बालिका जोगाऔं
बालबालिका समाजमा सामान्य लोभ मात्रै देखाइयो भने छिटै र सजिलै फकाउन सकिने समूहमा पर्छन्। एउटै चकलेटले पनि खुसी पार्न सकिने यो समूहलाई देशविदेश घुमाइदिने, मिठो खान दिने र राम्रो लगाइदिने आश्वासन महत्वपूर्ण अस्त्र बन्न सक्छ। तर यस्तै प्रलोभनको बहानामा बालबालिका दुरुपयोगका घटनामा वृद्धि भइरहेको छ। यस्ता घटनाले बालबालिकाको भविष्य बर्बाद बनाइरहेको छ। बालबालिकाको दुरुपयोग हुनु भनेको मुलुककै भविष्य संकटतर्फ धकेलिनु हो। यो यथार्थ मनन गरेर बालबालिकामाथि हुने दुरुपयोग तथा तस्करीका घटना रोक्न साझा पहल गर्नुपर्छ। यो अभियानमा सरकारी, गैरसरकारी संस्था तथा नागरिक समाजले समेत समन्वय गरेर सामूहिक अभियान सञ्चालन गर्नुपर्छ।
केही दिनअघि महोत्तरीका सातजना बालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएको घटनाले पनि बालिकाको दुरुपयोग बढिरहेको पुष्टि हुन्छ। घाँस काट्न गएका बालिकाहरू एकाएक भारतमा भेटिनुले बालिकाको तस्करी बढेको मात्रै देखाउँदैन; खुला सिमाना, फितलो सुरक्षा संयन्त्र आदिको प्रभावकारितामाथि पनि प्रश्न खडा भएको छ। तस्करी तथा विभिन्न बहानामा हराइएका बालिकालाई समाजमा निकृष्ट कामका लागि पनि खटाउने गरिएको छ। कतिपय बालिकालाई देह व्यापारमा लगाउने गरिएको छ। आपराधिक घटनामा पनि बालिकाको प्रयोग बढ्दो छ। कतिपय घटनामा त नरबलिका लागिसमेत बालिका प्रयोग गर्ने गरिएको र यस्तो कार्यमा प्रयोग गर्न लगिएको थाहा पाउनेबित्तिकै रोकिएका उदाहरण पनि प्रशस्तै छन्। धर्म सन्तानका नाममा पनि बालिका तस्करी हुने गरेको छ। यस्तो काममा लागेर करोडौं रकम असुल्ने गिरोह पनि सक्रिय छन्। यस्ता गिरोहको पहिचान भए पनि कडा कारबाही हुन सकेको छैन। उच्च तहको राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गरेर कारबाहीबाट उन्मुक्ति हुन खोज्ने समूह पनि सक्रिय छन्। दोषीलाई कानुनअनुसार कारबाही नहुँदा यस्ता गिरोह झन हौसिने गरेका छन्।
बालिका मात्रै होइन; नेपाल मानव तस्करीकै लागि पनि सहज मुलुकमा पर्छ। केही वर्ष अघिसम्म नेपालबाट सीमापारि भारतमा घरेलु कामदारका रूपमा जानेहरू श्रम र तीमध्ये केही यौन शोषणको सिकार हुने गरे पनि उनीहरूको भौतिक सुरक्षा त्यति चिन्ताको विषय बनेको थिएन। त्यससँगै भारतीय ‘यौन बजार’ मा नेपाली बालिका तथा युवतीको बेचबिखन र त्यो कारोबारमा नेपाली ‘दलाल’ हरूको संलग्नता कानुन र राज्यका विविध संयन्त्रको सक्रियताबाट निरुत्साहित हुँदै आए पनि नयाँ रूपमा मानव तस्करी मौलाएको छ। सार्कले मानव तस्करीविरुद्धको सहयोग सञ्जाललाई सक्रिय बनाउने निर्णय गरेपछि सम्भवतः ‘यौन बजार’ मा नेपाली महिलाको उपस्थितिमा न्यूनता आएको छ। तर सार्क मुलुकहरूलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर त्यहाँभन्दा बाहिर नेपालीलाई पुर्याउने प्रवृत्ति तथा घटनामा भने वृद्धि भइरहेको छ। खासगरी २०७२ सालको विनाशकारी भूकम्प, हाल विश्वलाई नै सताइरहेको कोरोनालगायतका समस्याले धेरैको भविष्य आर्थिक र सामाजिक हिसाबले अनिश्चिततामा धकेलिदिएपछि पनि यस्ता घटनामा वृद्धि भएको देखिन्छ।
आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको हो। उनीहरूका गाँस, वास र कपासको सुनिश्चितता नहुँदासम्म यस्ता घटना न्यूनीकरण गर्न सकिन्न। यी सबै तथ्यमाथि गम्भीर अध्ययन गरेर सरकारले बालिका सुरक्षाका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ।