ठड्याइयो हात नभएको योसिङ द्यः (फोटो फिचर)

ठड्याइयो हात नभएको योसिङ द्यः (फोटो फिचर)

भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन मंगलबार भक्तपुर नगरपालिका वडा नं ४ पोटेरी स्क्वायरमा हात नभएको ज्याठा गणेशको योसिङ द्यः (लिंगो) ठड्याइएको छ। स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा करिब ५० हात लामो उक्त योसिङ द्यः ठड्याइएको हो। 

यो योसिङ द्यः ठड्याउन र ढाल्न माटोको भाँडा बनाउने प्रजापतिहरुमात्र सम्मिलित हुने प्रचलन छ। त्यसैले यस जात्रामा हात भएको ५५ हात भएको योसिङ द्यः जात्रामा जस्तो जात्रालुको उपस्थिति हुँदैन।

पछिल्लो समय उक्त योसिङ द्यः ठड्याउने जात्रामा अन्य समुदायको पनि सक्रिय सहभागिता बढेको छ। प्रजापतिहरुमात्रै सम्मिलित हुने समयमा उक्त योसिङ द्यः ठड्याउन घरघरका झ्यालबाट डोरीले तान्ने गरिन्थ्यो। तर २०७२ वैशाख १२ को भूकम्पले ती घरहरुमा क्षति पुगेकाले अहिले बाहिरैबाट तानेर योसिङ द्यः ठड्याइँदै आएको छ।

सयौं जात्रालुले डोरी तानिरहँदा योसिङ द्यःमुनि बसेर कैचीको व्यवस्था गर्ने जात्रालुहरु पनि उत्तिकै थिए। उनीहरु कैचीको तल र माथि दुवैतिर डोरी बाँधेर योसिङ द्यः ठड्याउन सघाइरहेका थिए। एकातिरबाट मात्रै डोरीले तानिँदा योसिङ द्यः ठडिँदैन। कैचीको सहायताले तलतिरबाट माथितिर घचेटिँदा योसिङ द्यः चाँडै ठडिने स्थानीय सुनिल प्रजापति बताउँछन्।

‘योसिङ द्यः ठड्याउने क्षेत्र साँघुरो भएकाले कैचीको सहायताले माथितिर ठेल्नै पर्छ’, उनले भने, ‘कैचीको सहायताले योसिङ द्यः भाँचिन पनि पाउँदैन।’ 
संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षणको रुपमा रहेको भनपा वडा नं ५ योसिंखेलमा मनाइने योसिङ द्यः जात्राभन्दा धेरै समयपछि ज्याठा गणेशको योसिङ द्यः जात्रा प्रचलनमा आएको जानकारी दिए।

स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा उक्त योसिङ द्यः ठड्याइने भएकाले यसलाई ज्याठा गणेशको योसिङ द्यः मानिने उनले स्पष्ट पारे। उनका अनुसार योसिंखेलमा ठड्याइने योसिङ द्यःलाई भने भैरव एवं इन्द्र देवताको प्रतीक मानिन्छ। वर्षान्तको दिन बिहानै ठड्याइने यो ज्याठा गणेशको योसिङ द्यः बिस्का जात्राको अन्तिम दिन वैशाख ५ गते ढाल्ने परम्परा रहँदै आएको छ।

आजकै दिन योसिङ द्यः जात्रा हेर्न आएका थिए काशी विश्वनाथ यसैगरी आजै साँझ भक्तपुर नपा ५ योसिंखेलमा ५५ हात लामो योसिङ द्यः ठड्याइँदै छ। भक्तपुरको बिस्का जात्रा यहीं योसिङ द्यः जात्रा रहेको संस्कृतिकर्मी धौभडेल बताउँछन्। वर्षान्तको साँझ ठड्याइने उक्त योसिङ द्यः विक्रम संवत्को नयाँ वर्ष सुरु भएकै दिन साँझ ढालिन्छ। यहीं योसिङ द्यः जात्रा हेर्न भारतको काशीका विश्वनाथ नेपाल आएको विश्वास गरिन्छ। जसलाई तत्कालीन शासकका तान्त्रिकहरुले थाहा पाई काशीका विश्वनाथलाई नेपालमै राख्ने उद्देश्यले समाउन खोजेको थिए। आफूलाई समाउन खोजेको चाल पाएर जमिनमुनि अलप हुन खोज्दा शीर काटेको विश्वास गरिन्छ। त्यसैले भक्तपुरको टौमढीस्थित भैरवनाथ मन्दिरमा विराजमान गरिएका काशी विश्वनाथको मूर्ति शीरमात्रै रहेको छ। जुन मूर्तिलाई भैरवनाथ मानेर पुज्दै आएको छ।

सोही भैरवनाथलाई योसिङ द्यः जात्रा देखाउन तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तान्ने छुट्टै जात्रा गर्ने विधि पछि थपिएको संस्कृतिकर्मी धौभडेल बताउँछन्। योसिङ द्यःमा ३५ हात लामा दुई ध्वजा फहराइनु बिस्का जात्राको मुख्य आकर्षण हो। विश्वध्वज मानिने उक्त ध्वजालाई स्थानीय नेपालभाषामा हलिंपत्त भनिन्छ। नेपालभाषामा हलिं भनेको विश्व र पत्त भनेको ध्वजा हो।

इतिहासविद्हरुका अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकहरुले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको विश्वास गरिन्छ। सोही विजयी जात्रा कालान्तरदेखि अहिलेसम्म बिस्का जात्राको रुपमा निरन्तरता पाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.