एमाले जोड्ने रसायन
पहिलो पुस्ताका शीर्ष नेताको जुँगाको लडाईंमा दोस्रो पुस्ताका नेताको राजनीतिक जीवन बर्बाद नपारौं
नेपालका राजनीतिक पार्टी जन्मिदा नै सायद टुटफुटको जिन लिएर जन्मिन्छन्। यो देशका कम्युनिस्ट पार्टी मात्र नभएर नेपाली कांग्रेस, पञ्च पृष्ठभूमिका पार्टी राप्रपा, जातीय र क्षेत्रीय नाराबाट उठेका मधेसवादी र अन्य दल पटकपटक टुटफुट र जुट हुँदै हुर्किएका छन्। एकता र विभक्तता नेपाली दलहरूको नियमित प्रक्रिया नै बनेको छ। नेपालका कम्युनिस्ट पार्टीको जुट्ने र फुट्ने अनि फेरि जुट्ने क्रम र उपक्रमको इतिहास लामो छ। मानौ, जुटफुट र पुनः जुट कम्युनिस्टको संरचनागत धर्म नै हो।
२००६ वैशाख १० गते भारतको कलकत्तास्थित श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी पहिलो पटक औपचारिक गठन गरिएको थियो। पाँचजना संस्थापक सदस्यबाट स्थापना गरिएको कम्युनिस्ट पार्टी समयक्रममा झागिँदै गयो र अहिले सात दसक पार गरिसकेको छ। स्थापना भएको चार वर्षबाट विभाजनको ऐजेरु पलाएको यो पार्टी ७० वर्षका अवधिमा दर्जनौं पटक एकता, विभाजन र फेरि एकताको क्रम उपक्रमबाट गुज्रिएको छ।
सन् १९८९ नोभेम्बर ९ मा बर्लिन पर्खाल विश्व राज्य व्यवस्थालाई धक्का दिँदै गल्र्याम्म ढल्दा र सोभियत युनियनको घर भत्किँदाका इटा विश्वभरि उछिट्टिएका थिए। तर ती इटाको छिर्का नेपालमा परेन विश्वबाट कम्युनिस्ट सिद्धिए भनेर फुकुयामाले ‘द एन्ड अफ हिस्ट्री’ लेख्दा पनि कम्युनिस्टहरू नेपालमा ज्युँका त्युँ रहे, वृद्धिको क्रम रोकिएन। नेपालको भूअवस्थिति ,भूराजनीति, अर्थराजनीति, जनताको जीवनस्तर, चेतना आदि कारणले नेपाल कम्युनिस्टका लागि उर्बरभूमि बनिरह्यो। २०४८ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै राजधानीका २ स्थानबाट विजयी बनेका मदन भण्डारीलाई उदाहरण दिँदै न्युज विकले लेखेको थियो ‘नेपालमा कार्ल माक्र्स जीवित छन्।’ २०५१ को मध्यावधि निर्वाचनमा त कम्युनिस्टहरू सर्वाधिक मत प्राप्त गर्न सफल भए र नेकपा एमाले पार्टी पहिलो कम्युनिस्ट सरकारसमेत बनाउन सफल भयो। २०७४ को निर्वाचनमा कम्युनिस्टहरूले नै करिब दुईतिहाइको जनमत प्राप्त गरी एकल स्थायी सरकार बनाउने जनसमर्थनको उचाइमा पुगे। यो वृद्धि र उचाइको मातले वर्तमानमा के हुँदैछ र भविष्य कस्तो रहला भन्ने छुट्टै बहसको विषय होला। तर विश्व कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र कमजोर हुँदैजाँदा पनि नवउदारतावादको विश्वव्यापी छालले नेपाली जनताको कम्युनिस्टप्रतिको मोह, निकटता, आस र भरोसालाई हल्लाउन नसकेको पक्का हो।
फुट जुट-एमाले र माले
