कालो बादलभित्र चाँदीका घेरा

कालो बादलभित्र चाँदीका घेरा

फागुन ७ गते देशमा राणा शासन हटेर प्रजातन्त्र प्राप्त भएको सात दशक पुगेको छ। १९०३ सालको कोतपर्व र भण्डारखाल पर्वपछि देशको राजकीय सत्ता हत्याउँदै श्री ३ जंगबहादुर राणाले जहानियाँ शासन सुरु गरेका थिए। यो क्रम उनका उत्तराधिकारीहरूमार्फत मुलुकमा १०४ वर्ष लम्बियो। दैवीशक्तिको दुहाई दिँदै वंशानुगत विरासतको आधारमा शासनसत्तामाथि हालीमुहाली गर्दै आएका राजाहरूको अवस्था नै दयनीय बनेको त्योबेला जनताको हालत कति नाजुक थियो, सहजै अनुमान गर्न सकिन्छ।

बाहिरी देशहरूबाट नेपाललाई बचाउन पनि राणाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राणाहरू बेलायतसँग नजिक हुँदाहुँदै बेलायत र भारत दुवैसँगको सम्बन्धलाई सन्तुलित बनाउनसमेत चुकेका थिएनन्।

राणाकालीन समयमा जनतामाथि लादिएको हरेक अत्याचारको साक्षी मुलुकको इतिहास त छँदैछ, यसबाहेक लेखक तथा विश्लेषकहरूमार्फत त्यो कालो इतिहासका कष्टपूर्ण तथ्यहरू नयाँ पुस्तामा निरन्तर प्रवाहित भइरहेको छ। निःसन्देह राणाकाल नेपाल र नेपालीका लागि क्रुर कालखण्ड त थियो नै, तर त्यो अत्याचारी युगको अन्तरकुन्तरमा तत्कालीन देश र समाजलाई सकारात्मकतातिर डोर्‍याउने युगान्तकारी कामहरू पनि भएका थिए। भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ तथा इ–रोजको ‘नेपाल स्ट्राटेजी फर सर्भाइभल’ लगायतका पुस्तकमा ती पक्षहरू केही हदसम्म समेटिएका छन्। 

नेपाली इतिहासको सबैभन्दा कलंकित अध्याय सन् १८१६ मा नेपाल–अंग्रेजबीच भएको ‘सुगौली सन्धि’ हो। यसका प्रमुख पात्र भिमसेन थापाको अदूरदर्शी कदमबाट नेपालले झण्डै एक तिहाई भूभाग गुमाउनु पर्‍यो। अंग्रेज शक्तिको आँकलन नगरी टक्कर लिन खोजेकै कारण त्यति ठूलो भूभाग उनले भारतमा साम्राज्य जमाइरहेको अंग्रेजहरूलाई बुझाएका थिए। यसको ठीकविपरीत देशलाई ठुलो खतरा कसबाट छ भन्ने निक्र्यौल गरी सोहीअनुसार चल्न सक्ने बुद्धिमत्ताकै कारण जंगबहादुर राणाले सुगौली सन्धिमा गुमेको केही भाग पुनः नेपालमा गाभेका थिए।

सन् १८५७ तिर भारतीय राज्यहरू अंग्रेजलाई देशबाट लखेट्न सशस्त्र संघर्षरत थिए। त्यसका लागि उनीहरूले नेपालबाट फौजी सहयोगको अपेक्षा राख्नु अस्वाभाविक थिएन तर भारतीयहरूलाई सहयोग गर्दा अंग्रेज रिसाएर त्यसको मुल्य नेपालले चुकाउनुपर्ने निष्कर्ष जंगबहादुरको थियो। सोहीअनुसार भारतीय रजौटाहरूको साटो कम्पनी सरकारलाई नै उनले सैनिक सहयोग उपलब्ध गराए। नेपालसमेतको फौजी सहायताबाट अंग्रेजलाई सफलता मिल्यो। जंगबहादुरको त्यस सहयोगप्रति सदाशयता जनाउँदै अंग्रेजले सुगौली सन्धिमा गुमेमध्येको बाँके बर्दिया, कैलाली, कञ्चनपुर खुसीसाथ नेपाललाई फिर्ता गर्‍यो जुन ‘नयाँ मुलुक’ भनेर चिनिन्छ।

