एमालेमा स्थानान्तरित विग्रह

एमालेमा स्थानान्तरित विग्रह

नेकपा हुँदा नै दुई चिरामा बाँडिएको एमाले आज पनि पुरानै अवस्थामा छ


हाल नेकपा एमालेको आवरणमा देखिएको उत्कर्षउन्मुख विग्रह फागुन २३ गतेपछि अनायास सृजित होइन। नवौ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग झीनो मतले पराजित भएदेखि नै माधव नेपालले उक्त नतिजालाई सहज ढंगले स्विकार्न नसकेको तथ्य छिपेको विषय होइन। माधव नेपालका दर्जनौं अन्तरवार्ता र भाषणमा यो प्रस्टै झल्किन्छ। नेकपा एमाले र माओवादी एक भएर नेकपा गठन भएपछि यसको पारो घट्नुको सट्टा झनै बढ्यो।

एमालेभित्रकै अन्तरविरोधमा जब नेकपा अध्यक्ष प्रचण्डले सुनियोजित तवरले खेल्न थाले, त्यसको मात्र बढ्दै जाँदा नेकपा नै विघटन हुने अवस्थामा पुग्यो। नेकपाको विघटन अर्थात् एकता भंग भएर नेकपा एमाले ब्युतिएपछि नेकपा अवधिकै विवाद र विभाजनको दोस्रो संस्करण (भाग– २) यतिबेला एमालेमा पटाक्षेप भइरहेको छ। सीधा अर्थमा भन्दा नेकपा हुँदा नै दुई चिरामा बाँडिएको एमाले आज पनि पुरानै अवस्थामा छ। विवादको थलो स्थानान्तरण भए पनि विवादका पात्र, प्रवृत्ति र शैली उस्तै छ। यसकारण अहिले नेकपा एमालेमा देखिएको विग्रहको लिगेसी नवौं महाधिवेशनको परिणाम र नेकपा अवधिमै उत्कर्षमा पुगेको निषेधसँग अभिन्न रूपले जोडिएको छ।

प्रश्न उठ्न सक्छ– नेकपा हुँदाको विवाद नेकपा एमाले भइसकेपछि कसरी जोडिन्छ र ? यो त फरक–फरक पार्टीको मामला हो। पार्टी फरक, विधान फरक र परिस्थिति फरक छ। त्यसकारण यी दुई भिन्न विषय हुन्। झट्ट सुन्दा हो कि जस्तो लागे पनि यी सबै सन्दर्भ एकअर्कासँग शृंखलामा जोडिएका र जेरीजस्तै जेलिएका छन्। यसकारण यिनका अन्तरवस्तुमा स्पष्टताको खाँचो छ।

बैठकको विधि
हिजो नेकपाभित्रको असमझदारीको एउटा मुद्दा बैठक नै थियो। बैठक कसरी बोलाउने ? कसले बोलाउने ? कुन बैठक आधिकारिक हुने ? यसैमा फरकफरक बुझाइ थियो। दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने स्पष्ट व्यवस्था नेकपाको विधान र निर्र्णयमा उल्लेख हुँदा पनि त्यसलाई लत्याएर अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलबेगर बैठक बसी बैठक राख्ने विधिलाई भत्काउन प्रचण्ड–माधव खेमाको लगनगाँठो कसिएको थियो। नेकपाको विधानविपरीत भएका बैठकबाट अध्यक्ष केपी ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट निस्कासन गरेको प्रचारितसमेत गरियो। त्यसैगरी केपी ओलीलाई हटाएर माधव नेपाललाई सडक अध्यक्षको पगरी गुथाएको पनि देखियो। नेकपाको विधान र निर्णयको कसीमा जाँच्दा यी सबै काम अवैध, प्रतिशोधपूर्ण र निषेधकारी थिए।

