काँचो कागजका कुरा

काँचो कागजका कुरा

जीवनमा कहिल्यै उपन्यास लेख्छु जस्तो लागेकै थिएन। लाग्थ्यो, म नाटक लेख्ने मान्छे हुँ, त्यसपछि कवि। उपन्यास मेरो क्षेत्र र वशको कुरो होइन। उपन्यास लेखेर समय बरबाद गर्नु हुन्न। त्यस्तै सोच्थें। तर एउटा समय आयो, मैले उपन्यास नलेखिकन बस्नै सकिनँ, निदाउनै सकिनँ। कहिलेकाही मस्तिष्कमा गज्जबका कुरा आएर खसखस गर्छन्। ती कुरा नलेखेसम्म खसखसबाट मुक्त हुन सकिनँ। एउटा कथाले टाउकोमा नराम्ररी खसखस गर्‍यो। अन्ततः उपन्यास जन्मियो।

---

कुनै गम्भीर विषय नभएसम्म लेख्न सक्दिनँ जस्तो लाग्छ। धेरै लेखकले जस्तै मैले पनि स्कुल पढ्दादेखि नै लेख्न थालें। सुरुसुरुमा स्कुलमा हुने कविता प्रतियोगितामा भाग लिन लेखें। पछि पत्रिकामा नाम छापियोस् भनेर लेखें। तर अलि पछि चाहीं मसँग भन्नका लागि र लेख्नका लागि केही गम्भीर कुराहरू छन् भन्ने लागेर लेखें। लेख्ने कुराको सन्दर्भमा पुरानो याद जोड्न चाहन्छु। सानै थिएँ, त्यस्तै एघार बाह्र वर्षको हुँदो हुँ। हामी गैंडाकोटमा थियौं। बुबा गुवाहाटीमा हुनुहुन्थ्यो। उहाँले चिठी पठाउनु हुन्थ्यो। बुबाको चिठ्ठी आएको छ कि भनेर हेर्न बेलाबेलामा हुलाकमा जाने गर्थें। हुलाकमा रत्नाखर दाइ र उदय दाइले काम गर्थे। रत्नाखर दाइले मलाई ज्वाईं भनेर बोलाउँथे। तर रमाइलो कुरा त यो थियो कि उनका कुनै छोरी थिएनन्। 

म उनको हुँदै नभएकी छोरीको ज्वाईं ! 

करिब दुई हप्ता सिर्जनात्मक बिरामी भएपछि उपन्यासबाट करिब बीस हजार शब्द अपरेशन गरेर निकालें। उपन्यासमा ठूलो घाउ भयो, भ्वाङ परेजस्तै भयो। त्यसपछि मैले त्यही घाउलाई राम्रोसँग मल्हमपट्टी गरें, औषधि लगाएँ। घाउलाई सफा गरिरहें।

एक दिन हुलाकमा गएको बेला एकजना पण्डित पनि कुनै चिठ्ठी पठाउन त्यहाँ पुगेका थिए। उनी को थिए भन्ने मैले बिर्सें। उनले हात हेर्थे भन्ने उदय दाइलाई सायद थाहा थियो। उनले ती पण्डितलाई भने, ‘रत्नाखर दाइले गोपीलाई ज्वाईं भनेर हैरान पारिसके। उनका छोरी छैनन्। अरूको चाहीँ छोरी भएर ज्वाईं हुन्छन्, उनको चाहीँ पहिले ज्वाईं भएर ज्वाईंले बिहे गर्ने केटी छोरी बन्ने भइन्। लौ पण्डितजी, यी बाबुको बिहे कहाँ हुन लेखेको रहेछ, हात हेरेर बताइदिनु पर्‍यो। त्यसपछि दाइकी छोरी पत्ता लाग्छ।’ उदय दाइको कुरा सुनेर मलाई लाज लाग्यो। मैले हात हेराउँदिनँ भनें। पण्डितले पनि कहाँ त्यसै जहाँ पायो, त्यहीँ हात हेर्छु भने। तर उदयदाइले पण्डित र मलार्ई कर गरे। त्यसपछि हात देखाउन राजी भएँ, पण्डित पनि राजी भए।

हात हेरेपछि उनले भने, ‘यी बाबुको बिहे पूर्वतिर हुन्छ। यिनकी श्रीमती धेरै पढेलेखेकी हुन्छिन्। बाबुले जति नै पढेकी हुन्छिन्। यी बाबु त लेखक बन्नु पर्ने देखिन्छ। बाबु, तिमी कथा कविता केही लेख्दैनौ ? लेख्ने गर न।’ वास्तवमा मैले त्यतिबेला कविता लेख्थें। पण्डितलाई त्यो कुरा थाहा थिएन। बिहे रुचिको कुरा थिएन। त्यसैले त्यो कुराको कुनै वास्ता गरिनँ। उदय दाइले रत्नाखर दाइलाई भने, ‘ल तपाईं अब छोरी खोज्न पूर्वतिर जानुस्।’ त्यो कुरा त्यहीँ सकियो। मैले पनि त्यो कुरा बिर्सें। अहिले लेखन र लेखान्तको कुराले सम्झें।

त्यसको धेरै वर्षपछि मेरो बिहे भयो तर रत्नाखर दाइले मैले बिहे गरेकी उनले नजन्माएकी छोरी देख्न पाएनन्। बिहे हुनुभन्दा केही समय पहिले नै उनले यो संसार छोडिसकेका थिए। पछि सुन्नमा आयो, उनले मलाईजस्तै अरू एक दुई जनालाई पनि ज्वाईं भन्ने गर्थे रे। अहिले फर्केर हेर्दा ती पण्डितले मेरो बिहेसम्बन्धी कुरा मिलाएका रहेछन् भन्ने लाग्यो। मेरो बिहे पूर्व झापामा भयो। निर्मला मेरो एमएको क्लासमेट हुन्। त्यस्तै म लेखक बन्ने कुरा पनि मिलाएका रहेछन् भन्ने लाग्यो। खास कुरा यही नै हो। के कोही मानिस भविष्यमा के बन्छ भन्ने कुरा पहिले नै कतै लेखिएको हुन्छ त ? के हामी यो संसारमा पहिले नै निश्चित भइसकेको कुरा अहिले मात्र भोगिरहेछौं त ?

‘काँचो कागज’को कथाको बिउ यही हो।
---

अब उपन्यास लेख्ने बेलाको कुरा गरौं। उपन्यास लेख्न जति खसखस थियो, त्यति नै समयको अभाव थियो। तर अचानक समय बदलियो। थाहा नपाउने गरी र नपत्याउने गरी सन् २०२० को सुरुमा कोरोना आयो र कोरोनाले महामारी ल्यायो। संसारमा ठूलो तहस नहस भयो। सबै मान्छेको जनजीवन प्रभावित भयो। मान्छे घरबाट बाहिर निस्कन डराउनु पर्ने बेला आयो। संसारका सबै मानिस प्रभावित हुँदा म एक्लै प्रभावित नहुने कुरै भएन। 

दैनिकी बदलियो। हप्तामा पाँच दिन काम गर्न जानु पर्ने जागीरमा तीन दिन मात्रै जानु पर्ने भयो। दिनभर काम गर्नु पर्ने ठाउँमा आधा दिन मात्रै काम गर्दा हुने भयो। लामो समयदेखि मेरा लागि र मेरो लेखनका लागि समय दिन सकेको थिइनँ। मैले त्यो खाली समयलाई लेखनमा लगाउने विचार गरें। खसखस मेटाउने विचार गरें।

