यसपटक भक्तपुरमा वर्षान्तको दिन ठडिएन ‘योसिङ द्य:’

यसपटक भक्तपुरमा वर्षान्तको दिन ठडिएन ‘योसिङ द्य:’

भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राअन्तर्गत चौथो दिन मंगलबार योसिङ द्य: (लिंगो) ठडिएन। विक्रम संवत्को वर्षान्तको दिन ठड्याइने भक्तपुर नगरपालिका ५ योसिंखेलमा उक्त योसिङ द्य: मंगलबार राति अबेरसम्म तान्दा पनि नठडिएको हो।

साँझ आधा उठेको योसिङ द्य: कैची नपुग्दा उल्टै ढल्न पुगेको थियो। जसले गर्दा योसिङ द्य: बुधबार बिहानसम्म ठड्याउन सकिएको छैन। ५५ हात लामो उक्त योसिङ द्य: अष्टमातृकाको प्रतीकको रुपमा आठ वटा मोटो एवं लामो डोरीले तानेर ठड्याइन्छ। जसमा करिब ३५ हात लामा दुई हलिंपत्त (विश्वध्वज) फहराइन्छ।

इतिहासविद्हरुका अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकहरुले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको थियो। सोही विजयी जात्रा कालान्तरदेखि अहिलेसम्म बिस्का जात्राको रुपमा निरन्तरता पाउँदै आएको छ।

विक्रम संवत्को नयाँ वर्ष सुरु भएकै दिन साँझ ढाल्नुपर्ने उक्त योसिङ द्य: यसपटक ठड्याउने र ढाल्ने एकै दिन हुने भएको छ।

बिस्का जात्रा हेर्न आउँदा विश्वनाथको शीर छेदन !
यहीँ योसिङ द्य: जात्रा हेर्न भारतको काशीका विश्वनाथ नेपाल आएको विश्वास गरिन्छ। जुन जात्रा हेर्दा उनको शीर छेदन गरिएको थियो।

योसिङ द्य: जात्रामा शक्तिकी प्रतीक भद्रकालीको समेत जात्रा हुन्छ। भद्रकाली भैरवनाथ एवं विश्वनाथकी अर्धाङ्गिनी मानिन्छ। त्यहीं आफ्नी आधी शक्ति भद्रकालीको जात्रा हुने विश्वमै प्रसिद्ध भक्तपुरको बिस्का जात्रा हेर्न आउँदा काशीका विश्वनाथको शीर छेदिएको जनस्रुति रहेको छ।

जनस्रुतिअनुसार काशीका विश्वनाथ भक्तपुरको योसिङ द्य: जात्रा हेर्न आएको यहाँका तत्कालीन एक राजतान्त्रिकले सुइको पाए। तत्काल  राजालाई भेटेर योसिङ द्य: जात्रा हेर्न आएका काशी विश्वनाथलाई नेपालमै राख्न सकिए यहाँ अन्नले धनधान्य हुने र कहिल्यै भोकमरी नहुने बिन्ती बिसाए।
‘तर सयौं जात्रालुको भीडमा काशी विश्वनाथलाई चिन्ने कसरी ?’, राजाले प्रश्न गरे। उक्त राजतान्त्रिकले विश्वनाथ सामान्य मानिसभन्दा अग्लो हुने जानकारी दिए।

सोही सल्लाहअनुसार काशी विश्वनाथलाई पक्रन खोजिन्छ तर काशी विश्वनाथले आफूलाई नियन्त्रणमा लिन आएको पत्तो पाउँछन्। नभन्दै उनी जमिनमुनि गडिँदै जान्छन्। त्यत्तिखेरै एक किसानले कम्मरमा बाँधिराखेको हँसिया झिकेर काशी विश्वनाथको शीर छेदन गर्छन्।

हँसियाले विश्वनाथको शीर छेदन गरिएकाले भक्तपुरमा हँसियाले मासु काट्न हुन्न भन्ने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।

उनले हँसियाले छेदन गरिएको विश्वनाथको टाउको सातपटकसम्म फरक फरक ठाउँमा उफ्रिएर अन्तमा आकाशवाणी भएको सुनाए। आकाशवाणीमा काशी विश्वनाथले भन्छन्, ‘मलाई नेपालमै राख्ने हो भने सात वटा बाटो भएको केन्द्र भागमा मन्दिर बनाएर स्थापना गर।’

‘काशी विश्वनाथकै इच्छाअनुसार हालको टौमढीमा भैरवनाथको मन्दिर बनाएर उसलाई स्थापना गरिएको जनस्रुति रहेको छ’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘भैरवनाथ मन्दिर भएको ठाउँबाट भक्तपुरका विभिन्न टोल जाने सातवटा फरक फरक बाटो रहेका छन्।’

यसरी काशी विश्वनाथको शीर नेपालमा र शरीर भारतमा रहेको जनविश्वास अद्यापि रहँदै आएको छ।

सोही काशीको विश्वनाथरूपी भैरवनाथलाई योसिङ द्य: जात्रा देखाउन तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तान्ने छुट्टै जात्रा गर्ने विधि पछि थपिएको संस्कृतिकर्मी धौभडेल बताउँछन्।

भक्तपुरमा ठड्याइन्छ दुई योसिङ द्य:
भक्तपुरको बिस्का जात्रामा ५५ हात लामो दुई योसिङ द्य: ठड्याइँदै आएको छ। योसिंखेलमा हात भएको योसिङ द्य: ठड्याइँदा भक्तपुर नपा ४ पोटेरी स्क्वायरमा हात नभएको उठाइन्छ। भक्तपुरका स्थानीयले दुई योसिङ द्य:लाई दिदीबहिनी मान्दै आएका छन्। दुईमध्ये योसिंखेलको दिदी र पोटेरी स्क्वायरको बहिनी मानिन्छन्।

संस्कृतिकर्मी धौभडेलका अनुसार बिस्का जात्रासम्बन्धी किम्बदन्तीअनुसार दुइटै दिदीबहिनी धेरै नै चञ्चले र अरुको काम बिगार्दै हिँड्ने खालका थिए। त्यसैले भक्तपुरमा केटीहरुलाई गाली गर्नुप¥यो भने पनि ‘योसिङ’ भन्ने उनको भनाइ थियो।

‘अरुको बिगार्दै हिँड्दा दिदीको नाक काटिदिएको र बहिनीको हात काटिदिइएको जनविश्वास रहेको छ’, संस्कृतिकर्मी धौभडेलले थप्छन्, ‘त्यसैले योसिंखेलको योसिङ द्य:मा नाक राखिँदैन भने पोटेरी स्क्वायरको योसिङ द्य:मा हात हुँदैन। तर पोटेरी स्क्वायरको योसिङ द्य:मा नाकको प्रतीकस्वरुप काठ टुक्रो हाल्ने प्रचलन अहिलेसम्म चल्दै आएको छ।’

इतिहासविद्हरुका अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकहरुले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको थियो। सोही विजयी जात्रा कालान्तरदेखि अहिलेसम्म बिस्का जात्राको रुपमा निरन्तरता पाउँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.