बालप्रतिभामा विश्व लगानी
‘वचपन बचाओ आन्दोलन’ का सफल अभियन्ता भारतीय समाजसेवी कैलाश सत्यार्थीले नोबेल शान्ति पुरस्कार पाएलगत्तै नेपालमा एक आमसभालाई सम्बोधन गर्दै भनेको थिए, ‘हामी सबैभित्र एउटा–एउटा बालक हुन्छ। उमेरसँगै हामी त्यस बालकलाई मार्दै जान्छौं। आवश्यकता त्यस बालकलाई बचाइरहनुको छ।’ उनको तात्पर्य थियो, हामीभित्र विद्यमान स्वार्थरहित माया, ममता र समवेदना बालसुलभ गुणहरू हुन्। यी गुण हामीभित्र रहेनन् भने हाम्रो सभ्यता जोखिममा पर्न जान्छ। जुन बालकहरू मानवीय सभ्यताका यति महत्त्वपूर्ण अवयवहरू हुन्, तिनको विकास, खुसी र स्वतन्त्रता हाम्रो चिन्तनको कुन पाटोमा छ ? नेपालकै सन्दर्भमा कूल जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगटेका हाम्रा बालबालिका हाम्रो कूल लगानीको कति प्रतिशतका लाभग्राही हुन् ? यी विवेचनाका विषय हुन्।
जुन देशको बालसाहित्य कमजोर छ, त्यस देखको विकासको सूचकांक पनि कमजोर छ। झट्ट सुन्दा साहित्य र विकासबीचको तादम्य बुझ्न कठिन लाग्ला तर यो एक वैज्ञानिक यथार्थ हो। कमजोर बालसाहित्य भएको देशमा बालकहरूसँग चिन्तनशील, कल्पनाशील र सिर्जनशील बनाउने प्रेरक तत्तवहरू नै हुँदैनन्।
शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा बाहेक बालबालिकामाथि सरकारहरू गम्भीर रूपमा लगानी गर्दैनन्। यसका प्रमुख दुई कारणहरू देखिन्छन्। प्रथम, बालबालिकाहरू मतदाता होइनन्। त्यसैले, मतदान प्रक्रियाबाट सत्तामा पुगेका सरकारहरू बालबालिकामाथि लगानी गर्ने क्रममा उदासिन देखिन्छन्। दोस्रो, बालबालिकाका आफ्नै प्रतिनिधि नीतिनिर्माण गर्ने तहमा हुँदैनन्। त्यहाँ भएका वयस्कहरू आफ्नै उमेरजन्य आग्रहहरूमा बढी केन्द्रित भएको पाइन्छ। यसो नहुँदो हो त नेपालमा सरकारी पहलमा बालसाहित्य र संगीतको पनि प्रवर्द्धन हुने थियो। बालचित्रकलाको प्रोत्साहनका लागि केही व्यवस्था हुन्थ्यो। सरकारी पहलमा बालउद्यानहरू खुल्ने थिए। बालबालिकाका लागि खेलमैदान र खेलकुदको व्यवस्था हुने थियो। सिर्जनशील बच्चाहरूलाई सरकारी आड हुने थियो। प्रतिभाहरू ढुक्क हुन पाउने थिए। अरुचीका अन्य क्षेत्रतिर उनीहरूको पलायन रोकिने थियो।
आज हाम्रा सहरहरूमा हाम्रा बालबालिका साँझबिहान कतै भेला भएर गीत गाउने, नाच्ने वा चित्र कोर्ने कुनै थलो छ ? खेल्ने वा रमाउने कुनै स्थान छ ? उनका सिर्जना चिन्ने, प्रवर्द्धन गर्ने र अगाडि लाने कुनै सरकारी व्यवस्था छ ? होनहार र जेहेन्दार सर्जकलाई माथि लान्छु भनेर जिम्मा लिने सरकार छ ? बिरामी पर्दा जीवनको प्रत्याभूति दिलाउने अभिभावकजस्तो राज्य छ ? यस्ता अनेक प्रश्नहरूको एउटै उत्तर हो, ‘छैन।’ उल्लेखित कुराको अभाव नेपालको एउटा कटु यथार्थ हो। सरकार होस् या नागरिक, वयस्कहरू वयस्ककै ध्याउन्नमा अल्झिएका छन्। स्कुलका पाठ्यक्रमका आवश्यकतापूर्तिका लागि गरिएका पहल तथा विद्यार्थी तान्न गरिएका भ्रामक तडकभडकको दृष्टान्त दिएर सरकार वा हामी उम्कने ठाउँ छैन। हामी जुन कल्पना हाम्रा ससाना बालबालिकाको भविष्यकाका लागि गर्छौं, त्यसको पूर्वाधार बनाउने क्रममा हामी कहाँनिर छौं, यो एउटा गम्भीर आत्मचिन्तनको विषय हो।
नगरी नहुने आधारभूत तथा अनिवार्य सेवाहरूको दृष्टान्त दिएर खूब गरेको दाबी गर्न मिल्दैन। हामीले हाम्रा बालबालिकाको स्वास्थ्य, शिक्षा र खानपानको कुरा गरिरहँदा उनका खुसी, रहर र आनन्दका कुरा छुटाइरहेका हुन्छौं। उनका अभिरुचीमा हाम्रो ध्यान पुगिरहेको हुँदैन। लेखन, चित्रकला, खेलकुद, गायन र अभिनयजस्ता आत्मिक खुसी र आनन्दका मार्गमा उनीहरूलाई डोहोर्याउने हेतुले ठोस व्यवस्था हुनु नितान्त आवश्यक छ। अमेरिकी चिन्तक सेथ लिलर भन्छन्, जुन देशको बालसाहित्य कमजोर छ, त्यस देखको विकासको सूचकांक पनि कमजोर छ। झट्ट सुन्दा साहित्य र विकासबीचको तादम्य बुझ्न कठिन लाग्ला तर यो एक वैज्ञानिक यथार्थ हो। कमजोर बालसाहित्य भएको देशमा बालकहरूसँग चिन्तनशील, कल्पनाशील र सिर्जनशील बनाउने प्रेरक तत्त्वहरू नै हुँदैनन्। उनीहरूको शिक्षामा खुसी र आनन्दको पाटो छुटिरहेको हुन्छ। यसरी हुर्केका बालबालिका वयस्क हुँदा नवीन विचार र सोच निर्माण गर्नै सक्दैनन्। देश स्वतः पछि पर्छ।
यस अवधारणालाई थप बुझ्न हामी संसारका केही मुलुकको उदाहरण हेरौं। सधैं समृद्ध बालसाहित्य भएका फिनल्यान्ड, नर्वे र डेनमार्कजस्ता स्केन्डिनेभियाली देश तथा अमेरिका, रुस र बेलायतजस्ता मुलुक विकासमा विश्वका अन्य मुलुकभन्दा निकै माथि छन्। एसियामै पनि बालसाहित्यको लामो परम्परा भएका चीन र भारत विकासको नयाँ उचाइतिर अग्रसर छन्। कमजोर मुलुकको फेहरिस्त दिइरहनु नपर्ला। नेपालबाहिर बालबालिकाका लागि सरकारी पहलमा केके गरिएका छन्, त्यसको फेहरिस्त लामो छ। तिनका परिणाम पनि आकर्षक छन्। स्विडेन सरकारकै पहलमा एस्ट्रिड लेन्डग्रेन मेमोरियल अवार्डको स्थापना गरिएको छ। यसले बालसाहित्यको प्रवर्द्धन त गर्छ नै बालसाहित्यमा संसारकै सबैभन्दा ठूलो धनराशी अर्थात् करिब साढे ६ करोड नेपाली रुपैयाँ बराबरको पुरस्कार पनि प्रदान गर्छ।
अमेरिकामा प्रत्येकजसो राज्यका सरकारहरूले बालसिर्जनाको प्रवर्द्धनका लागि प्रतिष्ठानहरू बनाएका छन्। दक्षिण अफ्रिकामा पनि। भारतमा बुक ट्रस्ट अफ इन्डिया पुस्तक प्रकाशनका लागि गठित एक सरकारी व्यवस्था हो, जसको ठुलो हिस्सा बालसाहित्यमा केन्द्रित छ। ट्रस्टको एउटा शाखा नेहरू पुस्तकालय हो, जुन पूर्णतः बालसाहित्यमा केन्द्रित छ। भारतको साहित्य एकेडेमीले केही वर्षअघि बालसाहित्यका लागि छुट्टै पुरस्कारको घोषणा गरेको छ, जुन भारतको संविधानले मान्यता दिएका सबै भाषाका बालसाहित्यकारलाई प्रदान गरिन्छ। भारत सरकारले बालसाहित्यकारहरूलाई पद्म पुरस्कार दिएको दृष्टान्त धेरै छन्। बालसाहित्यकार मनोरमा जफा एक उदाहरण हुन्।
