो सुन्दा लाग्छ– आजको एक दिन मैले त पाएँ नि ! यो एक दिनको मूल्य मैले यसरी चुकाउने छु कि मेरो जीवनको समय यही एक दिन हो। त्यसैले सबै कुरा बिर्सेर आफ्नो स्वभावमा बाँच्छु म ! आजको एक दिनलाई विशेष बनाउनेछु म। यो दिन अस्तित्वले मेरा लागि उपहारस्वरूप सुम्पेको छ। बरू हिजोका कमजोरी र गल्तीलाई सच्याउने छु। आजको दिन म, म भएर बाँच्ने छु; जहाँ कुनै लोभलालच छैन; दुःखको महसुस छैन; प्रसन्नता, प्रफुल्लता अनि करूणा प्रेमरूपी सागर भएर बगेको छ। यो एक दिनको जीवन मूल्य थाहा पाउन केही आयाम त बुझ्नैपर्ने हुन्छ।
धन्यवाद प्रकट गर्ने कला : बिहान उठ्नेबित्तिकै हाम्रो आँखा पुग्छ हाम्रा उपकरण मोबाइल, ल्यापटप, कम्प्युटर, घडी र टीभीमा। तिनलाई बेट्री रिचार्ज गर्नमा। के उठ्नेबित्तिकै आफूलाई सकारात्मक ऊर्जा र भावले रिचार्ज गर्ने प्रयास गरेका छौं त ? आजको दिनभर म सकारात्मक हुने प्रयास गर्नेछु। मेरो सम्बन्धलाई सुमधुर बनाउने कोसिस गर्नेछु। आफ्नो कार्य क्षेत्रमा शतप्रतिशत योगदान दिने प्रयास गर्नेछु। कसैलाई कुनै आपत परेमा मैले सकेको उपकार र सहयोग गर्नेछु। यो भाव जागृत हुनु भनेको आफैंलाई ऊर्जावान् बनाउनु हो, सकारात्मक शक्तिले विकास गर्नु हो। अस्तित्वप्रति धन्यवादको कला विकसित गर्नु हो। हाम्रो विचार सकारात्मकतातिर जानु, हाम्रो ध्यान सकारात्मक कर्म र व्यक्तितिर जानु भनेको नकारात्मकतालाई परास्त गर्नु हो। विचार सकारात्मक हुनु नै जीवनशैली सहज र सरस हुनु हो। परिणाम एकैचोटि हात लाग्दैन। हाम्रो सोच र कर्म गर्ने कलाले यसलाई निर्धारण गर्छ।
विश्वास : विश्वासको परिभाषा र अपेक्षा अरूबाट मात्रै हुन्छ हामीलाई। अरूले धोका नदेओस्, अरूले विश्वासघात नगरोस्। विश्वास अरूलाई गर्नु र अरूबाट पाउने अपेक्षाभन्दा पहिले आफैंलाई गर्न सक्नुपर्छ। आफूलाई गर्ने विश्वास भनेको म नकारात्मक कर्मप्रति आकर्षित हुने छैन। म अनावश्यक कर्म र सम्बन्धमा समय र ऊर्जा खर्चिने छैन। स्वबोध, स्वसम्मान र स्वनिर्णयले बहुजन हिताय, बहुजन सुखायको कर्ममा आफूलाई प्रेरित गर्नेछु। कर्म गर्नुअगाडि त्यसको परिणाम सही या गलत के होला एकपटक सोच्नेछु। मेरो कर्मको परिणाम मेरो परिवार र आफन्तलाई पश्चात्तापमा नलैजाओस्। त्यसप्रति आफैंलाई विश्वास हुने गरी कर्ममा प्रेरित हुनेछु। जीवनमा प्रत्येक दिन म आफैंसँग विश्वस्त हुनेछु भन्ने आत्मविश्वासले जीवनको मूल्य र बाँच्नुको अनि कर्म गर्नुको उद्देश्यलाई फराकिलो बनाइदिन्छ। जीवनलाई कष्टकर र साँघुरो घेराबाट छुटाउन मद्दत गर्छ।