कठोर शासनशैलीका कारण दुनियाँको पीरमर्काप्रति कुनै संवेदना नभएको क्रुर शासकको रूपमा जंगबहादुरको चिनारी इतिहासमा स्थापित छ तर सामाजिक न्याय ठहर्ने केही कार्यसमेत उनले गरेका थिए। सतीप्रथा तत्कालीन समाजको नारी उत्पीडन र अमानवीयताको चरम रूप थियो। दिवंगत पतिसँग पत्नी÷पत्नीहरू जिउँदै जल्न विवश थिए। त्यस बर्बर प्रथालाई कम गर्दै लाने उद्देश्यले जंगबहादुरले ‘१६ वर्षभन्दा कमका विधवा महिला र ९ वर्षभन्दा कम उमेरका सन्तान भएका महिलाले लोग्नेसँगै सती जानु पर्दैन’ भन्ने व्यवस्था मुलुकी ऐनमा गरे। केही आफन्त बित्दा तिनका पत्नीलाई सती जान उनले रोकेका थिए तर नारीहरूले नै पतिको चितामा जल्नुलाई धर्म सम्झने धार्मिक अन्धविश्वासभित्र जकडिएको कुप्रथा उनको कार्यकालमा हटेन। उनकै मरणपछि ३ पत्नी उनीसँगै सती गए।

देशमा पहिलो लिखित कानुन ल्याउने श्रेय पनि उनैलाई जान्छ यद्यपि चौधौं शताब्दीमा राजा जयस्थिति मल्लले जारी गरेको ‘मानव न्यायशास्त्र’ लाई पहिलो कानुन मान्नेहरू पनि प्रशस्तै छन्। तर एकीकृत नेपालको हकमा १९१० सालमा जारी भएको मुलुकी ऐन नै पहिलो कानुन हो भन्नेमा भने विवाद देखिँदैन। पूर्णरूपमा हिन्दू दर्शन लादिएको, जातको आधारमा अपराधीलाई दिइने सजायमा विभेदपूर्ण व्यवस्था गरिएको र जनतालाई अधिकार दिलाउनुभन्दा बढी कर्तव्य सुझाइएको लगायतका आधारमा मुलुकी ऐनमाथि आलोचनात्मक टिप्पणी गर्नेहरू पनि नभएका होइनन् तर अहिलेसम्म बनेका सबै कानुनको जननी बन्ने हैसियत सोही मुलुकी ऐनले प्राप्त गर्‍यो।

तत्कालीन समाज दासप्रथाबाट पनि उति नै कलंकित थियो। तल्लो हैसियतका मानिस पशुझैं किनबेच हुन्थे। मालिकहरूलाई दासहरूप्रति जस्तोसुकै अमानवीय व्यवहार गर्ने छुट थियो। विकिपिडियाका अनुसार त्यतिबेलाको कुल जनसंख्या ५५ लाख ७३ हजार ७ सय ८८ मध्ये ५९ हजार ५ सय ७३ दासदासी थिए। भोकमरीले ग्रस्त तराईका जनतालाई खाद्यान्न वितरण गर्न जंगबहादुरले पहलकदमी लिएपछि भारतबाट समेत नेपालमा दासहरूको ओइरो लागेको थियो। ती दासहरूलाई पनि उनले निश्चित कोटाको खाद्यान्न वितरण गरेका थिए तर प्रथा नै हटाउने उद्देश्यले मुलुकभित्र दासको खरिद बिक्री रोक्न, भारतीय दासहरूलाई छिटो मुक्त गर्न, अन्य ठाउँमा भागिगएका दासहरूलाई पुनः दास नबनाउन तथा छोराछोरीको बिक्री नगर्न आदि आदेश दिएर जंगबहादुरले दासप्रथाविरुद्ध आफूलाई उभ्याएको भिमबहादुर पाँडेको पुस्तकमा छ। तर सतीप्रथाझैं दासप्रथा पनि उनको कार्यकालमा भने हट्न सकेन।

देशको भूभाग सुरक्षामा समेत उनी निकै सतर्क थिए। ‘नयाँ मुलुक’ नेपालभित्र गाभिएपछि दसगजा इलाकामा सीमा सुरक्षाकै लागि उनले जंगेपिलर बनाउन लगाए। बेलायत भ्रमणबाट फर्किएपछि अंग्रेजी शिक्षाको सुरुआत गर्ने तथा विदेशी शैलीका भवन निर्माण गर्ने श्रेय उनैलाई जान्छ। सडक विस्तारतर्फ पनि उनको ध्यान पुगेको देखिन्छ। २०६५÷०६६ मा निर्माण सुरु गरिएको हुलाकी राजमार्ग (जसलाई मधेसी जनताको जीवनस्तर उचाल्ने महŒवपूर्ण कडीको रूपमा हेरिएको छ)को रेखांकनको काम जंगबहादुरकै पालामा भएको सिके लाललाई उधृत गर्दै सुजित महतले लेखेका छन्। उतिबेलै रेखांकित सडक यति पछि आएर निर्माण हुनुलाई भने नेपाली विकास प्रणालीको बिडम्वना नै मान्नुपर्छ।

