विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र

विप्रेषणमा आधारित नेपाली अर्थतन्त्र

विप्रेषणले थेगेको अर्थतन्त्र दीर्घकालीन नहुने भएकाले भविष्यमा ठूलो समस्या आउन नदिन समयमै जिम्मेवार निकायको ध्यान जानुपर्छ


नेपालको अर्थतन्त्र अस्तव्यस्त छ, वैदेशिक व्यापार नकारात्मक रूपमा प्रभावित छ। कृषि प्रधान देश नेपाल प्रतिवर्ष अर्बौं रुपैयाँको खाद्यान्न आपूर्ति गरिराखेको छ। जलस्रोत र पर्यटन विकासको सम्भावना प्रबल हुँदा अपेक्षित उपलब्धि लिन सकिएको छैन। पर्यटन उद्योग विकासका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान् बुद्धको जन्मस्थल रहेको देश नेपालको प्रचार–प्रसार र पर्यटकका लागि आधारशिला तयार पार्न सक्दा ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने स्रोतका रूपमा लिने अवस्था हुँदा पनि हामीले यसलाई अपेक्षित रूपमा विकास गर्न सकेनौं।

उद्योग क्षेत्रको विकास गर्दै रोजगारका अवसर सृजना गर्न र नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने वातावरणसमेत निर्माण गर्न सकेनौं। आर्थिक कूटनीतिको विषय सिद्धान्तमा सीमित बनेको छ। भएका उद्योगधन्दा विस्तारै बन्द हुँदैछन्। देशमा भ्रस्टाचार व्याप्त भइराखेको छ। सुशासनको दिशामा उल्लेखनीय सुधारका संकेतसम्म पनि अनुभूति गर्न सकिएको छैन। दुईतिहाइनजिकको बहुमत प्राप्त सरकार कमजोर भई राजनीतिक अस्थिरताउन्मुख भएको छ। प्रतिपक्ष देशको राष्ट्रिय राजनीतिबाट प्रायः हराएको छ। अल्पमतको सरकारको नियति भोग्न र सामना गर्न बाध्य हुँदै गएको सरकार संसद्लाई एजेन्डाविहीन बनाउँदै अध्यादेशका आधारमा शासन गर्न लालायित भइराखेको छ।

ठूलो दलको दोस्रो बरियताका अध्यक्ष बनेका प्रचण्ड ५३ स्थान सुरक्षित भएको सानो कोटरीको मुखिया बन्दै सरकार बनाउने र ढाल्ने भूमिकामा कमजोर पात्रका रूपमा खुम्चिनुपरेकाले अविश्वासको प्रस्ताव दर्ता गर्न वा सरकारलाई दिएको समर्थन फिर्ता गर्नसमेत निर्णय लिन नसकी द्विविधाजनक मनस्थितिमा रहिआएका छन्। यस अवस्थामा अल्पअवधिमा व्यक्तिगत तरक्की गर्ने एकल एजेन्डा राजनीतिक दलहरूका प्रभावशाली पात्रमा देखिएको छ। त्यसैले देशको अवस्था अहिलेको स्थितिमा मौलिक सुधार गर्दै अघि नबढ्ने हो भने विकराल बन्दै जानेछ। आफ्नो सानो समूह र उपसमूहमा आत्मरतिमा रमाउने मनोदशाबाट ग्रसित भएका राजनीतिज्ञहरू देशलाई अधोगतिमा धकेल्न प्रयासरत छन्। यस अवस्थामा देशको अर्थतन्त्र सुधारोन्मुख हुन सकेको छैन।

विप्रेषणबाट प्राप्त राशि र यसले पारेको समग्र प्रभावबाट दीर्घकालीन रूपमा देशलाई कस्तो प्रभाव पर्ला ? यो अस्थायी प्रकृतिको स्रोतमा संकुचन आउँदा देशले सामना गर्नुपर्ने समस्याबारेमा चिन्तन गर्न ढिला भएको छ।

