पर्यटन बचाऔं
कोभिड—१९ ले विश्व अर्थतन्त्र र जनजीवन थला पारेको छ। एक वर्षदेखि विश्व यसैसँगको युद्धमा छ। कोरोना भाइरस सम्पूर्ण विश्वका लागि खतरा बनिरहँदा नेपाल र यहाँको अर्थव्यवस्था अछुतो रहन सक्दैन। यसले हाम्रो अर्थतन्त्र तहसनहस बनाएको छ। खोपको विकाससँगै यसबाट छुटकारा पाउने अपेक्षा बढिरहेकै बेला दोस्रो लहरले व्यापकता पाउँदैछ। छिमेकी मुलुक भारतमा दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्। त्यसको सोझो प्रभावबाट हामी सुरक्षित रहन सक्दैनौं।
कोभिडको दोस्रो लहरले विश्वका एक तिहाइ देश बन्द हुन पुगेका छन्। सुरक्षा मापदण्डका लागि लकडाउन जुनसुकै देशको प्राथमिकतामा पर्न सक्छ। यो बाध्यता हो। नेपालले पनि गत वर्ष कोभिडकै कारण ६ महिनाभन्दा बढी समय लकडाउन गरेको थियो। अर्थव्यवस्थालाई चलायमान बनाउन विस्तारै सबै क्षेत्र खुलाएको मात्र के थियो, दोस्रो लहरले अर्को झट्का दिएको छ। बन्दाबन्दीले चहलपहल तथा आवागमन ठप्प हुने हुँदा त्यसले सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर पार्छ। नेपालमा उड्डयन, होटल, रेस्टुराँ, पर्वतारोहण, पदयात्रालगायत पर्यटन व्यवसायमा विस्तारै सुधारको संकेत देखिन सुरु गरेको थियो। मुलुकका प्रमुख पर्यटन बजारका रूपमा रहेको युरोप, अमेरिका, भारतलगायत देशबाट पर्यटक भित्रिने क्रम सुरु भएको थियो। पर्यटनको पुनरोत्थानका लागि कोभिडको डरभन्दा माथि उठेर सरकारले पर्यटन आवागमन बढाउनकै लागि खुकुलो नीति लिइसकेको थियो। नाकाका अवरोध/प्रतिबन्ध हटाएर भारतबाट पर्यटक बढाउने नीति लिइएको थियो। तर, कोभिडको दोस्रो लहरले युरोप, अमेरिकालगायत देशसँगै भारत पनि अहिले सबैभन्दा बढी प्रभावित बनिरहँदा पर्यटन क्षेत्र उकास्ने सरकारको नीतिमा धक्का पुगेको छ।
मानव स्वास्थ्यसँग सम्बन्धित कोभिडको संक्रमणबाट जोगिनु र जोगाउनु सरकारको प्रमुख प्राथमिकता हो। तर, व्यवसायको निर्वाध सञ्चालन पनि सरकारको दायित्वभित्र पर्छ। ६ महिना लामो बन्दाबन्दी र त्यसपछिको व्यवसायिक संक्रमणका कारण मासिक १० अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेको पर्यटन क्षेत्र पुन: ठप्प हुने अवस्था छ। यसले समग्र पर्यटन उद्योगको भविष्य र अस्तित्व संकटमा पर्न सक्छ। १० लाखभन्दा बढी पर्यटन कामदार रहेकामा कोभिडकै कारण करिब ८ लाखले रोजगारी गुमाइसकेका छन्। कतिले पेसा परिवर्तन गरेका छन्। जनताको गाँस, बास र कपाससँग जोडिएको हुँदा पनि पर्यटन क्षेत्रलाई जोगाउनु सरकारको दायित्व हो।
त्यसो त कोभिडबाट संसारले तत्काल उन्मुक्ति पाउने लक्षण छैन। यही संकटलाई अवसरका रूपमा उपयोग गर्ने कौशलको खाँचो छ। पर्यटन मन्त्रालयको ध्यान त्यता जानु जरुरी छ। त्यसका लागि पर्यटक बजारको विविधीकरण एउटा उपाय हुन सक्छ। सुरक्षाका उपाय अवलम्बन गरेर नेपालमा यात्रा गर्नु जोखिमरहित छ भन्ने सन्देश दिन सक्नुपर्छ। कोभिडको असर न्यून रहेका मुलुकबाट पर्यटन प्रबद्र्धनका लागि सरकारले कदम चाल्न सक्छ। यस्तै नेपालको पर्यटन गन्तव्यमा जनसंख्या कम भएका र सहरदेखि पर रहेका हिमाली भेगको साहसिक पर्यटनका लागि प्रचारप्रसार गर्न सक्छ। आन्तरिक पर्यटनको आवश्यकता र सम्भावनाबारे कोभिडले ठूलो पाठ सिकाइसकेको छ। यसकारण पर्यटन व्यवसायीले विदेशी पर्यटकलक्षित कार्यक्रमसँगै आन्तरिक पर्यटनलाई आकर्षित गर्ने योजना ल्याउनुपर्छ। कोभिड महामारी व्याप्त भएर गत वर्षको जस्तै स्थितिमा पुगियो भने व्यवसाय टिकाउन पुन: आन्तरिक पर्यटनकै भरथेग हुनसक्छ। सरकारले पनि आन्तरिक पर्यटन प्रबर्द्धनका कार्यक्रममा जोड दिनुपर्छ। विश्वकै चुनौती बनेको कोभिडको दोस्रो लहरबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्डको भने पूर्ण परिपालना हुनैपर्छ।