यसरी बैठक बस्ने बानी परेका माधव नेपालले नेकपा एमाले बनिसकेपछि विधिसम्मत भएको बैठकमाथि अनेक लाञ्छना लगाउनु निहुँ खोज्ने बहानाबाजी मात्र हो। एमालेको सन्दर्भमा अध्यक्ष केपी ओलीको निर्देशनमा महासचिव ईश्वर पोख्रेलले बोलाएको वैधानिक बैठकलाई बैठक होइन भन्नु हास्यास्पद हो। नेकपा एमालेले विधिसम्मत गरेका बैठकमाथि प्रश्न उठाउनुपूर्व विगतमा आफैंले गरेका बैठकको फ्ल्यास ब्याक गर्दा त्यहींबाट उत्तर आइहाल्छ। बहुतै खराब अभ्यासमा डुबुल्की मारेर आएकाहरूले त्योभन्दा कयौं गुणा राम्रो अभ्यासमाथि प्रश्न उठाउनु अमिल्दो विषय हो। यसर्थ आजको दिनमा माधव कमरेडहरूले बैठकको विधि र प्रक्रियाबारेमा प्रश्न उठाउनु सूर्यको अगाडि टुकी बाल्नुजस्तै हो।

फागुन २३ को फैसलाले एमाले ब्युतिएपछि पनि माधव पक्ष प्रचण्डको ह्याङओभरबाट बाहिर निस्कन सकेको छैन।

नेतृत्वको सवाल
जतिबेला नेकपाभित्र बेमौसमी र हानिकारक रूपमा नेतृत्व परिवर्तनको हुरी चल्यो त्यतिबेला अध्यक्ष केपी ओलीको स्पष्ट धारणा थियो, ‘अध्यक्ष परिवर्तन गर्न महाधिवेशन गरौं, प्रधानमन्त्री फेर्न अर्को चुनाव पर्खौं।’ उहाँको खुला प्रतिबद्धता थियो, ‘अब म दोहरिएर अध्यक्ष हुन्न र यो कार्यकालबाहेक प्रधानमन्त्री पनि बन्दिनँ।’ महाधिवेशनबाहेक अर्को स्थानबाट नेतृत्व परिवर्त गर्नु हुँदैन भन्ने मान्यता स्थापित गर्न यो प्रस्ताव नै न्यायोचित र वैज्ञानिक थियो; जुन मान्यतालाई नेकपा एमालेले आठौं महाधिवेशनदेखि नै वैधानिक तवरले कार्यान्वयनमा ल्याइसकेको थियो। विडम्बना नै भन्नुपर्छ– चैतमा हुने भनी तोकिएको एकता महाधिवेशनमार्फत वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न प्रचण्ड–माधव खेमा तयार नै भएन। केपी ओलीलाई हटाउनु नै यो समूहको एकसूत्रीय एजेन्डा बन्यो।

त्यसैले प्रश्न उठ्छ– महाधिवेशनबाट नेतृत्व चयन गर्ने र बदल्न पनि महाधिवेशन नै चाहिने अवस्थालाई नेकपा अवधिमा कसले भत्कायो ? एकता महाधिवेशनअगावै बीचैमा नेतृत्व परिवर्तनको गलत बाटोमा कसले जबर्जस्त धकेल्यो ? प्रचण्ड र माधव पक्ष मिलेर केपी ओलीलाई बीचैमा अपदस्थ किन गरियो ? एकता महाधिवेशनअगावै केपी ओलीलाई हटाउनु हुँदैन भनेर विधिका स्वघोषित प्रवक्ता माधव नेपालले किन भनेनन् ? त्यर्सो नभनेको मात्र होइन, केपी ओलीलाई अध्यक्षबाट हटाएर आफैं अध्यक्ष बन्न उनी किन अघि सरे ? यी प्रश्नको कसीमा जाँचिदा अब पनि माधव नेपालले विधिका कुरा गर्न सुहाउँछ र ? किमार्थ सुहाउँदैन। उनकै उपस्थितिमा जनसंगठन र देशभर बनेका समानान्तर संरचनाले उल्टै विधिलाई गिज्याउँदैन र ? यो रबैयाले नेकपा एमालेको एकता कसरी जोगिएला र ? स्पष्ट नै छ– यी सबै काम निहुँ खोज्न, एकता भाँड्न र अन्ततः नयाँ पार्टी बनाउने उद्देश्यले उत्प्रेरित छन्।

