२ सय २९ जनाले लगाए चिनियाँ खोप
भक्तपुर : भक्तपुरमा २ सय २९ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाएका छन्। मध्यपुर थिमि नपास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसम्म पुगेर उनीहरुले चिनियाँ खोप भेरोसेल लगाएका हुन्।
सरकारको घोषणाअनुसार भक्तपुरमा पनि बुधबारदेखि उक्त खोप दिन थालिएको हो। जसअनुसार पहिलो दिन बुधबार ५२ जना र बिहीबार दोस्रो दिन एकसय ७७ जनाले भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
उनका अनुसार यो खोप १८ देखि ५९ वर्षभित्रका प्राध्यापक, फलफूल तथा तरकारी व्यवसायी, चीनमा छात्रवृत्तिमा पढ्न जाने विद्यार्थी, होटल तथा ट्रेकिङ व्यवसायीहरुलाई दिने व्यवस्था गरिएको छ।
त्यस्तै हिमालय सीमापार व्यापार गर्ने नेपाली व्यापारी, औषधि व्यवसायी, इन्टरनेट तथा विज्ञापनको क्षेत्रका काम गर्ने व्यक्तिहरुलाई यो खोप दिने व्यवस्था गरिएको उनले बताए।
प्रमुख मिजारले पहिलो र दोस्रो चरणमा खोप लगाउन छुटेका अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुलाई पनि यो खोप दिने व्यवस्था रहेको जानकारी दिए। पहिलो र दोस्रो चरणमा भक्तपुरमा करिब १९ हजार ५ जनाले भारतबाट सहयोग प्राप्त तथा किनिएको कोभिसिल्ड खोप लगाएका थिए।
भक्तपुरमा भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल गरी दुई ठाउँमा खोप केन्द्र तोकिएको थियो तर अहिले नेपाल कोरिया मैत्री अस्पतालबाट मात्रै खोप दिइँदै आएको छ।
‘भक्तपुर अस्पतालमा पनि खोप केन्द्र व्यवस्थापन हुन्छ’, प्रमुख मिजारले भने, ‘पहिले जिल्लाबाट नै सबै व्यवस्थापन गरिएको थियो अहिले मन्त्रालयबाटै व्यवस्थापन हुँदै आएको छ।’
उनका अनुसार खोप लगाएका कुनै पनि व्यक्तिमा जटिल असर देखिएको छैन। खोप लगाएका व्यक्तिलाई करिब एकघन्टा अब्जरभेसनमा राखेर मात्रै घर पठाइएको छ। त्यस्तै खोप लगाएकालाई हुनसक्ने साइड इफेक्टबारे परामर्शसमेत गरिएको प्रमुख मिजारले बताए।
‘खोप लगाउँदा कसैलाई जटिल असर देखिए तत्काल उपचारको लागि आईसीयूसहितको व्यवस्था गरिएको छ’, उनले भने, ‘खोप लगाउँदा ज्वरो आउने, जाडो महसुस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छ।’
तर यी लक्षण एकदुई दिनमा आफै निको हुने ज्वरो लामो समय रहे सिटामोल खान सकिने चिकित्सकहरु बताउँछन्।
कोभिसिल्डको पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्छ तर भेरोसेल खोपको पहिलो डोज लगाएको ४ हप्तापछि दोस्रो खोप लगाउनुपर्छ। कोभिसिल्डभन्दा भेरोसेलको प्रभावकारिता प्रतिशत बढी रहेको दावी गरिएको छ।
चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल खोप सहयोग गरेको थियो। जसअनुसार करिब ४ लाख नेपालीलाई भेरोसेल खोप दिन थालिएको छ।
भक्तपुरका करिब ९ हजार ८ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।
कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइदिँदै एक स्वास्थ्यकर्मी। तस्बिर : ईश्वरकाजी खाइजू