संस्कृतिमा विकृति
धर्म, संस्कृति र इतिहास हरेक मुलुकका अभिन्न निधि हुन्। कुनै मुलुक विज्ञान र प्रविधिको विकासका कारण विश्वप्रसिद्ध हुन्छन् भने कुनै पनि त्यहाँको संस्कारका कारण। नेपालको चिनारी सूचना, प्रविधि र विज्ञानको क्षेत्रमा भएका नवीनतम अविष्कारले भन्दा यहाँको धर्म, संस्कृति, भाषा र जातिमा भएका विविधताका कारण विश्वप्रसिद्ध छ। तर यहाँ संस्कृतिको जगेर्ना गर्ने नाममा विकृति छिर्न थालेको छ। कतिपय पर्वलाई आपराधिक गतिविधि गर्ने मौकाको रूपमा प्रयोग गर्नेको जमात बढिरहेको छ। यस्ता गतिविधिलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने धर्म, संस्कार र पर्वका नाममा नेपालले जुन पहिचान पाएको छ, त्यो गुम्ने निश्चित छ। यसले तत्काल सीधा असर नगरे पनि मन्द विषको गतिमा पुस्तौंपुस्तासम्म पिरोल्न सक्छ। यसतर्फ सचेत हुनु जरुरी छ।
होली पर्वको अवसर पारेर रमाइलो गरिरहेको बेला गत आइतबार काठमाडौं शंकरापुरको एक विद्यालयमा केही बालबालिकामाथि एसिड दलियो। एकअर्कामा परिचित साथीभाइबीच एसिड दलिएको भएकाले यो कसैलाई नियतवश दलिएको भने होइन। तर यो घटनाबाट एसिडजस्तो कडा तरल पदार्थ केटाकेटीले सहजै भेट्ने ठाउँमा कसरी राखियो र यसरी राख्न पाइन्छ कि पाइँदैन भन्ने बहस सुरु भएको छ। होलीको रङमा पानी मिसाइएको भन्दै बालबालिकाले जर्किनमा रहेको एसिड घोलेका थिए र एकआपसमा दलेका थिए। अनुहारमा दलेर एकछिनपछि पोल्न थालेपछि मात्रै एसिड भन्ने पत्ता लागेको थियो। घटनाबारे तत्काल जानकारी पाइएकाले उनीहरूलाई तुरुन्तै अस्पताल लगियो, जसले गर्दा उनीहरूको अनुहारमा सामान्यबाहेक गहिरो घाउ हुन पाएन। विद्यालयको क्यान्टिनमा एसिड भेटिएको हुनाले भने घटना थप रहस्यमयी बनेको छ। एसिड प्रहारका घटना बढेपछि खुलमखुल्ला बिक्री वितरणमा सरकारले कडाइ गरे पनि कसरी क्यान्टिनभित्र केटाकेटीले सहजै भेट्ने ठाउँमा एसिड पुग्यो भन्ने विषयमा अध्ययन हुनुपर्छ। यो घटनालाई लापरवाही मानेर आउने दिनमा दोहोरिन दिनु हुँदैन। साथै दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्छ।
गत असोजमा सरकारले एसिड आक्रमण गर्नेविरुद्ध कडा अध्यादेश ल्याएको थियो। विशेषगरी महिलामाथि एसिड प्रहारको घटना वृद्धि भएपछि यस्तो कानुन ल्याइएको हो। तर कडा कानुनी प्रावधान हुँदाहुँदै लापरवाहीका घटनामा न्यूनीकरण नहुनु दुःखद् हो। अध्यादेशमा एसिडको खुला बिक्रीवितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिलाउनेलगायत व्यवस्था छ। एसिड खरिद र प्रयोगकर्ताले किन्नुको उद्देश्य खुलाउनुपर्ने, प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने, सरकारले जारी गरेको परिचयपत्र देखाउनुपर्ने, सिल गरिएको र लेबल भएको बोतलमा मात्रै बिक्री गरिनुपर्नेलगायत व्यवस्था छन्। तर स्कुलभित्रको क्यान्टिनमा खुल्ला ठाउँमा अलपत्र अवस्थामा प्राणघातक पदार्थ भेटिनुले उक्त अध्यादेशकै धज्जी उडाएको छ।
एसिडको दुरुपयोग रोक्न र आपराधिक घटनामा संलग्नलाई कडा कारबाही गरेर भविष्यमा यस्ता घटना नदोहोरिऊन् भनेर नयाँ कानुन ल्याइएको हो। तर यी व्यवस्थाबारे जनस्तरसम्म जानकारी हुन नसक्दा यस्ता घटना वृद्धि भइरहेका छन्। स्थानीय सरकार, नागरिक समाज र यस क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाले संयुक्त रूपमा एसिडको प्रयोगका सर्त र कानुनी प्रावधानबारे सर्वसाधारणलाई जानकारी गराउनुपर्छ। एसिड प्रयोगमा लापरवाही गरियो भने यस्तै पर्वको बहानामा ठूला घटना नहोला भन्न सकिँदैन। यसतर्फ सरकारले विशेष चासो दिनुपर्छ।