ब्रेन, ब्राण्ड र बजार

ब्रेन, ब्राण्ड र बजार

आधुनिक युग भनेको बजारको युग हो। यस युगमा बजारले नै प्राय: हरेक कुरा निर्धारण गर्ने गर्छ। उत्पादक कम्पनीहरूले आफ्नो उत्पादन मात्र होइन कि राजनीतिक दलहरूले समेत आफ्नो राजनीति बजार (मतदाता) मा बिक्री गर्नु पर्ने हुन्छ। यसैका लागि राजनीतिक पार्टीहरूले लक्षित वर्गलाई ध्यान दिएर नीति तथा कार्यक्रम र घोषणा पत्र बनाउने गर्छन्।

हिजो आज त राजनीतिक पार्टीहरू दुई कदम अगाडि बढेर कुनै उत्पादक कम्पनीलेझैं मिडिया तथा सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य विज्ञापनलाई समेत उपयोगमा ल्याएको देखिन्छ। तर कुनै उत्पादन किन्ने–नकिन्ने, कुनै सेवा लिने–नलिने, कुनै चलचित्र हेर्ने–नहेर्ने तथा कुनै राजनीतिक पार्टीलाई मतदान गर्ने–नगर्ने भन्ने निर्णयको अधिकार उपभोक्तासँग निहित हुन्छ। वास्तवमा उपभोक्ता नै कुनै पनि बजारका अन्तिम डिसिजन मेकर हुन्। त्यसैले उपभोक्ताले किन र कसरी कुनै वस्तु वा सेवा खरिद गर्ने वा नगर्ने निर्णय गर्छन् र उपभोक्ताको मस्तिष्कको कुन अंगुवा अंगहरू यस प्रक्रियामा संलग्न हुन्छन् भन्ने कुरा वर्षौदेखि अनुसंन्धानको विषय बन्दै आएको छ। तर यो स्नायु विज्ञानको एक जटिल विषय हो।

स्नायु विज्ञानमा नयाँ आयाम

दुई दशकयता स्नायु विज्ञानले क्रान्तिकारी विकास गरेको छ।  स्नायु विज्ञानका प्रविधिहरूको कारण वैज्ञानिकहरू हिजोसम्म रहस्यमय रहेका स्नायु कोष, स्नायु रसायन तथा मस्तिष्क तरंगका गतिबिधिहरूका बारेमा धेरै तथ्यहरू उजागार गर्न सफल भएका छन्।

न्युरो मार्केटिङको उदयले उत्पादक तथा विज्ञापनकर्तालाई आफ्नो बजार प्रबर्द्धनमा ठूलो फाइदा भएको छ।

स्नायु विज्ञानको क्षेत्रमा भएको यो प्रगति निश्चित रूपमा बजारका लागिसमेत कोशेढुंगा सावित भएको छ। यसको परिणामस्वरूप स्नायु विज्ञानमा नयाँ आयाम थपिएको छ र न्युरो मार्केटिंङको रूपमा एक नयाँ उपशाखाको उदय भएको छ। त्यसैले अहिले मार्केटिङको ठाउँ न्युरो मार्केटिङले लिएको छ। र, यसैका आधारमा नै हिजोआज विकसित देशका टाइकुन कम्पनीहरूले उत्पादन प्रक्रिया तथा बजार रणनीति बनाउने गरेको पाइन्छ।

न्युरो मार्केटिंगके हो ?
साधारण अर्थमा उत्पादनको विज्ञापन तथा उत्पादनसँग सम्बन्धित सूचनाहरूमाथि मानिस (उपभोक्ता) ले कसरी प्रतिक्रिया जनाउँछन् र खरिद गर्ने निर्णय गर्छन् भन्ने कुराको मस्तिष्क तरंग आदिको क्रियाकलापद्वारा गरिने अध्ययन नै न्युरो मार्केटिङ हो। अर्को शब्दमा भन्ने हो भने स्नायु विज्ञानमा आधारित मार्केटिङ नै न्युरो– मार्केटिङ हो।