इतिहास साक्षी छ– एमालेको नेतृत्वमा माधव नेपाल १५ वर्ष र झलनाथ खनाल १२ वर्ष पार्टी प्रमुख हुँदा केपी ओली मूल नेतृत्वको सहयोगी बन्दै आए। पार्टीभित्र अन्तरसंघर्ष चल्दा पनि एकतामा धक्का पुग्ने गरी केपी ओलीले कहिल्यै विद्रोहको झन्डा उठाएनन्। केपी ओलीसँग जोडिएका थुप्रै कमिटी र सहयोद्धाले स्पष्टीकरण र कारबाही भोगे तर उनले पार्टी एकता टुट्न दिएनन्। माधव नेपाल प्रधानमन्त्री हुँदाको समयमा त्यस सरकारलाई टिकाउन केपी ओली नै अग्रभागमा उभिए। तत्कालीन माओवादीले चक्रपथ घेराउ गरेर सडकबाटै सरकार ढलाउँछु भनी आन्दोलन गर्दा एमालेभित्रको वामदेव समूहले माओवादीको पक्षमा वक्तव्य जारी गरेर अप्ठ्यारो पार्दा पनि केपी ओली बरु सरकारको रक्षाकबज बनेर खडा भए। अन्ततः आन्दोलनकारी गले तर सरकार गलेन। यसरी एमालेभित्रका जटिल मोडमा केपी ओलीले प्रायः नेतृत्वलाई साथ दिँदै आए तर केपी ओली नेतृत्वमा आएदेखि आजसम्म माधव नेपालले ओलीलाई साथ दिएको विरलै मात्र भेटिन्छ। यसर्थ आजको संगीन घडीमा माधवले गम्भीर आत्मसमीक्षासहित ओलीलाई खुला हृदयले साथ दिँदा नै उनको राजनीतिक परिपक्वता र सुझबुझ देखिनेछ। यही बाटोले मात्रै एकताबद्ध एमाले र कम्युनिस्ट आन्दोलन सुदृढीकरणको सही मार्ग पहिल्याउन सक्नेछ।

एकताको सूत्र
नेकपाकालमा पार्टी केन्द्रितभन्दा पनि गुट, पद र स्वार्थकेन्द्रित तत्व हावी भएकै कारण समग्र समस्या निम्तिए। नेकपा भत्के पनि अब एमाले नभत्कोस् भनेर नेकपा अवधिका कमजोरी दोहोरिन दिनु हुँदैन। तर फागुन २३ को फैसलाले एमाले ब्युतिएपछि पनि माधव पक्ष प्रचण्डको ह्याङओभरबाट बाहिर निस्कन सकेको छैन। २४ गते पेरिसडाँडाको बैठक, ‘माधवहरूले सके एमाले कब्जा गर्नु हुन्छ, नसके विद्रोह गर्नु हुन्छ’ भन्ने प्रचण्डको अभिव्यक्ति र त्यसप्रति माधव नेपालको मौन समर्थनले थुप्रै संशय जन्माएको छ।

