‘के लेखूँ शब्दमा’
काठमाडौं : सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखूँ शब्दमा’ सार्वजनिक भएको छ। गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द छ। प्रेमिकालाई मायाभावले वर्णन गर्ने गीतको भिडियो आकर्षक बनाइएको छ। गीत एजिएल इन्टरटेनमेन्टले तयार गरेको हो।
एजिएल प्रमुख अमृतले गीतको शब्दअनुरूपकै भिडियो तयार गरिएको बताए। ‘गीतका शब्दलाई दृश्यमार्फत अलि प्रस्ट्याउने जमर्को गरेका छौं’, उनले भने। गीतमा लोकप्रिय मोडल नीराजन प्रधानसँग डेब्यु गर्ल आज्ञा करन्जित फिचर्ड छिन्। पछिल्लो समय नायक अनमोल केसीसँग फिल्म ‘पारस’मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो।
गीतको भिडियोमा आज्ञासँग नीराजनको प्रेमभाव दर्शाइएको छ। एकअर्काप्रतिको प्रेमलाई लिएर भिडियो सान थापाले तयार गरेका हुन्। एजिएल इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ। भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेका हुन्।