न्युरो मार्केटिङ मस्तिष्कका तीन पत्र (लेयर) को क्रियाकलापहरूमा आधारित छ। त्यसैले न्युरो मार्केटिङ के हो र यसले कसरी कार्य गर्छ भन्ने जान्न मस्तिष्कका यी तीन पत्रहरूका बारेमा जानकारी राख्न आवश्यक हुन्छ।

ब्रेनको तीन तह
मानव मस्तिष्क विभिन्न अंगहरू मिलेर बनेका हुन्छ। जस्तै: सेरेब्रम, मेडुला, पोन्स, सेरेबेलम आदि। तर सबै किसिमका जनावरहरू जस्तै कुकुर, बिरालो, बाघ तथा छेपारोमा समेत मस्तिष्क हुन्छ। तर मानिस के कारणले गर्दा जनावरभन्दा अलग हुन्छ ? मस्तिष्कमा विद्यमान कुन अंग वा अंगहरूका कारण ऊ जनावर भन्दा बढी चेतनशील र बुद्धिमान् हुन्छ ? यिनीकै महत्वपूर्ण प्रश्नहरू हुन्। यी प्रश्नहरूको उचित जवाफ प्राप्त गर्नका लागि मस्तिष्कका तीनतहहरूका बारेमा जान्न आवश्यक हुन्छ। मस्तिष्कको सबैभन्दा माथिल्लो पत्र, जसलाई नयाँ मस्तिष्क (नियोकोर्टेक्स) भनिन्छ। त्यसपछिको पत्रलाई बीचको पत्र, मद्य मस्तिष्क (लिम्बिक सिस्टम) भनिन्छ भने सबैभन्दा भित्री पत्रलाई पुरानो मस्तिष्क (ब्रेन स्टेम) भनिन्छ।

नयाँ मस्तिष्क (नियोकोर्टेक्स)
सेरेब्रम कोर्टेक्स नै नयाँ मस्तिष्क हो। यसले मानिसको पूरा मस्तिष्कको ९० प्रतिशत भाग ओगटेको हुन्छ। यहीनयाँमस्तिष्कले नै मानिसलाई जनावारभन्दा बढी चेतनशील र बुद्धिमान बनाएको हुन्छ। त्यसैले यसलाई मानिसको मस्तिष्क भनिन्छ। नयाँ मस्तिष्कलाई उन्नत मस्तिष्क (प्राइमेटिज ब्रेन) पनि भनिन्छ। मानिस तथा बाँदर आदि जस्ता उन्नत र बुद्धिमान् स्तनपायीहरूमा यो मस्तिष्क पाइन्छ। नियोकोर्टेक्सका कारण नै भाषा, धर्म–संस्कृति, निमय कानुन तथा सभ्यता विकास भएको हो।

सेरेब्रम कोर्टेक्स दायाँ तथा बायाँ गरी दुई भागहरूमा विभाजित हुनुको साथै यसमा विभिन्न लोबहरू हुन्छन्। यी लोबहरूले आ–आफ्नै कार्यहरू गर्छन्। तर सेरेब्रम कोर्टेक्सको प्रमुख कार्य भनेको सोच्ने र तर्क गर्ने नै हो। यो नयाँ मस्तिष्क सय प्रतिशत तार्किक हुन्छ। यसले प्राप्त सूचनालाई सुक्ष्म अध्ययन गरेर मात्र ब्रेन स्टेममा पठाउँछ।

यो मानिसको मेमोरी बैंक पनि हो। यसैमा नै सूचनाहरू संग्रह भएका हुन्छन्। त्यही संग्रहित सूचना (संस्कार) का आधारमा नै यसले सत्यताको जाँच गर्छ। जस्तो कि कुनै मानिसलाई गधा देखाएर यो गाई हो भन्ने हो भने उसको नियोकोर्टेक्सले गधा र गाईको तस्बिर ब्रेन स्टेममा पठाउँछ। ब्रेन स्टेमले निर्णय गर्छ र भन्छ, होइन, यो गधा हो।

