सिम्रिकले निभायो निकुञ्जको डढेलो
काठमाडौं : बूढानीलकण्ठ नगरपालिका–१ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो सिम्रिक एयरको सहयोगमा निभाइएको छ। आइतबार बिहान लागेको आगो निभाउन स्थलगत प्रयासबाट मात्रै सम्भव नभएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी खन्याइएको हो।
सिम्रिक एयरका कार्यकारी निर्देशक क्याप्टेन सिद्धार्थ गुरुङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा निकुञ्जको आगो निभाउन सहयोग गरिएको जानकारी दिए। ‘निकुञ्जमा आगो लागेको सुनेपछि सामाजिक जिम्मेवारी बहन गर्न प्रयास गरेका हौँ’, कार्यकारी निर्देशक गुरुङले भने।
सिम्रिकको फायर फाइटिङ हेलिकप्टरबाट २ घण्टा लगाएर पानी खन्याइएको थियो। हेलिकप्टरमा झुन्डिएको ब्याम्बी बकेटको सहायताले २० हजार लिटर पानी खन्याइएको क्याप्टेन गुरुङले बताए। उक्त बकेटले एक पटकमा ८ सय लिटर पानी बोक्छ। आगो निभाउन गुरुङसहित ५ क्याप्टेनको टोली खटिएको थियो।
हेलिकप्टरमा पानी भर्न होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानीसँगै स्थानीयको माछापोखरी प्रयोग गरिएको उनले बताए। आगलागीबाट स–साना बोटबिरूवा नष्ट भएका छन्। अन्य ठूलो क्षति भने नभएको जनाइएको छ।
नेपालमा हेलिकप्टरबाट पानी हालेर आगो निभाउने काम सिम्रिक एयरले नै सुरु गरेको हो। यसअघि ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको आगो निभाउन पनि सिम्रिक फायर फाइटिङ हेलिकप्टरको प्रयोग गरिएको थियो।