क्रुर शासकमा दरिएका अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरको लगभग २९ वर्षे शासनकाललाई निरंकुशताको पराकाष्ठा नै ठानिन्छ। फ्रान्सेली राजा लुई चौधौंको ‘म नै राज्य हुँ’ भन्ने हठ उनको हकमा पनि लागू हुने इतिहासकार बताउँछन्। उनको क्रोध मात्रै हैन, हाँसोमा समेत कुटिलता लुकेको ‘चन्द्रेले हाँस्यो कि नास्यो’ भन्ने तत्कालीन जनउक्तिबाट थाहा पाउन सकिन्छ। तर त्यही निरंकुश शासकले केही त्यस्ता राम्रा कामहरू गरे, जसद्वारा निर्मित उनको व्यक्तित्व माथिको सकारात्मक चर्चा आज पर्यन्त रोकिएको छैन।  

जंगबहादुर र वीर शमशेरले प्रयास गरेर पनि नहटेको सती प्रथा पूर्णरूपमा हटाउने श्रेय चन्द्र शमशेरलाई जान्छ। १९७७ असार २५ मा देशैभर सतीप्रथामाथि प्रतिबन्ध लगाएर उनले सफलता हासिल गरेका थिए, नभए कति पुस्तापछिसम्म नारीहरूले सोही नियती भोग्नु परिरहन्थ्यो। समाजको अर्को कलंक दासप्रथा पनि उनैले हटाएका थिए। १९८२ वैशाख १ गते चन्द्रशमशेरकै प्रयत्नमा दासप्रथा उन्मुलन भएको थियो। त्यतिबेला लगभग १५ हजार ७ सय १९ मालिकले ५९ हजार ५ सय ७३ दास कज्याएका थिए। दास मोचन गर्ने क्रममा मालिकहरूले राजीखुसीसाथ आफ्ना दासहरू निःशुल्क मुक्त गरुन् भन्ने उद्देश्यले उनले वक्तव्य जारी गरेका थिए।

सोही कारण लगभग ५ हजार मालिकले बिनाशुल्क दासलाई मुक्ति दिलाए भने ५१ हजार ५ सय ८३ जनालाई सरकारले क्षतिपूर्ति तिरेर मुक्त गरेको विकिपिडियामा छ। दासत्वबाट अमलेख गरिएका व्यक्तिहरूको बसोबासको व्यवस्था पनि मिलाइएको थियो जसको नाम नै अमलेखगञ्ज रहन गयो। यी दुई ठूला सामाजिक कलंक हटाउनुका साथै शिक्षाको मामिलामा पनि उनले उदारता देखाएका थिए। पहिलो क्याम्पस (त्रि–चन्द्र) उनैले खोलेका थिए। त्यसबाहेक देश विकासका महत्वपूर्ण पूर्वाधार उनैको पालामा सुरु भएको पाइन्छ।

फर्पिङको जलविद्युत् परियोजना, मकवानपुर–मातातीर्थ रोपवे, वीरगञ्ज–अमलेखगञ्ज रेलसेवा तथा अमलेखगञ्ज–भिमफेदी सडक यातायात चन्द्रशमशेरका अन्य देनहरू हुन्। देशको भौगोलिक अवस्था अनुसार जहाँ जे उपयुक्त हुन्छ सोही खाले यातायातका साधन प्रयोगमा ल्याउने गरी पूर्वाधार तयार गर्नु सानो काम थिएन। त्यतिबेला पूर्व मेचीदेखि पश्चिम डोटीसम्मको बाटोमा पर्ने अधिकांश ठूला नदीहरूमा झोलुंगे पुल हाल्ने कामले निकै व्यापकता पाएको इतिहासविद्ले जनाएका छन्। पूर्वाधार विकासका साथै कृषि क्षेत्रलाई पनि उनले उचाल्न खोेजेको पाइन्छ। यस क्रममा १९८५ सालमा बनेको चन्द्रनहर एउटा उदाहरण हो। उक्त नहर तत्कालीन समयमा आधुनिक सिँचाइ प्रणालीको सशक्त माध्यम त थियो नै, अहिले पनि सप्तरीको १० हजार ५ सय हेक्टर जमिन यसैबाट सिञ्चित भइरहेको सरकारी रेकर्डलाई पत्रकार मोहन मैनालीले लेखमा उल्लेख गरेको पाइन्छ।