मध्यमस्तिष्क (लिम्बिक सिस्टम)
लिम्बिक प्रणाली नै मद्य मस्तिष्क हो। यो भावना (इमोसन) को क्षेत्र हो। भोक, तिर्खा तथा सेक्स र आनन्द, क्रोध, घृणा तथा प्रेम जस्ता भावनाहरू यसै क्षेत्रमा पैदा हुन्छन्। मद्य मस्तिष्कलाई स्तनपायी मस्तिष्क (म्यामलियन ब्रेन) भनिन्छ। दूध खुवाउने वर्गका पशुपक्षीहरू जस्तै मानिस, गाई–भैंसी, बाघ तथा चमेरो आदिमा यो मस्तिष्क पाइन्छ।

लिम्बिक प्रणालीले विषय तथा सूचनाहरूलाई दीर्घकालीन मेमोरीमा भण्डार गर्न पठाउने कार्य गर्छ। लिम्बिक प्रणाली, जसलाई भावनात्मक मस्तिष्क पनि भनिन्छ, यसको प्रमुख कार्य भनेको सूचनाहरू मूल्यवान् छन् कि छैनन् भन्ने निर्णय गर्ने पनि हो। त्यसैले लिम्बिक प्रणालीको सम्पर्कमा आएका सूचनाहरूलाई नियोकर्टेक्समा दीर्घकालीन मेमोरीका रूपमा भण्डारण गर्न उपयुक्त छ कि छैन भन्ने निर्धारण गर्न लिम्बिक प्रणालीले नियोकर्टेक्ससँग निरन्तर संवाद स्थापित गर्छ।

यस कार्यमा हिप्पोक्याम्पस तथा एमिग्डेलाको महत्वपूर्ण भमिका रहन्छ। हिप्पोक्याम्पसले अभावनात्मक सूचाना तथा एमिग्डेलाले भावनात्मक सूचनाका बारेमा निर्णय गर्दछन्। नियोकर्टेक्सको विकाससँगै मानिसमा सेरेब्रललिम्बिक प्रणालीको आकार सानो भएको छ र अहिले यो अंग मानिसमा जनावार जस्तै कुकुर–बिरालोको भन्दा कम विकसित अवस्थामा रहेको छ।

पूरानो मस्तिष्क(ब्रेन स्टेम)
पुरानो मस्तिष्क जीवनको आधार हो। यो मानव मस्तिष्कको सबै भन्दा पूरानो पत्र हो। मस्तिष्क विकासक्रमलाई हेर्ने हो भने यो नै पहिलो मस्तिष्क हो। यसलाई सरीसृप मस्तिष्क (रेप्टाइलिन ब्रेन) पनि भनिन्छ। त्यो किनभने यो मस्तिष्क सरीसृप जस्तै छेपारो, सर्प तथा कछुवा आदिमा पनि पाइन्छ। तर मानिसको जीवनमा यसको ठूलो महत्व छ। त्यो किनभने यही ब्रेन स्टेमद्वारा नै सम्पूर्ण आधारभूत शारीरिक क्रियाकलाप नियन्त्रित हुन्छन्।

कुनै कुरा गर्ने–नगर्ने, खाने–नखाने वा किन्ने–नकिन्ने आदि जस्ता निर्णय सम्बन्धित विषयहरूको अन्तिम फैसला नयाँ मस्तिष्क र मद्य मस्तिष्कले पठाएको सूचनाका आधारमा यही मस्तिष्कले गर्छ। यसको अनुमतिबिना रौं पनि हल्लिँदैन। वास्तवमा पुरानो मस्तिष्क नै न्युरो मार्केटिङको बटन हो। त्यसैले यसैमा न्युरोमार्केटिङको ध्यान केन्द्रित छ।