कम्युनिस्ट फुट्न धेरै ठूलो मुद्दा चाहिँदैन। कम्युनिस्ट पार्टीको स्थापना दिवसको मितिकै बारेमा पनि कम्युनिस्ट फुट्न सक्छन्। कुनैले सन् १९४९ अप्रिल २२ लाई स्थापना दिवस मान्छन् भने कुनैले सेप्टेम्बर १५ लाई स्थापना दिवस मान्थे। मितिकै बारेमा कम्युनिस्टभित्र ठूलो किचलो भएकै थियो। एमालेको पाँचौं महाधिवेशनले १० वैशाख (२२ अप्रिल १९४९) मा कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि पछिल्लो समय यसबारेमा बहस भएको पाइँदैन। तर भविष्यमा यही निहुँमा पनि कम्युनिस्ट फुट्न सक्ने सम्भावना नकार्न सकिँदैन। ०४६ को जनआन्दोलनपछि संसदीय प्रणालीमा प्रवेश गरेका कम्युनिस्टमा फुट्न र मिल्नका लागि वैचारिक, सैद्धान्तिक र राष्ट्रिय इस्यु नचाहिने भयो। कम्युनिस्ट मात्र नभएर नेपालका सबै राजनीतिक पार्टी शीर्ष नेताको सत्तास्वार्थ, व्यक्तिगत लाभहानि, इगो र जुँगाको प्रतिस्पर्धामा सहजै फुट्न र जुट्न सक्छन्।
०४६ को जनआन्दोलनपछि तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता भएर नेकपा एमाले बन्यो। पछि राज्यसत्ता साझेदारी गर्ने क्रममा आएपछि पार्टी फुटको ठूलो झट्का २०५४ सालमा नेकपा एमाले पार्टी फुटेर माले बन्दा परेको थियो। भारतसँग गरेको महाकाली सन्धिको विषयलाई लिएर एमाले पार्टीभित्र चर्को मतभेद चल्यो। विगतमा भारतसँग गरिएका कोशी, गण्डकी सन्धिमा नेपाल ठगिएको इतिहास स्मरण गर्दै महाकाली सन्धिमा पनि नेपाल ठगिएको छ भन्ने एमालेभित्रको एक समूहले निष्कर्ष निकाल्यो। महाकाली सन्धि राष्ट्रघाती हो र यो सन्धि गर्नु हँुदैन भनेर एमालेभित्र चर्को विरोध भयो। अन्य कम्युनिस्ट घटक त यसको विरुद्धमा थिए नै।
एमालेको महाकाली सन्धि अध्ययन कार्यदलले उठाएका कुरालाई राष्ट्रिय संकल्प प्रस्तावका रूपमा दुवै सदनको संयुक्त बैठकबाट पास गरी तत्कालीन संविधानको धारा १२६ उपधारा २ बमोजिम महाकाली सन्धि अनुमोदन गरिएको थियो। संसद्मा मतदान हुँदा एमाले पार्टीले ह्विप त लगाएको थियो तर केही शीर्ष नेता र सांसदले पार्टीको ह्विप उल्लंघन गरी सन्धिको विपक्षमा मतदान गरेका थिए। तर महाकाली सन्धि संसद्बाट बहुमतले अनुमोदन गरियो। यसले एमाले पार्टीलाई विभाजनमा लग्यो। वामदेव गौतमको नेतृत्वमा एउटा ठूलो हिस्सा एमाले पार्टीबाट फुटेर गयो र नेकपा माले पार्टी गठन भयो। यद्यपि यो बेला पार्टी फुटमा थोरै भए पनि सैद्धान्तिक आधार थियो। राष्ट्र, राष्ट्रियता, प्राकृतिक सम्पदाको संरक्षण र सदुपयोग जस्ता विषयको लेपन थियो। त्यतिबेला वाम बुद्धिजीवीको ठूलै जमात, सांसद, नेता र कार्यकर्तासहित एमालेबाट फुटेर माले पार्टी गठन भएको थियो र मालेले सत्ता साझेदारीसमेत गरेको थियो। तर फुटेको पार्टी लामो समयसम्म धानिन सकेन। फुटेको चार वर्षपछि २०५८ सालमा एमाले माले पार्टी एकीकरण भयो। वामदेवलगायत मालेका धेरै नेताकार्यकर्ता मूल घर एमालेमै फर्किएका थिए। सीपी मैनालीको एक सानो समूह मात्र एकीकरणमा सहभागी भएन, छुट्टै बस्यो जुन अहिले पनि अस्तित्वमा छ।
माओवादी केन्द्र