एकातिर ओलीले बोलाएनन् भन्ने, बैठकमा बोलाउँदा पनि नजाने बरु उल्टै गोप्यरूपमा प्रचण्डसँग लगातार भेटेर ओलीविरुद्ध षड्यन्त्र गर्ने माधवको दिनचर्या एमालेजनका लागि हानिकारक छ। हुँदाहुँदा ‘ओलीलाई अध्यक्ष नै होइनन्, एमाले नै होइनन्, असली एमाले त म हुँ’ भनेर सञ्चारमाध्यममा तुष्टि पोख्नु दिउँसै रात पार्नु हो। नेकपा एमालेको भलो चिताउने हो भने यस्ता असंगतिपूर्ण काम माधव नेपालले तत्काल रोक्नुपर्छ। समानान्तर कमिटी बनाएर पार्टी प्रणाली ध्वस्त पार्ने कुकर्ममा ब्रेक लगाउनुपर्छ। एमालेभित्र अंश खोज्ने नाममा समानान्तर कमिटी बनाउनु भनेको अन्ततः घर पोलेर खरानीको व्यापार गर्ने दौडमा सामेल हुनु हो।

अरू नाममा जाँदा जनताले पत्याउँदैनन् भनेर एमालेकै नममा समानान्तर संरचाना बनाउनु भनेको एमालेको जीवन होइन मृत्यु चाहनु हो। एमालेका नाममा माधव नेपालहरूले चालेका पाइला मैले हिजो बनाएको घरमा किन आगो लगाउन नपाउने भन्ने खालको दलील हो। यो दलीलको मक्सद एमालेजनले गहिरो गरी बुझ्न जरुरी छ।

घटनाक्रमले भन्दैछन्– हिजो पार्टी प्यालेसमा रहँदा नक्कली घरमूली छानेर त्यसैमा रमाएकाहरू आज घरमूलीसँग पाखुरा सुर्कंदैछन्। पार्टी प्यालेसमा रमाएकाहरू मन अमिलो पार्दै सर्वोच्चले घोक््रयाएर घर फर्कायो भन्दैछन्। आफ्नो घर फर्कन पनि अफ्ले नै घोक््रयाएर पठाउनुपर्ने विडम्बना भएपछि उसको उक्त घरप्रति कति माया रहेछ ? छर्लंग हुँदैछ। घरभित्र आउन भनी पार्टी प्यालेसबाट हिँड्ने तर दैलामुनिको गरोमा आएर निहुँ खोज्ने, घरिघरि आँगनमा आएर घरको छानोमा आगो झोस्ने प्रवृत्ति देखिएकाले त्यसप्रति एमालेजन सजग हुन जरुरी छ।

यो परिवेशमा विगतका कमजोरीप्रति निर्मम समीक्षा गर्दै आत्मालोचित भएर जानुको सट्टा फरक तरिकाले जान खोज्नु माधव नेपालले आफ्नो खुट्टमा आफैं बञ्चरो हान्नु हो। बञ्चरो नहानिनछाड्ने कमस खाएकालाई त्यसो नगर भन्नु भैंसीको अगाडि बाँसुरी बजाउनुजस्तै हो। तैपनि माधव नेपालले आफूलाई एमालेप्रति अगाध माया छ भन्ने देखाउन चाहेका छन् भने यो बेला धैर्य नगुमाई केही दिन घरको पिँढीमा वा मझेरीमै ओछ्याएको गुन्द्रीमै भए पनि बस्न तयार हुनुपर्छ। समयले माधव नेपालसँग यही धैर्यको परीक्षा लिएको छ। अधैर्य बनेर ‘म लत्रने मानिस होइन’ भनि जानाजान भीरबाट हाम फाल्नु र अरूलाई पनि त्यहीँ बाटो हिँडाउनु क्रान्तिकारिता हुँदै होइन।

यो तीतो सत्य माधव नेपालले जति छिटो बुझ्नेछन् त्यति छिटो एमालेको आवरणमा देखिएको विग्रह साम्य हुँदै जानेछ। यसका लागि एमाले अध्यक्ष केपी ओलीले पनि विगतमा बाटो बिराएका परिवारका सदस्यलाई फकाइफुलाई घरभित्रै ल्याउन अधिकतम मेहनत र लचकता देखाउनैपर्छ। यसैमा एमालेरूपी परिवार, देश, जनता र कम्युनिस्ट आन्दोलनको भविष्य जोडिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.