‘प्रजातन्त्र के हो ? बर्मामा रहेका नेपालीलाई सोध्नू’

‘प्रजातन्त्र के हो ? बर्मामा रहेका नेपालीलाई सोध्नू’

ललितपुर : बर्मा (म्यानमार) मा जारी सैनिक शासकहरुको नरसंहारको विरोधमा शुक्रबार ललितपुरमा विरोध प्रदर्शन गरिएको छ। 

नेपाल मानव अधिकार संगठन, प्रजातान्त्रिक विचार समाज नेपाल र न्यायका लागि मानव अधिकार सञ्जालले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि उक्त प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी मानव अधिकारकर्मीहरुले म्यानमारमा जारी सैनिक दमन र मानव अधिकार उल्लंघनको अन्त्य गर्न माग गरेका छन्।

शान्तिपूर्ण विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल मानव अधिकार संगठनका पूर्वमहासचिव प्रा. कपिल श्रेष्ठले बर्मामा जारी जनताको हत्या तत्काल बन्द गर्न र मानव अधिकारको हनन तथा उल्लंघनको अन्त्य गर्न माग गरे।

मानव अधिकार तथा मानवियताको रक्षाको लागि बर्माको सैनिक शासकहरुलाई युद्ध अपराधको मुद्दामा अन्तर्राष्ट्रिय अदालतमा उपस्थित गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो।

‘जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले कुमार्फत अहिलेको २१ औं शताब्दीमा पनि कसैले नसोचेको नागरिकको नृशंस हत्याको श्रृंखला मच्चाएको छ’, प्रा. श्रेष्ठले भने, ‘शान्तिपूर्ण विरोधमा उत्रिएका जनताको गोली हानी हत्या गरिएको छ। नौ महिनाको बच्चाको आँखामा समेत गोली हानिएको छ। यो कस्तो अमानवीयता हो ? यो प्रजातन्त्रविरोधी अपराधमात्रै होइन मानवताविरोधी अपराधसमेत हो।’

प्रजातान्त्रिक विचार समाज नेपालका उपाध्यक्ष कुलचन्द्र वाग्लेले बर्मामा नृशंस हत्याहिंसा र नरसंहार हुँदा पनि मानव अधिकारलाई सर्वोपरि राख्ने राज्य, सरकार र संस्थाहरु मौन रहेको भन्दै आपत्ति जनाए। उनले प्रजातन्त्र के हो र स्वतन्त्रताको मूल्य के हो बर्मामा रहेका नेपालीलाई सोध्न आह्वान गरे।

‘नेपालमा पनि प्रजातन्त्र छाडावाद र हुल्लडवाद भएकोले तानाशाह ल्याउन पर्छ र निरंकुश राजा ल्याउन पर्छ भन्ने जमात बढेको छ’, वाग्लेले भने, ‘यसो हो भने तानाशाह र निरंकुश शासन कस्तो हुन्छ भन्नेबारे अहिले बर्मामा बस्ने नेपालीहरुलाई सोधे हुन्छ, प्रजातन्त्र के हो ? स्वतन्त्रताको मूल्य के हो ? जीवनको मूल्य के हो ?’

कार्यक्रममा नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्य, पूर्वअध्यक्ष इन्द्रप्रसाद अर्याल, मानव अधिकारकर्मीहरु केदारनरसिंह केसी, राजन कुइँकेल, लोकराज अवस्थीलगायतले प्रजातन्त्र र मानव अधिकारको रक्षाको सवालमा सबै देश र क्षेत्रका मानव जाति एक हुनुपर्नेमा जोड दिए।
बर्मामा अहिलेसम्म पाँच सयभन्दा बढी जनता मारिएको बताइएको छ। सयौंलाई वेपत्ता पारिएको छ। सेफ द चिल्ड्रेनले अहिलेसम्म ४१ जना बालबालिकाको हत्या भइसकेको जनाएको छ।

गएको नोभेम्बरमा जनताबाट निर्वाचित आङ सान सुकीको सरकारलाई अपदस्थ गरी त्यहाँको जुन्ता सैनिकले कू मार्फत सत्ता हातमा लिएको थियो। नोभेम्बर २० मा त्यहाँ भएको निर्वाचनमा सैनिक समर्थित उम्मेदवारहरु पराजित भएर सुकी नेतृत्वको पार्टीले अत्यधिक बहुमत ल्याएपछि त्यसबाट तर्सेर जुन्ता सैनिकले सत्ता हातमा लिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.