छिमेकी मुलक बंगलादेशसँग बालसाहित्यको लामो र समृद्ध अनुभव छ। केही दशकअगाडि उक्त परम्परालाई अझ समृद्ध बनाउने हेतुले त्यहाँको सरकाले नै बंगलादेश सरकारले शिशु एकेडेमीको गठन गरेको छ जसले बालबालिकाका सिर्जनाका हरेक पक्षमा काम गर्छ। युरोप र अमेरिकाका अनेकन विश्वविद्यालयमा स्नातकोत्तर तहमा बालसाहित्यको अध्ययन र अनुसन्धान हुन्छ, जसको प्रत्यक्ष प्रभाव बालसाहित्यको समग्र क्षेत्रमा परिरहेको हुन्छ। फिलिपिन्समा विशेष कानुनको व्यवस्था गरेर त्यसैको मातहतमा राष्ट्रिय पुस्तक विकास बोर्डको गठन गरिएको छ, जसको मूल उद्देश्य बालबालिकाका लागि साहित्यको निर्माण र प्रवर्द्धन गर्नु हो। लाओस सरकारले बालबालिकाको साहित्यिक–सांस्कृतिक विकासका लागि लुआङ प्रबाङ सांस्कृतिक केन्द्रलाई सञ्चालनमा ल्याएको छ।
यसैगरी सन् १९५२ मा सर्बियाली सरकारको पहलमा बेल्ग्रड कल्चरल सेन्टर बालबालिकाको विकासका लागि गठन गरिएको छ। उता फिन्ल्यान्डमा त्यहाँको शिक्षा तथा संस्कृति मन्त्रालयको पूर्ण अनुदानमा विभिन्न बाल सांस्कृतिक केन्द्र सञ्चालनमा छन् र ती सबै एक महासंघमा आवद्ध छन्, जसलाई एसोसिएसन फर फिनिस कल्चरल सेन्टर्स भनिन्छ। कोरिया, फ्रान्स तथा जापानजस्ता देशहरूमा बालसाहित्यकेन्द्रित प्रतिष्ठानहरू क्रियाशील छन्। बालबालिकाकै लागि सञ्चालित पुस्तकालयको संख्या भने अझै ठूलो छ। यी देशहरूले एउटा सिर्जनशील तथा प्रसन्न पुस्ता कोरलिरहेका छन् जसले ती देशको भविष्यको उत्तराधिकार ग्रहण गर्नेछन्।
यस्तै पहल हाम्रो देश नेपालमा पनि हुनुपर्ने देखिन्छ। सीमित संशाधनमा चल्ने नेपाल एकेडेमीभित्र बालसाहित्यको एउटा सानो विभाग गठन गरेर पुग्दैन। एउटा मन्त्रालय छ, जसमा एकै ठाउँ महिला, बालबालिकाका र ज्येष्ठ नागरिकका सरोकार मिसाइएको छ। यसो गरिनुले बालबालिका उपेक्षित क्षेत्र हुन् भन्ने सरकारी आशय बुझ्न कठिन हुँदैन। यी सबै प्रश्नहरूको उत्तरमा एउटा छुट्टै बाल प्रज्ञाप्रतिष्ठानको गठन हुनसक्छ, जसले बालबालिकाका लागि साहित्य, संगीत, चित्रकला, मूर्तिकला, रंगमञ्च, चलचित्र, कार्टुन आदि सिर्जनाका विविध पक्षमा काम गरोस्।
बालबालिकाको आफ्नो क्षमताको विकास र प्रवर्द्धनमा ध्यान देओस् र सर्जकहरूलाई एउटा सम्मानित कर्मक्षेत्र देओस्। यस्तो व्यवस्था भएको खण्डमा छरिएका व्यवस्था र कार्यक्रमहरूलाई एकीकृत गर्न सकिन्छ। यति भइदियो भने सायदै यस क्षेत्रले फड्को मारेको हेर्न लामो समय कुर्नु पर्नेछ।