मानवको पक्षमा मोक्षभूमि
मोक्षनगरको नगरपिता सत्यदेवको भर्खरैमात्र मृत्यु भएको हुन्छ र त्यो दुःखबाट मान्छेहरू विस्तारै नियमित जीवनमा फर्किदै हुन्छन्। मोक्षनगर एक नयाँ नगर हुन्छ। जसलाई खस सम्राट क्राचल्लदेवले मुक्त गरेका दासहरूले बल, बुद्धि र सपनालाई एकाकार गरेर निर्माण गरेका हुन्छन्। सत्यदेवको मृत्युपछि मोक्षनगरको पहिलो नगरसभा बस्छ र नयाँ सभानायक छानिन्छ भार्गदेव। उसले मुक्त दासहरूको जीवन संघर्ष र प्रेरणाका कथाहरू समेटेर इतिहास लेख्ने उद्घोष गर्दछ।
त्यही उद्घोषको प्रेरणाले लेखिएको उपन्यास हो– मोक्षभूमि। अर्थात् यो इतिहासले बिर्सेका मान्छेहरूको अस्तित्वको काव्यिक इतिहास हो। दासहरूको संघर्षको गाथा हो। इतिहासले हेपेका र परित्यक्त बनाइएका शिल्पीहरूको आख्यान हो। मुख्यतः दासहरूले आफूलाई बाँध्ने जञ्जिरहरू तोडेर कसरी आफ्नै श्रम र पसिनाले नयाँ संसारको निर्माण गरे, त्यसको कथा हो मोक्षभूमि। यो मानव स्वतन्त्रताको बृहत्तर काव्य त हुँदै हो सँगै हो मानव श्रेष्ठताको आख्यान पनि।
उपन्यासलाई समाज रूपान्तरणको एक अस्त्र मान्ने हो भने लेखकले ब्राह्मण कन्या राधा र मुक्तदास कृष्णदेवको बिहे गराई दिएर सामाजिक रूपान्तरणको अभियानमा क्रान्तिकारी कदम चालिदिएको भए समाजलाई न्याय हुन्थ्यो। तर उनीहरूको प्रेम वियोगान्त छ।
केशव दाहालको यो उपन्यास किताब पब्लिसर्सले प्रकाशन गरेको हो। यसले मानव सभ्यताका अनेकौं कथाहरूमा डुबुल्की मार्न प्रेरित गरेको छ। उपन्यासले मुख्यतः सम्वत् १२८०–१२९० बीचको कुरा गर्छ। त्यो समयको पत्रपत्रमा हुन्छन् सिंजा, सिंजाका आर्यखसहरू, सिंजाका दासहरू त्यसको वरिपरी आउँछन्, सानातिना राज्यहरू, गुरुहरू, पुरोहितहरू, ध्यानी, साधक र तपश्वीहरू। मोक्षभूमिमा धेरै पात्र, अनेकन कथा, उपकथा र श्रवणहरू छन्। जसका मुख्यपात्र छन् सम्राट क्राचल्लदेव, उनकी पाँचौं पत्नी अप्सरा, भिक्षु आनन्द, सम्राटका अन्य पत्नीहरू र छोराहरू। साथमा छन्, दास नायक सत्यदेव, सत्यदेवका सहयोगी कृष्णदेव र भार्गदेव र सत्यदेवकी विश्वासपात्र ताम्रा। साथै छन् राजगुरु आर्यदेव जसको राजगुरु पद खोसिएको हुन्छ। कथामा एक कोमल र प्रिय मात्र छन् कृष्णदेवकी प्रेमिका राधा। कथालाई लेखकले प्रेम, यौन, युद्ध, धर्म, मोक्ष र मुक्तिका अनेकन कामनासँग जोडेर बढो रसपूर्ण ढंगले घटनामा रंग भरेका छन्। उपन्यास पढ्दा ती अनेक घटना, रंग र त्यसको विविध स्वादको पाठकले मजा लिन पाउँछन्। ३७२ पृष्ठको उपन्यास पढ्दा शब्दहरू आनन्दले नाच्छन्, गाउँछन् र कथाले आफूसँगै पाठलाई मोक्षभूमितर्फ लिएर जान्छ। उपन्यासमा घटनाहरूको विकास ज्यादै अर्थपूर्ण र कलात्मक तौरतरिकाबाट गरिएको छ।
कथामा एक नायक छन्– खस सम्राट क्राचल्लदेव। अत्यन्तै हठी, पराक्रमी र चक्रवर्ती सम्राट। उनका ५ पत्नी छन्। आफूभन्दा झन्डै ३० वर्ष उमेरले कान्छी पाँचौं पत्नी अप्सराको प्रेम र यौन कामनाले क्राचल्लदेव बसिभूत हुन्छन्। तिनै कान्छी रानीलाई खुसी पार्न र मन जित्न सम्राटले कुमाउ युद्धको आयोजना गर्दछन्। आफू अझै युवा, बहादुर र यौवनले भरिपूर्ण छु भनेर प्रमाणित गर्नु उनको उद्देश्य हुन्छ। कुमाउ युद्धमा विजय प्राप्त गरी जितेको धन, सम्पत्ति, दासदासी सहित सम्राट हर्षोल्लास गर्दै सिंजा फर्किन्छन्। उनी ती सबै धनदौलत कान्छी रानीलाई उपहार दिन चाहन्छन्। कुनै खास कारणले रानी अप्सराले सम्राटका सबै उपहार अस्विकार गर्छिन्। बरु उल्टो युद्धमा गरिएको पापको प्रायश्चित गर्न उनले सम्राटसँग माग गर्छिन्।