सानो कुराले खुसी लिने र दिने : ठूलो सफलता र ठूलो योगदान गरेर जीवनमा सम्मान र पुरस्कार पाउने चाहना नराम्रो पटक्कै होइन। तर यस्ता ठूला सोचले नजिक भएका आफ्ना सानातिना खुसी छुट्दै जान्छन्। बिहान उठेर आफ्नो ओछ्यान आफैं मिलाउने र भान्छामा गएर एक कप चिया बनाएर आफ्नालाई खुवाउनु यो आश्चर्यजनक सहयोगमा कति प्रेम, मुस्कान र खुसी छिपेको हुन्छ भन्ने कुरा कुनै अंकगणितले हिसाब गर्नै भ्याउँदैन। विद्वताको परिचय दिने क्रममा आफ्नै परिवार आफ्नो प्रेम, संवेदना र समयबाट टाढा पुगिसकेका हुन्छन्। दिनभर कर्म क्षेत्रमा खुसी चाहने हो भने बिहान घरमा अफ्नासँग मुस्कान र प्रेम साट्ने सानो कर्म गर्न जान्नुपर्छ। ताकि त्यसको यादले दिउँसो मुहारमा मुस्कान स्मरण गराउन सकोस्।
हाम्रो खुसी र सफलतालाई ठूलो चिजसँग तुलना गर्ने संस्कार कहाँबाट कसरी सृजना भयो ? खुसीको स्रोत कहाँ छ त्यसलाई थाहा पाउने कोसिस गर्नेले दैनिक जीवनलाई उत्सवपूर्ण र साक्षीपूर्ण बनाउन सक्छ। आजका मानिसलाई कर्म गर्न, रोजगार, व्यापार, राजनीति सिकाउनु पर्दैन। यी कर्ममा लाग्नेले जीवनको ८० प्रतिशत समय त दिइनै हाल्छन्। तर खुसी, खुसी त्यो बाँकी रहेको २० प्रतिशत कर्म र योगदानबाट प्राप्त हुन्छ। कर्म गरेपछि परिणाम आइहाल्छ तर परिणाम सुखद आउँछ जरुरी छैन। सुखद परिणाम ल्याउन चाहनेले सानो कर्मबाट आउने खुसीको स्रोत भुल्नु हुँदैन। बाँकी त जीवनमा जेजे हात लाग्छन्, ती सबै अस्तित्वको कृपा हो।
स्थिरता : जीवनमा एक दिनको मूल्य बुझ्नका लागि स्थिरतालाई बुझ्नुपर्ने हुन्छ। हुन त विकासको भाषाले स्थिर भएर कसरी विकास होला भन्ने प्रश्न उब्जाउन सक्छ। अरू त अरू राष्ट्रमा राजनीतिक स्थिरता भएन भन्ने सवाल चारैतिरबाट उठिरहेको हुन्छ। यसको अर्थ हो– स्थिर सोच, समझ र विवेकपूर्ण सोच अनि त्यसअनुसारको कर्म। अस्थिर मनले बनाएका योजना दीर्घकालीन नहुन सक्छन्। स्वार्थपूर्ण बनेका सम्बन्ध र विकास योजना अस्थिर हुन सक्छन्। अस्थिरताले जन्माएको शक्ति नकारात्मक र अराजक हुन सक्छ। त्यसैले संयम, सरल, सरस र धीरतापूर्ण स्वभावको विकासले स्थिरता कायम राख्न मद्दत गर्छ।
आन्तरिक ऊर्जा, आन्तरिक शान्ति र प्रफुल्लताको विकास नै स्थिर भावका परिणाम हुन्। संसार आफ्नो रफ्तारमा कुदेकै छ। हेर, रोकिऊ, पर्ख र जाऊको नियमलाई जीवनमा पनि उतार्नुपर्छ। मनको अस्थिरता र चञ्चलताको परिणाम के सम्म हुन्छ, हामी सबैले जीवनमा धेरै अनुभव हासिल गरिसकेको हुनुपर्छ। त्यसैले ध्यान, साधनाद्वारा आफ्नो मनलाई स्थिर बनाउने प्रयास गर्दै प्रत्येक क्षण आफू छु र हुनुको अनुभूतिलाई कायम राख्न जानियो भने जीवन आहा बन्छ।