फेरि त्रासमा पर्यटन

फेरि त्रासमा पर्यटन

काठमाडौं : कोरोना भाइरस महामारी घटेसँगै सबैभन्दा पहिला साउन १५ देखि होटल तथा रेस्टुराँ खुले। त्यसपछि भदौमा अन्तर्राष्ट्रिय उडान खुला गरियो। असोज पहिलो सातादेखि आन्तरिक उडान खुले। त्यसपछि विदेशी पर्यटकका हकमा सबैभन्दा पहिला खुलेको क्षेत्र हो, पर्वतारोहण। सरकारले माघमा सबै पर्यटकीय क्षेत्र खुलाउने निर्णय लियो। पर्यटन क्षेत्रले पुरानै लय समात्दै गरेको अवस्था पनि हो।

अध्यागमन विभागको सन् २०२१ को पहिलो तीन महिनाको तथ्यांकले विदेशी पर्यटकको आगमन सुधारोन्मुख देखाएको छ। तीन महिनामा ३२ हजार ९ सय ९७ विदेशी पर्यटक नेपाल आएका छन्। जनवरीमा ८ हजार ८ सय ७४, फेबु्रअरीमा ९ हजार १ सय ४६ र मार्चमा १४ हजार ९ सय ७७ पर्यटक आएका हुन्। तर, कोभिडको दोस्रो लहर अघि बढ्दै गर्दा पर्यटन क्षेत्र पुनः ठप्प हुने हो कि भन्ने भय व्यवसायीमा देखिएको छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार करिब सवा खर्ब रुपैयाँ लगानी रहेको पर्यटन क्षेत्रले कोभिडका कारण प्रत्येक महिना १० अर्ब रुपैयाँको घाटा व्यहोरिरहेको छ। यो क्षेत्रले वार्षिक करिब २ खर्ब रुपैयाँ आम्दानी गर्छ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३ प्रतिशत योगदान रहेको पर्यटन मन्त्रालयको तथ्यांक छ। जति उद्योग छन् तीमध्ये पर्यटनको हिस्सा २२ प्रतिशत छ।

होटल व्यवसाय अन्योलमा
विदेशी पर्यटक आउन नखुलाएको अवस्थामा पनि आन्तरिक पर्यटककै भरमा होटल तथा रेस्टुरा भरिभराउ हुन थाले। ४० देखि ५० प्रतिशतको अकुपेन्सीमा साना होटल व्यवसाय सञ्चालन भइरहेका छन्। पोखरा, सौराहा, चितवनलगायत पर्यटन गन्तव्यका होटल व्यवसाय आन्तरिक पर्यटकबाटै धानिएका छन्।

विदेशी पर्यटकलक्षित पाँचतारे होटल सञ्चालनमा आउन सकेका छैनन्। साना होटल, रेस्टुरा तथा रिसोर्ट आन्तरिक पर्यटकमा पनि युवाका कारण केही चलेको होटल संघ नेपाल हानका उपाध्यक्ष विनायक शाह बताउँछन्। तर, कोभिड फर्किने अवस्थामा देखिएकाले नयाँ वर्ष २०७८ लक्षित कार्यक्रम पनि प्रभावित बन्ने उपाध्यक्ष शाहको भनाइ छ।

‘बजारको माग भए पो नयाँ वर्षका लागि नयाँ कार्यक्रम ल्याउने हो। केही समूहलाई लक्षित गर्दैमा व्यवसाय पुनरोत्थान हुन सक्दैन’, उपाध्यक्ष शाह भन्छन्। कोभिडको दोस्रो लहरले विदेशबाट हुने सोधपुछमा असर गरेको हुँदा पुनः होटल व्यवसाय अन्योलमा पुगेको उनको भनाइ छ। सरकारले विदेशी पर्यटक भिœयाउन खुकुलो नीति ल्याएका कारण बढेको सोधपुछ केही दिनयता घटेको शाह बताउँछन्।

आरोहणमा आस
सन् २०२० को अक्टोबरमै विदेशी पर्यटकका लागि खुलाइएको हिमाल आरोहण तथा पर्वतारोहणमा लक्षितभन्दा बढी सहभागिता देखिएको छ। यो अवधिमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत मात्र आरोहण भए पनि यसलाई सुखद मान्नुपर्ने व्यवसायीको भनाइ छ। कोभिडकै बीचमा भए पनि पहिलो पटक ३ सयभन्दा बढी नेपालीले ६ हजार मिटरभन्दा होचा हिमाल आरोहण गरेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ बताउँछन्। हिमाल आरोहणको संख्या सुधारोन्मुख रहेको पर्यटन विभागले जनाएको छ। यो वर्षको पहिलो सिजनमा ६ हजार मिटर माथिका हिमाल आरोहण गर्न २ सय ९६ जनाले अनुमति लिएका छन्। यसबापत २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

मार्च, अप्रिल र मेलाई पहिलो सिजन मानिने हुँदा पर्वतरोहीको संख्या र राजस्व बढ्ने अनुमान विभागको छ। पर्वतारोहण राजस्व संकलनका लागि महŒवपूर्ण छ। यही अवधिमा सन् २०२० मा पर्वतारोहणबाट झन्डै आधा अर्ब राजस्व संकलन भएको थियो। त्यस बेलासम्म नेपाल कोरोनाबाट सुरक्षित रहेकाले राजस्व संकलनमा असर परेको थिएन।

उडानलाई निरन्तता
आन्तरिक उडान पुरानै लयमा फर्किएको त्रिभुवन विमानस्थलको चहलपहलले देखाउँछ। आन्तरिक वायुसेवा कम्पनीले आधा भाडामै उडान भरिरहेका छन्। तर, नाफा कमाउनेभन्दा पनि व्यवसाय सञ्चालन गर्न जहाज उडाउने काम भइरहेको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्।