कसरी प्रायश्चित गर्ने अनेक मन्थन र बहस हुन्छ। दरबार बस्छ। भारदारहरू बहस गर्दछन्। र, अन्ततः निर्णय हुन्छ प्रायश्चित स्वरूप सम्राट क्राचल्लदेवले खस साम्राज्यका १० हजार दासलाई मुक्त गर्ने। मुख्यतः कथाको प्रारम्भ यहीबाट हुन्छ। दासहरूको मुक्तिसँगै ‘आर्यखस जातीय श्रेष्ठता कि मानव श्रेष्ठता’ भन्ने महत्वपूर्ण मानवीय मुद्दामा सिंजा विभाजित हुनपुग्छ। कथामा मुक्त दासहरूको लामो र संघर्षमय यात्राको वर्णन त छ नै मानव मूल्य र मानवीय मर्यादका सवालमा पनि घनघोर बहस गरिएको छ।
अवश्य नै उपन्यासमा कतिपय प्रसंगहरू निकै लामा छन्। ससाना सन्दर्भहरूको पनि लामो व्याख्या छ। पात्र र घटनाहरूले कथालाई अगाडि बढाउनुपर्नेमा स्वयं लेखकले कथालाई अगाडि बढाएका छन्। यसको अर्थ कथामा स्वभावतः पात्रभन्दा लेखक हावी देखिन्छन्। पात्रहरूको विशेष चरित्रलाई सुहाउँदो ताल, लय र शैलीभन्दा कथाको लयलाई लेखकले धेरै महत्व दिएका छन्। जस्तो की क्राचल्लदेव सुरुमा निकै शक्तिशाली र जीवन्त देखिए पनि दासमोचनपछि क्रमशः शिथिलहुँदै जान्छन्। पुरानो सन्दर्भ, वैदिक सभ्यताको चर्चा र ऋषिमुनिहरूको शास्त्रार्थले उपन्यासलाई अलिक भारी बनाएको छ। उपन्यासलाई समाज रूपान्तरणको एक अस्त्र मान्ने हो भने लेखकले ब्राह्मण कन्या राधा र मुक्तदास कृष्णदेवको बिहे गराई दिएर सामाजिक रूपान्तरणको अभियानमा क्रान्तिकारी कदम चालिदिएको भए समाजलाई न्याय हुन्थ्यो। तर उनीहरूको प्रेम वियोगान्त छ।
सुधारवादीहरू आनन्ददेव, यज्ञवल्लभ र अभयनाथ जस्ता ध्यानी गुरुहरू र प्रगतिशील चेत बोकेका ब्रहमानन्दको माध्यमबाट उपन्यासकारले प्रकृति, परमात्मा, धर्म, अस्तित्व, स्वतन्त्रता र मोक्षजस्ता विषयमा विशद् तर अर्थपूर्ण विमर्श चलाएका छन्। तर यो बहस निष्कर्षमा पुग्दैन। बरु अनेकौं प्रश्नहरू सहित रोकिन्छ। जसले कतिपय सन्दर्भलाई बोधगम्य बनाउनबाट चुकेको जस्तो लाग्छ। निश्चय नै उपन्यासको भाषा लालित्यपूर्ण, सरस र लयवद्ध छ तर शास्त्रार्थमा पुगेपछि साधारण पाठक भने रोकिनै पर्छ। यसले उपन्यासलाई कतिपय स्थानमा भारी बनाएको आभास हुन्छ। नेपाली राजनीतिको पछिल्लो सात दशकको समीक्षासहित लेखिएको यो पुस्तकले राजनीतिमा नयाँ विकल्पको बहस सृजना गर्छ। मुख्यतः वैकल्पिक राजनीतिको वकालत गर्नेहरूका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हो।
नेपालको विकृत राजनीतिमाथि तर्कशील आलोचना गर्दै उनी वैकल्पिक राजनीतिमा अभियन्ता बनेका छन्। अखबारी लेखनमा उनको छुट्टै पहिचान छ। यसरी हेर्दा लेखनमा उनको कलम नयाँ होइन तर आख्यान भने पहिलो हो। अन्त्यमा, दाहालको काव्यिक चेत, कथा निर्माणको सामरिक प्रयत्न र इतिहास उत्खनन्को जबरजस्त प्रयासले मोक्षभूमिलाई महत्वपूर्ण बनाएको छ। उनी राजनीतिक अभियन्ता भएकै कारण उपन्यासको बनोट र कथाको छनोट राजनीतिक चेतनाले भरिपूर्ण छ। ‘क्लासिकल फिक्सनमा’ रमाउनेहरूका लागि मोक्षभूमि एक गजबको पुस्तक हो। कथा, शैली र चेतले पठनीय मोक्षभूमि मानव श्रेष्ठताको व्याख्या गर्ने अमर दस्तावेज हो।