सबैभन्दा पहिले उपन्यासको प्लट निर्मला, निहारिका र गिरिशलाई सुनाएँ। उनीहरूले कथा मन पराए। अरूभन्दा पनि छोरी निर्मलालाई उपन्यासको प्लट मन पर्‍यो। उनले समकालीन र चर्चित अंग्रेजी उपन्यासहरू पढेकी थिइन्। नेपालमा लेखिने एकदमै यथार्थबादी र सामाजिक उपन्यास लेख्न खासै रुचि थिएन। त्यसैले खास दुईवटा कुरामा केन्द्रित थिएँ। पहिलो, उपन्यास लगभग सबै जेनेरसनका मानिसले मन पराउने होस्, तर छोरीको पुस्ताले विशेष मन पराउने होस्। दोस्रो, मध्यम रेन्जमा बसेर लेख्न चाहन्थें। यो कुरा अलि प्राविधिक सुनिन सक्छ। तर मेरो विचारमा जसरी संगीतमा कम, मध्यम र उच्च पिच हुन्छ, त्यसरी नै लेखनमा पनि त्यस्तै खाले रेन्ज हुन्छ।

उपन्यासको पहिलो ड्राफ्ट लेखेर सकें। निर्मलालाई पढ्न दिएँ। उनले मन पराइन् र केही सुझाव दिइन्। मैले सच्चाएँ। दोस्रो ड्राफ्ट तयार भयो। पढ्न साथीहरू खेम अर्याल, अमर न्यौपाने र विजय सापकोटालाई दिएँ। उनीहरूले दुईतीन दिनमै पढेर प्रतिक्रिया दिए। उपन्यास बगेको छ, त्यसैले नब्बे हजार शब्दको उपन्यास दुई दिनमा नै पढेर सकिएको हो भन्ने लाग्यो। साथीहरूबाट प्रसंशा पाएँ, तर सुधार्नु पर्ने सुझाव पनि प्रशस्त पाएँ। कुनै कुनै प्रतिक्रियाहरू त एकदमै कडा थिए। ती प्रतिक्रियाहरूले एकपटक नराम्ररी घाइते भएँ। पहिलेको उत्साह सबै मरेर गयो। उपन्यास लेखेर पार लगाउन सक्दिनँ भन्ने लाग्यो।

अमरजीले भनेका थिए, ‘गोपी सर, तपाईं अब एक हप्ता जति डिस्टर्ब हुनुहुन्छ। दिन रात तपाईंको दिमागमा यही कुरा खेल्छ। तर एक हप्तापछि तपाईंले उपन्यासलाई एउटा छुट्टै खाका दिनु हुनेछ, त्यो राम्रो बन्नेछ।’ नभन्दै त्यस्तै भयो। करिब दुई हप्ता सिर्जनात्मक बिरामी भएपछि उपन्यासबाट करिब बीस हजार शब्द अपरेशन गरेर निकालें। उपन्यासमा ठूलो घाउ भयो, भ्वाङ परेजस्तै भयो। त्यसपछि मैले त्यही घाउलाई राम्रोसँग मल्हमपट्टी गरें, औषधि लगाएँ। घाउलाई सफा गरिरहें। बिस हजार शब्द फालेर परेको घाउमा बाइस हजार शब्द भरें। पूरै उपन्यासलाई दुईपटक मज्जाले साबुन लगाएर नुहाइदिएँ। धुलो मैलो राम्रोसँग पखालिदिएँ। चिटिक्क पारें।

तेस्रो ड्राफ्ट तयार भयो। त्यो पढ्न भाइ धर्म सापकोटा, राजु र विजय सापकोटालाई दिएँ। उनीहरूले केही सुझाव दिए, मिलाएँ। खासकुरा के हुँदोरहेछ भने आफूले आफ्नो गल्ती नदेखिँदो रहेछ। अरूले भनेपछि ‘ए हो त’ भन्ने लाग्दोरहेछ। यसरी उपन्यास तयार भयो। त्यसपछि नरेन्द्रकुमार नगरकोटीले कलम प्रकाशनको पहिलो पुस्तकको रूपमा ‘काँचो कागज’ छाप्ने कुरा गरे। 

मैले हुन्छ भनें।

सबै प्रक्रियामा ती कडा प्रतिक्रियाको प्रसंशा गर्छु, जसले गर्दा मेरो विचारमा उपन्यास राम्रो बन्न गयो। यतिखेर आएर  कविता र नाटक सँगसँगै उपन्यास लेखेर राम्रै गरेंजस्तो लागेको छ। उपन्यास लेखेर समय बरबाद गरें भन्ने लागेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.