सेल्स बटन के हो ?
न्युरो मार्केटिङको भाषामा ब्रेन स्टेम सेल्स बटन हो। यसले नै कुन उत्पादन किन्ने वा नकिन्ने, कुन फिल्म हेर्ने वा नहेर्ने तथा कुन दललाई समर्थन गर्ने वा नगर्ने आदि निर्णय गर्छ। यसैका क्रियाकलापका आधारमा नै उत्पादकहरूले विज्ञापन तयार गर्छन्।

बेबकुफ नियोकर्टेक्स
न्युरो मार्केटिङको उदयले उत्पादक तथा विज्ञापनकर्तालाई आफ्नो बजार प्रबर्द्धनमा ठूलो फाइदा भएको छ। त्यसैले नयाँ रुपरंगका करोडौं रुपैयाँका विज्ञापनद्वारा नियो कर्टेक्सलाई सम्मोहित पारेर आफ्नो विक्री प्रवर्द्धन गर्ने होडबाजी चलेको छ। विज्ञापनद्वारा नियोकोर्टेक्स बेबकुफ पनि बनिरहेको छ। सय प्रतिशत तार्किक नियोकर्टेक्स पनि कसरी बेबकुफ बन्न सक्छ भन्ने जान्न लागि एउटा दृष्टान्त हेरौं।

उदाहरणका लागि कुनै मानिसलाई आँखा बन्द गर्न लगाउने र उसको घाँटीमा प्लास्टिकको सर्प राखिदिने र सुझाव दिने, मैले तिम्रो घाँटीमा  सर्प राखिदिएको छु। यस्तो बेलामा नियोकर्टेक्स तर्कहीन हुन्छ र प्लास्टिकको सर्पलाई समेत साँच्चैको सर्प ठान्दछ। अनि त्यो सचना ब्रेन स्टेमकहाँ पठाउँछ। तब ब्रेन स्टेमले तुरुन्त हातलाई सक्रिय बनाउँछ र मानिसले हतपत त्यो प्लास्टिकको सर्प थुतेर फाल्छ।

ठीक यसरी नै विज्ञापनले कार्य गर्छ। जस्तो कि कुनै अर्धनग्न सेक्सी केटी वा नायिका पर्दामा आउँछे र फलानो तेलले मुटुको रक्षा गर्छ, शरीरलाई स्वस्थ बनाउँछ भन्छे। यसले नियोकोर्टेक्स सम्मोहित हुन पुग्छ र त्यो सूचना लिम्बिक प्रणालीमार्फत् ब्रेन स्टेममा पठाउँछ। अनि मानिसले त्यही तेल किन्ने फैसला गर्छ। ब्रेन स्टेम भिज्युअल ब्रेन भएकाले यो आकर्षक दृश्य तथा भावनाहरूबाट बढी प्रभावित हुने गर्छ। त्यसैले त आकर्षक खोलका किताबहरू बढी बिक्री हुनुको प्रमुख कारण पनि यही नै हो।

पुछारमा
हिजोआज विश्वबजारमा जसरी न्युरो मार्केटिङको चर्चा भइरहेको छ। त्यसरी नै यसको आलोचना र विरोध पनि भइरहेको छ। गैरी रास्किनजस्ता मानिसहरू न्युरो मार्केटिङका जबरजस्त विरोधीहरू हुन्। उनीहरूको तर्क छ कि न्युरो मार्केटिङको उदयले उपभोक्ता झन् शोषण परेका छन्। यसले उपभोक्तालाई बेबकुफ बनाएर चर्को मूल्यमा कमसल उत्पादन भिराउने कार्य गरिरहेको छ।

अर्कोतिर न्युरो मार्केटिङका विशेषज्ञको दाबी छ कि न्युरो मार्केटिङको विकास उपभोक्ताको शोषण गर्न नभई बरु उपभोक्ताले किन र कसरी उत्पादन, ब्राण्ड तथा कम्पनीसँग सम्बन्ध स्थापित गर्छन् भन्ने कुराको अध्ययनका लागि हो र यसले उपभोक्तालाई समेत फाइदा गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.