आन्तरिक उडानतर्फ ट्रंक रुट (तराई जिल्लाका उडान)मा उल्लेख्य सुधार आए पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्लाका उडान) र हेलिकप्टर उडानमा सुधार आउन सकेको छैन। खराब मौसमका कारण पनि हेलिकप्टर उद्योग ठप्प छ। अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको व्यवसायले पनि गति लिन सकेको छैन।

‘भारतीय पर्यटकको फ्लो बढेको थियो तर खराब मौमस र कोभिडको दोस्रो लहरले अहिले भारतीय पर्यटक आउन नै प्रायः ठप्प छ’, शर्मा भन्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार कोभिड—१९ को महामारीपछि आन्तरिकतर्फको ट्रंक रुट र स्टल रुटतर्फ आउने जाने गरी दैनिक करिब दुई सय उडान भइरहेको छ। कोभिड—१९ महामारीअघि दुवै रुटमा दैनिक औसत तीन सय उडान हुन्थ्यो। ट्रंक रुटमा सबै वायुसेवा कम्पनीले ८० प्रतिशत अकुपेन्सीमा जहाज उडाइरहेका छन्। तर, स्टल रुटका उडान नगन्य संख्यामा भइरहँदा ५० प्रतिशतभन्दा पनि कम अकुपेन्सी छ। फाट्टफुट्ट हुने स्टल रुटको उडानमा कार्गोको हिस्सा बढी हुने गरेको संघले जनाएको छ।

अन्तर्राष्ट्रियतर्फ हाल आउने जाने गरी दैनिक ३० देखि ३६ उडान हुँदै छ। कोभिडअघि ६५ उडान हुन्थ्यो। आन्तरिकतर्फ यात्रुको दैनिक चाप १० हजार हाराहारीमा पुगेको छ। सन् २०२० मा आन्तरिक उड्डयन क्षेत्रले १० अर्ब ६२ करोड रुपैयाँ आम्दानी गुमाएको थियो।

केही चलायमान ट्राभल एन्ड टुर
विदेशी पर्यटक भिœयाउन सरकारले खुकुलो नीति लिएसँगै ट्राभल एन्ड टुर व्यवसाय केही चलायमान बनेको छ। कोभिड संक्रमणको एक वर्षमा घाटामा गएको यो व्यवसायमा अब केही आशा गर्ने ठाउँ भए पनि कोभिडको दोस्रो लहरले पुनः शंकामा पुगेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का महासचिव सुधीर उपाध्याय बताउँछन्। ‘कोभिडको एक वर्षमा घाटा कति भयो भन्ने लेखाजोखा छैन। तर, अब केही चलायमान हुन्छ भन्ने आशा हो’, उपाध्याय भन्छन्।

व्यवसाय पुनरोत्थानका लागि कोभिड नै उन्मूलन हुन जरुरी छ। पर्यटन क्षेत्रको प्रमुख आधार युरोपेली भएको र उनीहरू साहसिक पर्यटनका लागि आउने हुँदा अहिले केही फाटफुट्ट पर्यटक देखिएका छन्। तर, कोभिडको दोस्रो लहर कस्तो हुन्छ र सरकारले कस्तो नीति लिन्छ भन्ने ‘पर्ख र हेर’को अवस्थामा रहेको उनी भन्छन्।

आगामी बजेटको तयारीमा रहेको सरकारले कोभिडलक्षित कार्यक्रमलाई प्राथमिकता दिन भनिरहँदा पर्यटन मन्त्रालय पनि सोहीअनुसार नै बजेटमा प्रस्ताव गर्ने तयारीमा जुटेको छ। अति प्रभावित पर्यटन क्षेत्रको पुनरोत्थानका कार्यक्रमलाई निरन्तरता दिने गरी २०७८/०७९ को बजेटको पूर्वतयारी चलिरहेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी बताउँछन्। पर्यटन मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २६ अर्बमा २ प्रतिशत कम हुने गरी बजेट सिलिङ निर्धारण गरिएको छ।

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले खुकुलो नीति ल्याएको छ। सरकारले पर्यटक आवागमनलाई व्यवस्थित गर्न कार्यान्वयनमा ल्याएको मापदण्ड परिमार्जन गरी लागू गरेको छ। परिमार्जित मापदण्डअनुसार विदेशी पर्यटकका हकमा ७२ घण्टे पीसीआर नेगेटिभ भएका पर्यटकले नेपालमा आएपछि पुनः कोभिड जाँच गर्दा नेगेटिभ आए क्वारन्टाइन अनिवार्य बस्नुपर्ने बाध्यता हटेको छ। पर्यटकलाई ससर्त अनअराइभल भिसा दिन सक्ने गरी नयाँ व्यवस्था गरिएको छ। यसअघि पदयात्रा तथा पर्वतारोहणका लागि मात्रै अनअराइभल भिसाको व्यवस्था थियो। यात्रा बिमाको विषयमा यसअघि पर्यटन विभागले पर्यटकलाई अनिवार्य गरेको पाँच हजार डलरबराबर यात्रा बिमाको प्रावधान हटाइएको छ।

आपत्कालीन, खोज, उद्धार, उपचारलगायत नेपाल यात्रा अवधिभरका लागि मान्य हुने गरी गरिएको यात्रा बिमाको कागजात नै मान्य हुने नयाँ व्यवस्था ल्याइएको छ। भारतीय पर्यटकको हकमा भने नेपाल र भारतबीचको एयरबल सम्झौताअनुसार हवाईमार्गबाट आउनुपर्नेछ। स्थलमार्गबाट आउन चाहने भारतीय पर्यटकले कोभिड नेगेटिभ वा कोभिड खोप लगाएको कागजात पेस गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.