बाहिरी देशहरूबाट नेपाललाई बचाउन पनि राणाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राणाहरू बेलायतसँग नजिक हुँदाहुँदै बेलायत र भारत दुवैसँगको सम्बन्धलाई सन्तुलित बनाउनसमेत चुकेका थिएनन्। राष्ट्रलाई नकारात्मक असर पुग्ने सवाल जुनसुकै ठूला देशबाट आए पनि त्यसलाई अस्वीकार गर्ने हिम्मत उनीहरूसँग थियो। १९८० को नेपाल–ब्रिटेन मैत्रीसन्धीलाई चन्द्रशमशेरले अत्यन्तै सुझबुझ अपनाएर गरिएको त्यस्तै एक महत्वपूर्ण काम ठानिन्छ जसले नेपालको अस्तित्व अटल राख्दै बेलायतलाई समेत नेपालको आन्तरिक र बाह्य स्वतन्त्रताप्रति प्रतिबद्ध रहने दायित्व सृजना गरेको मैनालीको लेखमा छ। निरंकुशताको बाबजुद यी र यस्तै केही सकारात्मक कामहरू राणाकालीन कालो बादलभित्र चम्किएका चाँदीका घेरा हुन् भन्न सकिन्छ।

यसबाहेक केही श्री ३ हरू उदार भावले देश र जनताको भलाई गर्ने स्वभावका थिए। देव शमशेर, पद्म शमशेर यसका उदाहरण हुन्। देव शमशेरमा सुधारवादी दृष्टिकोणको साथै देश र जनताको भलो गर्नुपर्छ भन्ने धारणा थियो। धेरै उल्लेखनीय काम सुरु पनि गरेका थिए तर उनको उदार प्रवृत्ति जहाँनिया शासनका लागि प्रत्युत्पादक ठहर्ने चिन्ताले चन्द्र शमशेरद्वारा उनी ५ महिनामै हटाइएका थिए। आफूलाई ‘राष्ट्रको नोकर’ ठान्ने श्री ३ पद्म शमशेर पनि निरंशुक शासनभित्रको उज्याला नक्षत्र मानिन्छन्।

पद्मोदय हाइस्कुल, पद्मकन्या क्याम्पसजस्ता शैक्षिक संस्था, पूर्व–पश्चिम सडक, हुलाकी राजमार्ग निर्माण, पहिलो चुनाव (नगरपालिका) गराउने तथा पहिलो संविधानको रूपमा वैधानिक कानून २००४ जारीजस्ता कामहरू यिनका पालामा भएका थिए। यद्यपि उनले गरेका सुधारका कामहरू उनैका लागि चुनौती बनेर तेर्सियो जसका कारण उनी पनि चाँडै सत्ता त्याग्न बाध्य बनाइए परिणामतः उनले जारी गरेको कानुन र गर्न खोजेका अन्य कामहरूले मुर्त रूप पाउन सकेनन्।

अहिले राष्ट्रपतिको निवास÷कार्यालय रहेको शितल निवास होस् या प्रधानमन्त्री कार्यालयदेखि अधिकांश मन्त्रालय र सरकारी कार्यालय रहेको सिंहदरबार राणाहरूले नै निर्माण गरेका भौतिक संरचना हुन्। जुन आज पर्यन्त सरकारी तवरबाटै उपयोग भइरहेका छन्। त्यतिबेला युरोपियन शैलीमा राणाहरूले जे जति विशाल भवन निर्माण गरे, तीसँग तुलना हुने गरी यो ७० वर्षे अवधिमा सरकारी तवरबाट पनि कुनै भवन बनेका छैनन्। वीर अस्पताल, वीर पुस्तकालय, घण्टाघर, जारुणयन्त्रजस्ता जनताको स्वास्थ्य, सचेतना, सूचना र सुरक्षासँग सम्बन्धित संरचना र उपकरण आदि पनि राणाहरूकै देनभित्र पर्दछन्। तसर्थ, राणाहरूले १०४ वर्षसम्म लादेको निरंकुशतन्त्रप्रति मात्रै कटाक्ष गर्ने कि आजसम्म प्रभाव पार्नेगरी उनीहरूबाटै भएका राम्रा कामप्रति पनि अनुगृहित हुने ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.