नेपालमा वैदेशिक लगानीको वातावरण बन्न सकेको छैन। सबै आर्थिक क्षेत्रका आधार कमजोर हुँदै गर्दा पनि नेपालीको जीवनस्तरमा सुधार आउँदै गएको छ। यसको निर्णायक कारण वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण हो। यसले राष्ट्रिय अर्थतन्त्रमा तरलताको अभाव हुन दिएको छैन। कूल गार्हस्थ्य उत्पादनमा करिब एकतिहाइको योगदान विप्रेषणको रहेको छ। वैदेशिक मुद्राको सञ्चितीमा राम्रो योगदान पुर्‍याएको छ। भुक्तानी सन्तुलनमा उल्लेखनीय सुधार हुन सकेको छ। दुई सय वर्षदेखिको वैदेशिक रोजगारको इतिहास भएको नेपालले सर्वप्रथम लाहोरमा रोजगारका लागि नेपाली गएका थिए। तत्पश्चात् सन् १८१५–१६ देखि ब्रिटिस सेनामा गोर्खालीले प्रवेश पाउँदै गए।

विप्रेषणवाट प्राप्त रकमले प्रतिव्यक्ति आयमा उल्लेखनीय सुधार गर्दै शैक्षिक विकासलगायत समग्र क्षेत्रको विकासका लागि सरकारलाई सहज अवस्था सिर्जना गरिदिएको छ। स्रोत देशका लागि वित्तीय विकासको प्रमुख आधार बनेको छ। ओडीएलगायतका विकासका लागि प्राप्त हुने वैदेशिक लगानीलाई समेत सन्तुलन कायम गर्न केही हदसम्म सफल भएको छ। उपभोग स्तरमा उल्लेखनीय वृद्धि हुँदा यसले वैदेशिक व्यापारको आकार ठूलो बनाएको छ। स्वास्थ्य सुविधा, पौष्टिक आहार, आबासको अवस्थामा सुधारका साथै शिक्षाको गुणस्तरमा समेत विकास हुँदै आएको छ। आर्थिक र गैरआर्थिक कारणले भूमण्डलीकरण र उदारीकरणको विकाससँंगै यो क्रमले तीव्रता प्राप्त गर्दै गएको हो।

विकासशील देशका लागि विप्रेसन महŒवपूर्ण वित्तीय स्रोत बनेको छ। देशको अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग पुगेको छ। जम्मा जनसंख्याको १० प्रतिशत वैदेशिक रोजगारमा जाँदा १.९ प्रतिशत बहुआयामिक गरिबीमा सुधार आउने गरेको देखिन्छ। नाइजेरियामा भएको एक अध्यनले विप्रेषणमा दश प्रतिशतले वृद्धि हुँदा गरिबी निवारणमा १.६ प्रतिशतले सुधार आउने गरेको छ। यो आँकडा लगातार दुई वर्षको अध्ययन गर्दा देखिएको हो। वैदेशिक रोजगारमा जाने श्रमिकको गुणस्तरमा उनीहरूबाट पार्ने प्रभाव जस्तै– उत्पादन, उत्पादकत्व स्रोत देशमा र श्रमिकको गन्तव्य देशमा देखा पर्ने श्रम बजारको अवस्थिति आदिबाट निर्धारित हुने गरेको छ।

उदाहरणका लागि अदक्ष श्रमिक ठूलो संख्यामा हुनु र प्राविधिक जनशक्ति जस्तै– आईटी विज्ञहरू पलायन हुँदा देशलाई पर्ने प्रभावमा पृथकता हुन्छ। यसबाट मुद्रास्फीति, वैदेशिक विनिमय, अन्तर्राष्ट्रिय श्रम  बजारमा प्रतिस्पर्धात्मक अवस्था घरजग्गा कारोबार आदिमा प्रत्यक्ष प्रभाव पर्छ। सुधार र विकासका विषयमा दीर्घकालीन प्रभाव नकारात्मक पर्छ। घरेलु उत्पादनमा ह्रास आई उत्पादन र उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्छ। स्रोत देशहरूका जनतामा उपभोग्य सामग्रीमा रकम खर्चिने प्रवृत्तिमा वृद्धि हुन्छ। यसबाट नेपालजस्तो देशका लागि आयात बढ्दै गई अन्तर्राष्ट्रिय व्यापार घाटामा वृद्धि हुन पुग्छ।

