भक्तपुरमा मेलम्चीको पानी आउने छैन टुंगो
भक्तपुर : बहुप्रतिक्षित मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा आइसकेको छ। जसअनुसार काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न थालिसकेका छन् तर भक्तपुरमा भने मेलम्चीको पानी आउने टुंगो लागेको छैन।
भक्तपुरका जनप्रतिनिधिहरूले भने काठमाडौं सँगसँगै भक्तपुरमा पनि पहिलो चरणमै मेलम्चीको खानेपानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को ध्यानाकर्षण गर्दै आएका छन्।
तर भक्तपुरमा मेलम्चीको पानी ल्याउने संरचना नै पूरा हुन सकेको छैन। जसले गर्दा तत्कालै भक्तपुरवासीले मेलम्चीको पानी उपभोग गर्न पाउने सम्भावना नभएको केयूकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय बताउँछन्।
त्यहाँ पहिले नै ३० लाख लिटर क्षमताको पानी ट्यांकी बनेको थियो तर उक्त ट्यांकीसम्म मेलम्चीको पानी खसाल्ने पाइपलाइन नै पुगेको छैन।
भक्तपुर प्रमुख हिमालयले उक्त ट्यांकीमा पानी खसाल्न करिब ३ सय मिटर पाइपलाइन बिछ्याउने काम भइरहेको जानकारी दिए। उक्त पाइपलाइन बिछ्याउने काम केयूकेएलको आयोजना कार्यान्वयन इकाई (पीआईडी) मार्फत भइरहेको छ। स्थानीय वासिन्दाबीचको विवादले उक्त कार्य ढिलाइ भइरहेको बताइएको छ। जसले गर्दा पहिले निर्धारण गरिएको क्षेत्रभन्दा अन्तैबाट अहिले पानी ट्यांकीसम्म पाइपाइन बिछ्याउने काम भइरहेका छ।
‘इकाईले करिब एक महिनाभित्र उक्त पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने जानकारी दिएको छ’, प्रमुख हिमालयले थपे, ‘उक्त काम सम्पन्न नभएसम्म भक्तपुरवासीले मेलम्चीको पानी पाउने अवस्था छैन।’
उनले बोडेस्थित केयूकेएलको पहिलेकै वितरण प्रणालीमा मेलम्चीको पानी खसालेर पनि भक्तपुरवासी लाई मेलम्चीको पानी वितरण गर्ने प्रयास भइरहेको बताए।
तर त्यहाँको मौजुदा प्राविधिक प्रणालीमा सुधार गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको छ।
‘पीआईडीले यो काम सकिन पनि महिनादिन लाग्ने बताएको छ’, प्रमुख हिमालयले थपे, ‘त्यो काम सम्पन्न हुनेबित्तिकै पुरानै पाइपलाइनबाट भक्तपुरवासीले मेलम्चीको पानी उपभोग गर्न पाउनेछन्।’
मेलम्चीको पानी भक्तपुरमै वितरण गर्न मध्यपुर थिमि नपा ९ टिगनीमा अर्को पानी ट्यांकी बन्दै गरेको छ।
काठमाडौंमा मेलम्चीको पानी आए पनि बोडेबाट काठमाडौं जाने पानी भक्तपुरवासीले पाउन सकेका छैनन्। बोडेबाट काठमाडौंको मीनभवनसम्म दैनिक करिब ४० लाख लिटर पानी वितरण हुँदै आएको छ। त्यस्तै सोही परिमाणको पानी भक्तपुर र मध्यपुर नगरमा वितरण हुँदै आएको छ।
अहिले काठमाडौं नपठाइएकोले भक्तपुरमा पहिलेभन्दा बढी पानी पठाउन माग गर्दै आएको प्रमुख हिमालयले सुनाए।
‘अहिले बोडेबाट काठमाडौंमा पानी जान रोकिएको छ’, प्रमुख हिमालय भन्छन्, ‘त्यसैले भक्तपुरमा बढी पानी पठाउन माग गर्दै आएका छौं।’
उनका अनुसार बढी पानी पठाउन पुरानो प्रणालीमा सुधार गर्ने, चाबी थप्ने र पम्पिङको लागि मेसिन जडान गर्ने काम भइरहेको छ।
बोडेबाट थप पानी आए पनि भक्तपुरको खानेपानी अभाव तत्काल समाधान नहुने उनी बताउँछन्। भक्तपुरवासीले बोडेबाट ५ दिनमा एकपटक पानी पाउँदै आएका छन्। तैपनि पानीको बहाव कम हुँदा उचाइमा भएका उपभोक्ताले त्यो पनि पाउँदैनन्।
चाँगुनारायण नपा ६ नगरकोटस्थित मुहानपोखरीको स्रोतमा आधाभन्दा बढी कम भएपछि भक्तपुरवासीले चरम खानेपानी व्यहोर्दै आएका छन्। यहाँबाट केयूकेएल भक्तपुरले १०–१२ दिनमा एकदिन पानी वितरण गर्दै आएको छ।
भक्तपुरमा दैनिक एक करोड लिटर खानेपानीको माग भइरहेको छ। जुन धान्न केयूकेएल भक्तपुरलाई सकस हुँदै आएको छ। उक्त माग धान्न भक्तपुरमा दैनिक ८० देखि एक करोड लिटर मेलम्चीको पानी वितरण गर्न माग गरेको प्रमुख हिमालय बताउँछन्। तर ६० लाखसम्म दिन सकिने जानकारी आएको उनको भनाइ छ।
हाल भक्तपुरले बोडेबाट आउने करिब ३० लाख र मुहानपोखरीबाट ६ लाख लिटर पानी वितरण गर्दै आएको छ।