बिस्का जात्रा नरोक्न माग गर्दै भक्तपुरमा प्रदर्शन
भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णयको विरोधमा सोमबार भक्तपुरको टौमढी क्षेत्रमा स्वस्फुर्त सयौंले प्रदर्शन गरेका छन्। उनीहरुले कोभिड १९ को बहानामा नेपालभाषी समुदायको जात्रा, पर्वमात्रै रोक्न नपाइने भन्दै आक्रोश पोखेका छन्।
बिस्का जात्राको लागि तयार गरिएको भैरवनाथ तथा भद्रकालीको रथलाई साक्षी राखेर उनीहरुले प्रहरी प्रशासनले जात्रा गर्न नदिए राम्रो नहुने चेतावनीसमेत दिएका छन्। प्रदर्शनका सहभागीहरुले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र जिब्रो छेड्ने जात्रा हुनैपर्ने माग गरेका छन्। उनीहरुले बिस्का जात्रा गर्नैपर्ने मागलगायतका प्लेकार्ड बोकेका छन्।
त्यस्तै सभा, जुलुस र रंगशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने भन्ने प्रश्न उठाएका छन्। कोरोनाको नाउँमा जात्रा पर्व रोक्नेहरुलाई खबरदारी गर्दै उनीहरुले जात्रा गर्ने निर्णय नगरिएसम्म शान्तिपूर्ण प्रदर्शनलाई जारी राख्ने बताएका छन्। प्रदर्शनमा सहभागी रमेश श्रेष्ठले के कसरी शान्तिपूर्ण र व्यवस्थित जात्रा सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ कुनै छलफल र विचार विमर्श नगरी सीधै जात्रा रोक्ने प्रशासन र नगरपालिकाको निर्णय मान्न नसकिने बताए।
बिस्का जात्रा नरोक्न माग गर्दै भक्तपुरको टौमढीमा गरिएको प्रदर्शनका सहभागी।
भक्तपुरमै हजारौं सहभागी भएको व्यापार मेला निर्वाध चल्ने तर आफ्नै जात्रापर्व र परम्परा रोक्ने सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुको नियत सही नभएको उनको भनाइ थियो। भक्तपुर नपा ७ स्थित माहेश्वरी खेल मैदानमा एकसातादेखि व्यापार मेला सञ्चालन भइरहेको छ।‘राजनीतिक दलका विभिन्न सभा सम्मेलनसमेत निर्वाध चलिरहेको छ’, अर्का सन्तोष सुवालले भने, ‘तर बिस्का जात्रा मात्रै किन रोक्नुपर्ने ? यसलाई सुरक्षित सञ्चालन गर्ने उपाय छैन ?’
उनले विकल्प छँदाछँदै जात्रालाई निषेध गर्दा परिणाम राम्रो नआउने चेतावनी दिए।
उनले भैरवनाथ र भद्रकालीको रथ निर्माण पूरा भइसकेको अवस्थामा बिस्का जात्रा रोकेर रोक्न नसकिने जिकिर गरे।‘बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तान्नु हो। जसअनुसार उक्त रथ निर्माण भइसकेकाले बिस्का जात्रा रोक्न सम्भव छैन’, सुवालले भने, ‘लिंगो पनि तयार नै छ। त्यसलाई ठडिनबाट रोक्न अब सजिलो छैन। प्रशासन र नपाले जात्रा रोक्ने निर्णय गरे पनि कार्यान्वयन गर्न सजिलो हुनेछैन।’
भैरवनाथको रथको सुरक्षा चुनौतीपूर्ण : कर्माचार्य
बिस्का जात्राको लागि सोमबार भैरवनाथको रथमा छाना हाल्दै सिकर्मी। बिस्का जात्राको लागि रथ तयार भइसकेको छ।
यता गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले निर्माण पूरा भइसकेको भैरवनाथ र भद्रकालीको रथ पुनः बिगार्न अब सम्भव नभएको बताए। उनले बिस्का जात्रामा रथ तान्ने वा नतान्ने तथा लिंगो ठड्याउने वा नठड्याउने भन्नेबारे गुठी संस्थानले निर्णय नगर्ने स्पष्ट पारे।
‘गुठी संस्थानको काम बिस्का जात्राको लागि आवश्यक रथ बनाउने र लिंगोको लागि काठको व्यवस्था गर्ने हो। जुन पूरा भइसक्यो’, प्रमुख कर्माचार्यले भने, ‘रथ तान्ने कि नतान्ने र लिंगो ठड्याउने कि नठड्याउने भन्ने निर्णय गुठीले गर्दैन।’उनले बिस्का जात्रा नगर्ने प्रशासन र नपाको निर्णयकै आधारमा अब भैरवनाथको रथको सुरक्षा चुनौतीपूर्ण बताए।
उनले जिल्ला प्रशासन र भक्तपुर नगरपालिकामा भएका बैठकमा बिस्का जात्राको सम्पूर्ण तयारी भइसकेकाले जात्रा रोक्न चुनौतीपूर्ण हुने अवगत गराउँदा पनि सुनुवाइ नभएको जानकारी दिए। त्यसैले बिस्का जात्रा रोक्ने निर्णय गरिएको आधारमा भैरवनाथको रथ र लिंगोको सुरक्ष ागर्न प्रशासन र नपाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
भक्तपुर नपा पनि पछि हट्यो
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) ले बिस्का जात्रा रोक्ने निर्णय गरे पनि भक्तपुर नपाको नगरस्तरीय संकट व्यवस्थापन समितिले बिस्का जात्रालाई निरन्तरता दिने धेरैको अपेक्षा थियो। तर भक्तपुर नपाले पनि डीसीसीएमसीकै निर्णयलाई सदर गर्दै बिस्का जात्रालाई औपचारिकतामै सीमित गर्ने निर्णय गरेको छ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले बिस्का जात्राअन्तर्गत भक्तपुरका टोलटोलमा हुने सहायक जात्रा भने सञ्चालन गर्ने निर्णय गरेको छ।
आठ दिन नौरातसम्म चल्ने भक्तपुरको बिस्का जात्रा यस वर्ष यहीं चैत २८ गतेदेखि सुरु हुँदैछ। त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण पूरा गरिसकिएको छ।