विकासशील देशहरूको अवस्था हेर्दा ओडीएबाट प्राप्त राशिभन्दा तेब्बर राशि डिप्रेषणाट प्राप्त भएको स्थिति छ। वैदेशिक प्रत्यक्ष लगानीभन्दा ज्यादा रकमको प्रवाह यसबाट भएको स्पष्ट छ। संकटग्रस्त अवस्थामा अर्थव्यवस्था गएको र संक्रमणकालीन समयमा बाह्य स्रोतका रूपमा ठूलो योगदान विप्रेषणले गर्दै आएको देखिएको छ। गरिब र सीमान्तकृत कमजोर वर्गका लागि जीवन निर्वाह गर्ने प्रमुख र महŒवपूर्ण स्रोतका रूपमा रहँदै आएको छ।

नेपाल पनि विप्रेषणको प्रभावबाट अलग रहन सकेको छैन। उल्लिखित प्रभाव अन्य विकासशील देशहरू जस्तै– नेपालमा पनि परेको छ। रोजगारका अवसर नगन्य हुँदै गएको अवस्थामा वैदेशिक रोजगारबाट अदक्ष र अर्धदक्ष जनशक्ति आफ्नो ऊर्जावान् जीवन विदेशी भूमिमा सेवारत रहन बाध्य बनेका छन्। यसबाट धेरै प्रकारका सकारात्मक प्रभाव परेका छन्। विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण स्रोत नेपालका लागि विप्रेषण नै हो यसले गर्दा भुक्तानी सन्तुलन कायम गर्न र अन्तर्राष्ट्रिय व्यापारमा विदेशी मुद्राको अभाव हुन नदिई निरन्तरता दिन सफल भएको छ। देशको आर्थिक वृद्धि र विकासमा केही योगदान गर्न सफल भएको छ। मध्यमस्तरीय उद्योग–व्यवसायमा लागानी भएकाले देशको आर्थिक विकास र वृद्धिमा दीर्घकालीन प्रभाव पार्ने अवस्था देखिँदैछ। समग्र समुदायको जीवनस्तरमा सकारात्मक रूपमा प्रभाव पारेको छ। विदेशबाट सिकेर आएका सीपयुक्त जनशक्ति नेपाल फर्किएपश्चात् उक्त सीपको केही हदसम्म सदुपयोग भएको अवस्था छ। सरकारले प्राप्त रकम र जनशक्तिको प्रभावकारी उपयोग गर्ने योजनाका साथ अग्रसर हुँदा नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने सम्भावना वैदेशिक रोजगारबाट प्राप्त भएको छ।

तर यसबाट देशलाई नकारात्मक प्रभावसमेत प्रशस्त परेको स्थिति छ। हालसम्म विप्रेषण रकम औपचारिक माध्यमबाट देशभित्र प्रवेश गराउनसमेत सरकार असफल हुँदा यसबाट प्राप्त राशिको सही आँकडा राष्ट्रसँग  रहेको अवस्था छैन। राजनीतिक अस्थिरता संक्रमणकाल देशभित्र स्थायी समस्याका रूपमा रहँदा सरकार स्पष्ट खाका र दीर्घकालीन सोचका आधारमा योजना र कार्यक्रम तथा उपयुक्त नीतिको अवलम्बन गर्न सकिराखेको छैन। जनसंख्या वृद्धिका कारण देशको अर्थव्यवस्था प्रभावित भइराखेको छ। भूमण्डलीकरण र उदारीकरणको कारण प्रदर्शनको प्रभाव अत्यधिक ज्यादा छ।