दसवर्षे सशस्त्र संघर्षबाट ०६२-६३ को जनआन्दोलनपछि बाह्रबुँदे सहमतिअनुसार शान्ति प्रक्रियामा आएको माओवादी पार्टीमा केही समय युद्धको धङ्धङी रह्यो भने जनतामा एक खालको त्रास पनि थियो। यसका अलावा माओवादीले लिएका आमूल परिवर्तन, छलाङ र ब्रेकथ्रु जस्ता क्रान्तिकारी नारा÷एजेन्डामा जनताको केही आस पनि थियो। त्यसैले ०६४ को संविधानसभाको पहिलो निर्वाचनमा जनताले सबभन्दा ठूलो पार्टी बन्ने जनादेश दिए। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा फेरि कम्युनिस्ट सरकार बन्यो। बिहेपछि दुरान फर्काए जस्तै नेपालको प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारत नै गर्नुपर्ने परम्परालाई छलाङ दिँदै प्रचण्डले पहिलो भ्रमण चीनमा गरे। यसको असर तत्काल उनको नेतृत्वमा बनेको सरकारलाई नराम्रोसँग पर्यो। माओवादीले सरकार त बनायो तर राजनीतिक विकृतिको सिकार आफैं बन्यो भने जनअपेक्षित काम एउटा पनि गर्न सकेन।
जब माओवादी सत्तामा पुग्यो नेपाली राजनीतिक चरित्रअनुसार पार्टीभित्र किचलो बढ्न थाल्यो। पार्टीले आफ्नो नारा र आकार जोगाउन सकेन। शान्ति प्रक्रियामा आइसकेपछि पनि माओवादीभित्र रहेको दुई पक्षीय, तीन पक्षीय आन्तरिक संघर्ष कम भएन। पार्टी एक नै रहुञ्जेल प्रचण्ड, बाबुराम भट्टराई र मोहन वैद्यबीच त्रिपक्षीय संघर्ष हुन्थ्यो। पालुङटारमा सम्पन्न छैटौं विस्तारित बैठक (०६७ मंसिर ७ – १३) पार्टीभित्रको फरक लाइनको रस्साकस्सीको देखिने उदाहरण हो, जहाँ प्रचण्ड, भट्टराई र वैद्यले छुट्टाछुट्टै दस्ताबेज पेस गरेका थिए। बैठकबाट कसैको प्रस्ताव पारित हुन सकेन। पार्टीभित्रको अन्तरद्वन्द्व पार्टी फुटमै परिणत भयो। ०६९ असार ४ गते पार्टीका सिनियर नेता मोहन वैद्य र रामबहादुर थापाको वैद्य–बादल समूह माओवादीबाट अलग भयो, माओवादी पार्टी फुट्यो।
पछि २०७० मंसिरमा वैद्य नेतृत्वको पार्टीबाट विप्लब समूह फुट्यो भने बादल समूह पुन प्रचण्ड समूहमा मिसियो। यता प्रचण्ड नेतृत्वको माओवादी पार्टीबाट डा. बाबुराम भट्टराई ०७२ असोजमा बाहिरिएर नयाँ शक्ति पार्टी गठन गरे। तर उनले फुटेर बनेको पार्टीलाई लामो समय धान्न सकेनन्। नयाँ शक्ति पार्टीलाई समाजवादी पार्टीसँग एकीकरण गराए र हाल जसपामा सक्रिय छन्। माओवादी छोडेर नयाँ शक्ति पार्टीमा गएका धेरै नेताकार्यकर्ता मूल पार्टीमै फर्किएका छन्। शान्ति प्रक्रियामा आएपछि मात्र होइन, युद्धमै छँदादेखि नै माओवादीबाट विभिन्न समूह निस्कने र जोडिने क्रम चलिरहेको थियो। ०६५ मा एकता केन्द्रसँग र ०७३ मा विभिन्न १० माओवादी घटकबीच एकता भएको थियो। माओवादी पार्टीमा जति फुट भएको छ त्यति नै एकता पनि भएको छ।
नेकपा एकता र विभाजन
