पोस्ट कोभिडमा खोप
पछिल्लो समय कोरोनाको हटस्पट शैक्षिक संस्थाहरू बन्दै गएपछि तथा छिमेकी देश भारतमा ह्वात्तै र नेपालमा पनि पछिल्लो सातादेखि संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भौतिक उपस्थितिसहित पठनपाठनरत शिक्षण संस्थालाई स्वास्थ्य मापदण्ड पालना गर्न र सावधानी अपनाउन निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तय जनस्वास्थ्य सुरक्षा मापदण्ड र विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ पूर्ण अनुसरण गर्न अपिल गरेको छ। त्यस्तै दोस्रो लहरको जोखिमबाट बच्न सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको छ। उपत्यका भित्रने नाकामा उपत्यकाका सबै नगरपालिकालाई शंकास्पदमा एन्टिजेन परीक्षण गर्न र हेल्थ डेस्क स्थापना गर्न तथा जनचेतना र अनुगमन प्रभावकारी बनाउन लागिपरेको छ।
सटिक तथ्य नआउँदासम्म लक्षणका आधारमा उपचार वा परामर्श दिनुबाहेक अर्को विकल्प वा औषधि चिकित्सकसँग पनि छैन।
पोस्ट् कोभिड
पछिल्लो समय पोस्ट् कोभिडको लक्षण लिएर आउनेहरू बढ्दैछन्। त्यस्तै निमोनिया, क्षयरोग, ब्याक्टेरियल संक्रमण, ब्रोन्काइटिस, मनोवैज्ञानिक प्रभाव देखिँदैछ। कोभिड संक्रमणबाट निमोनिया भई पुन: लक्षण देखिई अस्पताल भर्ना हुने अनगिन्ती छन्। वीर अस्पतालका ५० वर्षीय मुटुरोगी एक स्वास्थ्यकर्मीको कोभिड निमोनिया, फाइब्रोसिस निको भएको केही समयपछि पुन: स्वास्थ्य समस्या देखिई कात्तिकमा मृत्यु भएको थियो। कोरोना निको भए पनि उनीहरूमा खोकी लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, थकाइदेखि मुटु फेल, फोक्सो सुक्नेजस्ता विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ।
शरीरमा देखिएको सानोभन्दा सानो परिवर्तन वा नया“ लक्षणलाई बेवास्ता नगर्दै अनावश्यक रूपमा छाती दुखे, भारी भए, खुट्टा सुन्निए, टाउको दुखे, राति सुत्न गाह्रो, श्वासप्रश्वासमा समस्या, अक्सिजन चाहिने भए तत्काल परामर्श लिन जरुरी छ।
निमोनिया भइसकेकालाई विशेषत: चिसो, धुलो र धुवा“बाट बच्नुपर्छ। उपचारमा डेक्सामेथासोनको प्रयोगले बिरामीको इम्युनिटी पावर घटाएको छ। अवसरवादी तथा सेकेन्डरी ब्याक्टेरियल संक्रमण, क्षयरोग भएको छ। उच्च रक्तचाप, मधुमेह, फाइब्रोसिसजस्ता समस्या देखिएका छन्। तसर्थ ठीक भइसकेका बिरामीले नियमित फलोअपमा रहनुपर्छ। विश्व स्वास्थ्य संगठनले पनि कोभिड संक्रमण निको भएको लामो समयसम्म यसको असर र विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिँदै दीर्घरोग भएका संक्रमितमा यो जोखिम अझै बढी छ। तसर्थ सामान्य समस्या भनेर बेवास्ता नगरी फलोअपमा बस्न जरुरी छ।
खोजमा कोरोना संक्रमणका लक्षण सामान्य भए दुई हप्ता र कडा भए पाँच हप्तामा पूर्णरूपमा स्वास्थ्यलाभ भएको देखाउँछ। तर अचम्म के छ भने १८ देखि ३० वर्ष उमेरकामा श्वासप्रश्वासदेखि मानसिक समस्यासम्म लामो समयसम्म देखिँदा सबै चिन्तित छन्। कोभिडमुक्त भइसकेकामा श्वासप्रशवाससम्बन्धी समस्या, जोर्नीको दुखाइ, मांसपेसीको दुखाइ, रिँगटा लाग्ने, भ्रम, आँखाको दृष्टिमा परिवर्तन, तनाव र डिप्रेसनजस्ता समस्या पनि देखिने गरेका छन्। संक्रमित वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको संख्या पनि बढ्ने देखिन्छ।
खोप
कोरोनाविरुद्धको खोप निर्माण गरेर भ्याक्सिनेसन अभियान सुरु भएको मंसिर अर्थात् अमेरिकामा डिसेम्बर ११ र भारतमा जनवरी १६ पछिको चार महिना हँुदासमेत नियन्त्रणमुखी छ भन्ने विश्वासका बीच कोरोनाले फेरि विश्वभर चुनौती दिइरहेको छ। अहिले पनि संक्रमणदरमा उकालो लाग्दै अमेरिका सबैभन्दा माथिल्लो स्थानमा छ भने दोस्रोमा ब्राजिल र तेस्रोमा भारत छ। अफ्रिकी मुलुकमा पनि उकालो लागिरहेकै छ। मानव समुदाय र विज्ञानका लागि अहिले पनि मुख्य चुनौतीका रूपमा रही अर्थतन्त्रलाई धराशयी बनाउँदै लाखौंलाख मानिसलाई रोजगार, आबास र गाँसबासबाट समेत विमुख बनाइदिएको छ।
