महामारीका बावजुद नेवार समुदायको प्रसिद्ध पाहांच:ह्रे जात्रा (फोटो फिचर)
काठमाडौँ: काठमाडौं उपत्यकाबासी नेवार नेवार समुदायको प्रसिद्ध पर्व हो पाहांच:ह्रे जात्रा । हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि चैत्र शुक्ल प्रतिपदासम्म तीन दिन मनाइने यस पर्वलाई 'पासा चह्रे' पनि भन्ने गरिन्छ ।
'पाहाँ' को अर्थ पाहुना हो भने 'चह्रे'को अर्थ बोलाएर रमाइलो गर्नु । अर्थात् पाहुना वा साथीभाइलाई बोलाएर भेटघाट र रमाइलो गर्ने पर्वको रुपमा यसलाई मनाइन्छ ।
यस पर्वको पहिलो दिनमा लुकु महाद्यः (खाल्डोमा लुकेको महादेव)को पूजा गरिन्छ । र दोस्रो दिनलाई घोडे जात्राको रुपमा मनाइन्छ । यसपालि यो पर्व चैत २८ गते शनिबार परेको थियो। यो दिन टोलटोलका देवीदेवताको पूजाआजासँगै खटजात्रा गरिन्छ।
घोडेजात्राको मध्यरातमा टुँडीखेलको बीच भागमा लुमद्यि अजिमा, वोटु अजिमा र कंग अजिमाको खट ल्याइ चिराग साटिन्छ। यसलाई द्यः ल्वाकेगु पनि भनिन्छ। यो पर्वले दिदीबहिनीको भेटघाटलाई संकेत गर्छ।
यस्तै तेस्रो दिन मन्दिरबाट खट निकालेर टोलटोलमा घुमाइ पूजा गरिन्छ। दिउँसो लुमद्यि अजिमा, वोटु अजिमा र कंग अजिमाको खट असनमा ल्याएर चिराग साटिन्छ। र फेरि खटलाई टोलटोलमा घुमाएर राति जात्रा सम्पन्न गरिन्छ।
सोमबार पर्वको अन्तिम दिन न्युरोड असन इन्द्रचोक लगायतका नेवार समुदायले यस पर्व धुमधाम साथ मनाए ।कोरोना महामारीका बीच नेवार समुदायका युवा र वृद्धहरुले यस पर्वलाई धुमधाम साथ मनाएका छन् ।