यसले गर्दा नेपालीको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ तर यसको स्थायी आधार र निरन्तरता दिन सक्ने अवस्था छैन। बस्तीहरू युवाविहीन भई वृद्धवृद्धा र बालबालिकामय बनेका छन्। यसले गर्दा युवाशक्ति आफ्नो देशको विकासमा उपयोग हुन नसकी अर्कै देशले उपयोग गरिराखेको छ। यो राष्ट्रका लागि दुःखद पक्ष हो। यसबाट राष्ट्रिय अर्थतन्त्रका साथै समग्र पक्षमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पर्छ। कृषि प्रधान देशको उर्वर भूमि उपोगविहीन बन्दै गएको छ। उत्पादक कार्य नहँुदा पनि क्रयशक्ति बढ्दै गएको छ यो प्रवृत्तिलाई अर्थतन्त्रमा सुधार नभई निरन्तरता दिन सकिँदैन। आर्जित रकम ऋण रकम चुक्ता गर्न र उपभोग्य सामग्री खरिद गर्दा प्रायः सकिन्छ।

आम्दानीको स्रोतको दिगोपनामा सधैं प्रश्न खडा भएको छ। यति ठूलो राशि देशभित्र प्रतिवर्ष आउँदा पनि रोजगारका अवसरमा सुधार, स्वास्थ्य, शिक्षा, न्यून आर्थिक वृद्धि, राजनीतिक सामाजिक र सांस्कृतिक परिवर्तनमा योगदान पुग्न सकेन। विप्रेषणको आकार वृद्धि हँुदा लगानीमा वृद्धि हुन सकेन। कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान हुँदै गर्दा त्यही अनुपातमा समग्र आर्थिक वृद्धि र आर्थिक विकास हुन सकेन। प्राप्त रकमको सदुपयोगबाट उल्ल्लेखनीय रूपमा समग्र कूल गार्हस्थ्य उत्पादनमा सुधार आउन सकेन। देशभित्र श्रमिक बजारमा संकुचन आयो। सीपयुक्त जनशक्ति र विप्रेसित राशिबाट उत्पादन र लगानीमा वृद्धि हुन सकेन।

अब चिन्तन गरौं, विप्रेषणबाट प्राप्त राशि र यसले पारेको समग्र प्रभावबाट दीर्घकालीन रूपमा देशलाई कस्तो प्रभाव पर्ला ? यो अस्थायी प्रकृतिको स्रोतमा संकुचन आउँदा देशले सामना गर्नुपर्ने समस्याबारेमा चिन्तन गर्नुपर्ने सही समय आएको छ। किनकि हाम्रा जनशक्ति प्राप्त गर्ने देशमा मलेसिया, कतार, साउदी, यूयोई अन्यमा क्रमशः ३०, २७.४, २०.२, १३.१ र ९.२  प्रतिशत खपत भइराखेका छन्।  आफ्ना देशका नागरिकले नगर्ने जोखिमयुक्त कार्य दिई आफ्नो देशको विकास गरिराखेका छन्। प्रायः सबै देश पेट्रो डलरबाट सञ्चालित छन्। यसको विकल्प तेल आयात गर्ने राष्ट्रले सोच्न थालिसकेका र विश्व बजारमा तेलको मागमा गिरावट आउने सम्भावना उत्तिकै प्रबल छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वव्यापी रूपमा कुनै समूह संलग्नता दिँदै आएका देशहरूले कुनै पनि समय हाम्रा श्रमिक स्वीकार नगर्ने नीति अवलम्बन गर्दा नेपालको अवस्थालाई निरन्तरता दिनेबारेमा देशका नीतिनिर्माता र सरकारले ध्यान दिएको अवस्था छैन। सरकारमा रहनेहरू सरकारबाट भएका गलत कार्यको विरोध गर्न सक्ने बेरोजगार युवालाई विदेशी भूमिमा पलायन गराएर आफ्ना सीमित कार्यकर्ताबाट गरिने प्रशंसा र समर्थनमा विश्वस्त भएका छन्। देशको अर्थतन्त्र विप्रेषणले थेगेको छ। यस अवस्थामा विप्रेषणमा आधारित हाम्रो अर्थतन्त्रबाट ठूलो समस्या देशभित्र आउन सक्छ। यसतर्फ जिम्मेवार निकायहरूको ध्यान जान सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.