नेपालमा झन्डै १० लाख बढी रोजगार गुमेका र आश्रित ५० लाखलाई प्रत्यक्ष प्रभाव पारेको छ। गत वर्ष चैत ११ को लकडाउन खुलेयता आमरूपमा विनामास्क, विनास्यानिटाइजर र निर्धक्क सहरबजारमा ठेलमठेल घुमिरहेका छन्। नेपालमा दोस्रो चरणमा ६५ वर्षमाथि उमेरकालाई लगाइएको कोभिसिल्ड खोप म्याग्दी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लामा भएको १० मृत्युमा सरकार अनुसन्धान गर्दैछ। स्थानीयले प्राकृतिक भनेर रिपोर्ट नगरे पनि खोप नै हो होइन भन्नेमा खोज जारी छ। मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति छन्।
खोपको पहिलो मात्राले तीन महिनासम्म ७५ प्रतिशत बढी र १२ हप्तापछि दोस्रो मात्रा खोप लगाउँदा ८० प्रतिशत बढी प्रभावकारी विभिन्न खोजले देखाएका छन्। खोपले दिने सुरक्षा कुनै कृत्रिम नभएर शरीर आफैंले प्रदान गर्ने सुरक्षा भएकाले भाइरसको कुनै अंश खोपमा राख्ने गरिन्छ, जसले शरीरको प्रतिरोधात्मक क्षमता विकास हुन्छ र साँच्चै भाइरस लाग्दा रोग लाग्दैन। सेजले दुई डोज बीचको समयअन्तरको सिफारिस चारदेखि १२ हप्ताबाट ८ देखि १२ हप्ता बनाएको हो। खोप लगाएकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै तीनचौथाइमा संक्रमण नहुने र भएमा पनि जटिल र मृत्यृ नहुने तथा अन्यमा संक्रमण सार्ने सम्भावना कम हुन्छ।
नेपालमा मात्र नभएर विश्वभर नै स्वास्थ्य सेवामा खटिएकालाई सर्वप्रथम खोप लगाइएको छ। स्वास्थ्य सेवामा खटिएका नागरिकलाई पहिलो खोप दिँदा पहिलो ती नागरिकलाई सुरक्षा हुन्छ भने दोस्रो महामारीको अवस्थामा महत्त्वपूर्ण स्वास्थ्य सेवा सुचारु रहन्छ। तेस्रो बिरामीलाई रोग फैलिने सम्भावना कम हुन जान्छ। वृद्ध नागरिकलाई रोगका कारण ज्यानको खतरा हुने भएकाले सूचीको दोस्रो नम्बरमा परेका छन्।
साइड इफेक्ट
खोपपछि शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय भई एन्टिबडी उत्पादन सुरु हुँदा ज्वरो, पखाला, खोप लगाएको ठाउँमा दुख्ने कारण थकान, कमजोरी महसुस भएको हुन सक्छ। यस्ता स्वास्थ्य समस्या खोपले काम गर्न थालेको प्रमाण हो र केही समयको अन्तरालमा आफैं ठीक हुन्छन्। तथापि सिटामोल खान सकिने सल्लाह छ। कडा प्रतिकूल घटना दुई प्रतिशत कममा देखिन सक्ने प्रक्षेपण छ। वाकवाकी, खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो र कमजोरी अनुभव भई चक्कर लाग्ने स्थितिबाहेक अन्य प्रतिकूल असर नेपालमा देखिएको छैन।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन तथा इन्फेक्सियस डिजिज सोसाइटी अफ अमेरिकाले कोरोनाको प्रारम्भिक उपचारपश्चात् पनि स्वास्थ्य समस्याले निरन्तरता पाएमा त्यसलाई लङ कोभिड भनेको छ। लक्षण सामान्यदेखि कडा प्रकृतिका हुन्छन्। नेपालमा विभिन्न लक्षण लिएर विशेषज्ञकहाँ पुग्ने गरेको तथा समाधान नभएका धेरै छन् तर अक्सिजन नै चाहिएका र सघन उपचार कक्षमै उपचार लिन परेका भनै छैनन्। विश्वका खोजमा पुरुषभन्दा महिलामा बढी, १० देखि ३० प्रतिशतसम्ममा उपचारपश्चात् लङ कोभिडको समस्या देखिने गरेका छन्।
खोपले रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गराई एन्टिबडी विकास गरी शरीरमा बाँकी रहेका भाइरसका अंशलाई नष्ट वा शरीरबाट निस्कासन गरिदिँदा लङ कोभिडको समस्या समाधान हुन सक्छ भन्ने तर्क पनि अगाडि आएको छ। सटिक तथ्य नआउँदासम्म लक्षणका आधारमा उपचार वा परामर्श दिनुबाहेक अर्काे विकल्प वा औषधि हाल छैन तर खोप लगाइसकेपछि समस्या क्रमिक सुधार हुँदै गएको तथा हराएको अनुभव सुनाउने र साट्ने क्रम पनि बढ्दैछ। तसर्थ खोप प्रतिरक्षामा मात्र होइन लङ कोभिडको उपचारको भूमिकामा आशाका किरणका रूपमा पनि देखिन सक्ने सम्भावना छ।
अन्त्यमा, कोरोना निको हुने तथा खोप लगाउनुलाई रामवाण नठानेर स्वास्थ्य सुरक्षाका पूर्ववत् विधि हातको सरसफाइ, अनिवार्य मास्कको प्रयोग, दुई मिटरको भौतिक दूरी, भीडभाडमा नजाने, स्वास्थ्यमैत्री खानपिन र जीवनशैलीमा निरन्तरतामा हरपल सचेतना दिएर मात्र कोरोना संक्रमणबाट सुरक्षित हुन सकिने धु्रवसत्यलाई सबैले मनन गर्दै अपनाउन कसैले बिर्सनु हुँदैन।