माओवादी शान्ति प्रक्रियामा आएपछि एमाले र माओवादी पार्टीबीच सहकार्य गर्ने, चुनावी गठबन्धन बनाउने र पार्टी एकता नै गर्ने पहल नभएका होइनन्। तर, त्यो सुषुप्त र अनौपचारिक प्रयासले सफलता पाएको थिएन। अप्रत्यासित रूपमा एमाले र माओवादीले ०७४ असोज १७ गते पत्रकार सम्मेलन गरी ६ बुँदे सहमति सार्वजनिक गरे। नजिकिँदो संघीय र प्रादेशिक निर्वाचनलाई केन्द्रमा राखेर वाम गठबन्धन गराएर पार्टी एकताको मार्गचित्र कोरियो। २०७५ जेठ ३ मा दुई पार्टीबीच एकतासमेत भयो र एकता घोषणासभामा दुवै पार्टीका नेताले यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक परिघटनाका रूपमा व्याख्या गरे।
पचासौ वर्ष वामपन्थीले शासन सत्ता चलाउने र समाजवाद ल्याउने घोषणासमेत गरियो। दुई ठूला वामपन्थी पार्टीको एकीकरणसँगै नेपाली कम्युनिस्ट आन्दोलनमा एक नयाँ अध्याय सुरु भएको थियो। वामपन्थी दुई ठूला पार्टीहरूको मिलन र एकता गर्ने गरी गरिएको गठबन्धनले जनतामा उत्साह जाग्यो। ९-१० महिने सरकारको अस्थिर राजनीतिले वाक्क भएका जनताले स्थिर सरकारको अपेक्षा गरी वाम गठबन्धनलाई करिब दुईतिहाइ बहुमतमा मतदान गरे। साझा घोषणापत्र बनाएर चुनाव लडेका दुवै दलले अपेक्षित नतिजा पनि हासिल गरे। प्रतिनिधिसभामा कुल १ सय ७४ सिट जिते भने सातमध्ये ६ प्रदेशमा सरकार बनाउन सहज बहुमत पाए। यो स्थिर सरकारले देश र जनताका लागि केही दीर्घकालीन उच्च महत्वका काम गर्छ भन्ने जनताले विश्वास गरे तर जनमतको अवमूल्यन गरियो। सत्ताशक्ति बाँडफाँट र कुर्ची व्यवस्थापन, शीर्ष नेताको स्वार्थ, इगो र जुँगाको लडाईंमा आज एकीकरण गरिएको भनिएको नेकपा पार्टी फुटेको छ। सांगठानिक हिसाबले बलियो पार्टी एमालेभित्र समानान्तर कमिटि बनेर छिन्नभिन्न हुने अवस्था सिर्जना भएको छ।
पार्टी एकताको आधार भनेको विचार सिद्धान्त हो। एकता गर्दा साझा विचार र सिद्धान्तको नयाँ विकास नगरी, विचार र सिद्धान्तमा बहसै नगरी गरिएको दुई कम्युनिस्ट पार्टी एकताको जग बलियो थिएन। जन्मसँगै विभाजनको बीउ छरिएको थियो। यो एकता शीर्ष नेताका स्वार्थ र अस्तित्वसँग गाँसिएको थियो। नेपालका जुनसुकै राजनीतिक पार्टी फुट्नु र जुट्नुमा सत्ता स्वार्थसँग जोडिएको कुरा पटकपटक देखिएका छन्। विभिन्न समयमा मिलेका र अहिले मिल्न खोजेका पार्टीहरूका पछाडि विशेषतः सत्ता स्वार्थ नै मुख्य कारण हुन्। सिद्धान्त र विचारको साझा सहमतिबिनाको यो नेकपाको एकता अप्राकृतिक थियो।
निष्कर्ष
टुटफुट र जुट नेपाली राजनीतिक पार्टीको चरित्र नै हो। वर्तमानमा नेकपा फुटेको नभएर आ–आफ्ना मूल घरमा फर्किएका मात्र हुन्। सैद्धान्तिक, वैचारिक र कार्यदिशाको स्पष्टता नभई सत्तास्वार्थ र अस्तित्व रक्षार्थ गहन छलफलबिना हठात् गरिएको एकता थियो र यसको जन्ममै विखण्डनको बिरुवा रोपिएको थियो। ढिलोचाँडो विभाजित हुनु नै थियो। बरु एमालेभित्रको आन्तरिक किचलोका कारण पार्टीका समानान्तर कमिटि निर्माणको तहसम्म पुग्नु गम्भीर समस्या देखिएको छ। तर पार्टी नै फुटेर अर्को नयाँ पार्टी गठन भइहाल्ने सम्भावना कम छ। पार्टी फुटेर नयाँ पार्टी बनेका पार्टी नफस्टाएको, नधानिएको बरु मूलधारमै फर्केको वा अन्य पार्टीसँग विलय भएको विभिन्न नयाँ पार्टीका उदाहरण साक्षी छन्। एमाले छोडेर माले पार्टी गठन गरेका वामदेव गौतम, नेपाली कांंग्रेस छोडेर नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गरेका शेरबहादुर देउवा ४-५ वर्षभन्दा बढी पार्टी धान्न र आकार बढाउन नसकेर पुनः मूल पार्टीमा फर्किएका थिए।
०४८ सालतिर प्रजातान्त्रिक लोक दल नयाँ पार्टी खोलेका देवेन्द्रराज पाण्डे र टंक कार्की, ०२६ सालतिर नवजनावादी मोर्चा स्थापना गरेका रामराजा प्रसाद सिंह, ०४६ सालमा जनता दल पार्टी खोलेका केशरजंग रायमाझी, सानो समूह लिएर माले पार्टीमा रहेका सीपी मैनाली, ०६२-६३ को आन्दोलनपछि कांग्रेस छोडेर तराई–मधेसकेन्द्रित राजनीतिक दलमा आवद्ध भएका महन्त ठाकुर, एमाले छोडेर संघीय समाजवादी पार्टी गठन गरेका अशोक राई, माओवादी पार्टी छोडेर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराईलगायत वैकल्पित राजनीतिक शक्तिका रूपमा उदाउने रहर बोकेर स्थापना भएका नयाँ पार्टीसमेत कतिले आफ्नो पार्टीको आकार बढाउन र कतिले जोगाउन सकेका छैनन्। नयाँ वैकल्पिक शक्ति बन्न खोज्ने धेरै दलको औकात निर्वाचनले खुलस्त पारेको छ।
वैकल्पिक शक्ति बन्ने रहरले नयाँ पार्टी निर्माण गर्दा शीर्ष नेताको इतिहास र बौद्धिकताको गर्व गर्न सकिएला तर जनताका पिरमर्का चाहनालाई भाषण र सिद्धान्तमा मात्र होइन कार्यरूपमै जनतामा अनुभूति हुनेगरी एक्सनमा जान सक्ने सांगठानिक जालो बनाउन सकिएन भने नयाँ पार्टीको आयुको दिनगन्ती सुरु हुन्छ। बाह्य शक्ति राष्ट्र र छिमेकी देशहरूको दृष्टिकोणसमेतलाई मनन गरिएन भने पनि पार्टी टिकाइरहन गाह्रो पर्ने अवस्था विकसित छ। देशको प्राकृतिक, भू–अवस्थिति, भू–राजनीति, विश्व दृष्टिकोण, समाज र तिनीहरूको अन्तरसम्बन्ध र गतिको अध्ययन र स्पष्ट दृष्टिकोणबिना नयाँ वैकल्पिक राजनीतिक शक्ति बन्ने सपना देख्नु महाभूल हुनसक्छ।
त्यसैले इतिहासलाई साक्षी राख्दै एमाले पार्टी फुट्नु हुँदैन। अध्यक्ष केपी शर्मा ओली पार्टीका अविभावक हुन्, उनले पार्टीको घर समालेर लैजानु अभिभावकीय कर्तव्य हो। एक स्टेप पछाडि सरेर भए पनि पार्टी घरबाट कोही सदस्य बाहिर निस्कन खोजेका छन् भने रोक्न हरसम्भव प्रयास गर्नु शोभनीय हुनेछ। नेपाल– खनाल समूह पनि एक स्टेप पछाडि सरेर केही विषयमा कम्प्रोमाइज गरेर पार्टीमा एकताबद्ध भई तितो ‘रिसेन्ट पास्ट’ बिर्सेर मेलमिलापको मिठो वर्तमान निर्माण गरी भविष्यको निर्वाचन सुन्दरता सुनिश्चित गर्न प्रयास गर्नु देशका, पार्टीका र स्वयं आफ्ना लागि बान्छनीय हुनेछ। होइन भने पहिलो पुस्ताका शीर्ष नेताको जुँगाको लडाईंमा दोस्रो पुस्ताका नेताको राजनीतिक जीवन अवसान हुनेछ।