कांग्रेसको प्रस्ताव, आफ्नै नेतृत्वमा सरकार

कांग्रेसको प्रस्ताव, आफ्नै नेतृत्वमा सरकार

काठमाडौं : कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको छ। प्रधानमन्त्रीको राजीनामा मागेको एक सातापछि कांग्रेसले शुक्रबार नयाँ सत्ता समीकरणको पहल थालेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘कांग्रेसको प्रस्तावउपर नेकपा माओवादी केन्द्रबाट सकारात्मक धारणा आएको छ। उहाँहरूले हामी सुरुदेखि नै यसका पक्षमा छौं भन्नुभयो’, कांग्रेस प्रवक्ता शर्माले भने, ‘जनता समाजवादी पार्टीले समय मागेको छ।’

जसपाका नेताले कांग्रेसले पहिलो पटक सरकार गठनबारे औपचारिक प्रस्ताव गरेको भन्दै पार्टीमा छलफल गरेर विधिवत् निर्णयमा पुग्ने जवाफ दिएका हुन्। ‘पहिलो पटक कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे औपचारिक प्रस्ताव गरेको छ। हामी अब छलफल गरेर टुंगोमा पुग्छौं’, जसपाका अध्यक्ष महन्थ ठाकुरले भने, ‘नयाँ सरकार गठनबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन। बैठक बसेर विधिवत् निर्णय गर्छाैं।’

बैठकमा जसपा नेताहरूले आफ्ना माग सुनाएका थिए। उनीहरूले मधेस आन्दोलनका बेला नेता कार्यकर्तामाथि लगाइएका मुद्दा, जेल परेकाहरूको रिहाई, संविधान संशोधनलगायत माग उठाएका थिए। सरकारले आफ्ना मागको सम्बोधन गर्न काम अगाडि बढाएको जानकारी जसपा नेताहरूले गराएका थिए।

‘हाम्रा मागबारे सरकारले प्रक्रिया अगाडि बढाएको कुरा ग¥यौं। देउवाजीले म पनि गरिहाल्छु नि भन्नुभयो’, जसपा अध्यक्ष ठाकुरले भने, ‘कुनै निष्कर्षमा पुगेका छैनौं। फेरि बैठक बस्छौं।’

जसपाभित्र यो सरकारलाई सहयोग गर्ने कि नयाँ सरकार गठन गर्ने भन्नेमा एकमत छैन। अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतोलगायत पूर्वराजपा पक्षधर नेता यही सरकारलाई नै समर्थन गर्नुपर्ने पक्षमा छन्। अर्का अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठनबन्धन गर्नुपर्ने अडानमा छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘संविधानविरोधी र निरंकुश सरकार’को विकल्प खोज्नुपर्ने पक्षमा सुरुदेखि आफ्नो पार्टी भएकाले देउवाको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताए। ‘माओवादीले संविधानको स्पिरिटिविरुद्ध गएको, निरंकुश बनेको ओली सरकारलाई हटाएर संविधान र लोकतन्त्रको रक्षा गर्न चाहने शक्तिको सरकार बनाआँै भन्दै आएका हौं’, नेता श्रेष्ठले भने, ‘कांग्रेसको प्रस्तावलाई सकारात्मक रूपमा लिएका छौं।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी प्रधानमन्त्रीका रूपमा देउवालाई अघि बढ्न पटक–पटक प्रस्ताव गरेका थिए। संसद्मा सरकार बनाउन अंकगणित नपुग्ने आकलन गरेका देउवा मौन रहँदै आएका थिए। तर, केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि देउवा दबाबमा परेका हुन्। कांग्रेसभित्रै कतिपय नेताले देउवाले सरकार गठनका लागि पहल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

‘छलफल सकारात्मक भएको छ। सरकार गठन गर्नेबारे औपचारिक रूपमा पहिलो पटक छलफल भएको छ। हार्दिकतापूर्वक बैठक बसेको छ’, कांग्रेस प्रवक्ता शर्माले भने, ‘जसपाले समय मागेको छ। अब छिट्टै जसपाले निर्णय गरेर सरकार गठनको प्रक्रियामा जाने गरी चाँडै अर्काे बैठक बस्ने सहमति भएको छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.