भान्छा महँगिदाको मार
कोरोनाका कारण गत वर्षको चैतदेखि बन्द रहेका स्कुल माघ महिनादेखि मात्रै सञ्चालनमा आएका हुन् । वैशाखदेखि नै अनलाइन कक्षामा सधैं उपस्थित रहने एकजना विद्यार्थी म स्कुल गइरहेको देखेपछि दौडिँदै नजिक आए । उनले सोधे, ‘टिचर, स्कुल जाँदै हो ?’ सोधें, ‘तिमी स्कुल किन नगएको ?’ ‘मैले त्यो स्कुल छोडिसकें । यो वर्ष म र दाइ स्कुल नजाने । अर्को वर्ष मात्रै नयाँ स्कुलमा पढुन जाने’, उनले सुनाए । आर्थिक अवस्था कमजोर रहेका उनका अभिभावकले गत वर्षको शुल्कसमेत स्कुलमा बुझाउन सकेका थिएनन् । स्कुल जाँदा र फर्किंदा उनी र उनका भाइलाई उनका साथीसँग खेलिरहेको मात्रै देख्छु । उनी मात्रै होइन, माघसम्मै अनलाइन कक्षा लिइरहेका कतिपय विद्यार्थी जब भौतिक रूपमा कक्षाहरू सञ्चालन भए स्कुल आउनै बन्द गरे ।
जब स्कुलले माघमा भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर दोस्रो त्रैमासिक परीक्षाको लियो र त्यसको परीक्षाफल प्राप्त गर्न विद्यार्थीले स्कुलमा भर्ना गरेसँगै माघसम्मको शुल्क तिरेको हुनुपर्ने जनायो। त्यसपछि कतिपय विद्यार्थी स्कुल आउनै छाडे । कतिपय विद्यार्थीले स्कुल परिवर्तन गरेर सर्वसुलभ निजी स्कुल वा सरकारी स्कुलमा भर्ना हुन गए भने कतिपय विद्यार्थी स्कुलै नगएर नयाँ शैक्षिक सत्रदेखि जाने भन्दै घरमै बस्न बाध्य भए।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले कतिपय अभिभावकले जागिर गुमाउँदा, आधा मात्रै तलब पाउँदा वा लामो समयसम्म तलबै नपाउँदा त्यसको प्रत्यक्ष असर स्कुले विद्यार्थीमा समेत परेको छ । बजारमा महँगी बढ्दा दुई छाक टार्न गाह्रो भइरहेका बेला आफ्ना बालबालिका पढ्ने निजी स्कुलको शुल्क तिर्न अभिभावकलाई धौधौ परिरहेको देखिन्छ ।
केही दिनअघि सधैं खाद्यान्न किनिरहने पसलबाट बिस्कुट किनेर ल्याएँ । सामान किन्ने बेला प्याकेटमा प्याक गरिएका खाद्यान्नको म्याद सकिने समय हेरेर मात्रै किन्ने गरेको भए पनि पसलेले हिजो मात्रै लिएर आएको हो, हेर्नै पर्दैन भनेपछि प्याकेटमा म्याद सकिने समय (एक्सपायर डेट) नहेरी घर ल्याएँ । तैपनि मनले मानेन । प्याकेट खोल्नुअघि एकचोटि मिति हेर्न मन लाग्यो । हिजो मात्रै पसलमा ल्याएको भनिएको प्याकेटको बिस्कुट खान हुने समय दुई दिनअगाडि नै सकिएको रहेछ । पसलमा फिर्ता गर्न लगेपछि पसले आफैं छक्क पर्नुभयो । हिजो मात्रै पसलमा राख्न भनेर ल्याएको बिस्कुटको म्याद कसरी सकिएको हुन्छ ? हिजो ल्याइएका भनिएका सबै बिस्कुटको म्याद सकिइसकेको थियो ।
पसलहरूमा कमसल गुणस्तरका खाद्यान्न बिक्री भइरहेका गुनासा आइरहेका छन् । थोरै मात्रै नागरिक सचेत छन्, जसले सामान किन्दा प्याक गरेको र खान मिल्ने अन्तिम मिति हेर्ने गर्छन् । पसलमा सामान किन्न जाने कतिपय गृहणी निरक्षर छन् । उनीहरूलाई पढ्न आउँदैन वा नेपाली पढन् आए पनि प्याकेटमा लेखिने गरेको अंग्रेजी पढ्न जान्दैनन् । गते हेर्न जान्दैनन् । कतिपय प्याकेटमा नदेखिने गरी एकदमै मधुरो अक्षरमा लेखिएको हुन्छ । कतिपयमा मेटिसकिएको समेत हुन्छ भने कतिपयमा प्याक गरेको र अन्तिमसम्म खान हुने मिति नै राखिएको हुँदैन ।
नियमअनुसार कुनै पनि प्याक गरिएका खाद्य पदार्थमा प्याक भएको मिति, अन्तिम खान मिल्ने मिति र ती खाद्य पदार्थमा पाइने पोषकतत्व उल्लेख गरेको हुनैपर्छ । तर बजारमा पाइने धेरैजसो प्याकेटका खाद्यवस्तुमा मिति लेखिएको स्पष्टसँग देखिँदैन । हुन त पोषणविद्का अनुसार लामो समय प्याक गरिएका खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् । समय र परिस्थितिअनुसार कहिलेकाहीं खानुपर्दा पनि यस्ता मिति गुजे्रका खाद्य पदार्थले फाइदाभन्दा पनि शरीरलाई बढी हानि पुर्याउँछन् ।
लसुन, प्याजजस्ता भान्छामा अति आवश्यक पर्ने खाद्य पदार्थ प्रशस्त मात्रामा देशभित्रै फलाउन सकिएको भए अर्बौं रुपैयाँ खर्च गरेर आयात गरिरहनुपर्ने थिएन ।
कहिलेकाहीं केटाकेटी बाटोमा हिँड्दा पकाइरहेको डुनटको बास्नाले किन्न जिद्धि गर्छन् । कुनै पसलमा पचास रुपयाँको पाँचवटा डुनट किनेपछि एउटा थपेर दिन्छिन् । कुनैमा आफैं भएर दिँदैनन् तर माग्यो भने दिन्छन् । तर कुनै पसलमा भने मागे पनि कहाँ आउँछ र यसरी भन्दै दिनै मान्दैनन् । नजिकै खोलिएका पसलमा पनि उही सामानको एउटै मूल्य हुँदैन । आधा किलो घिउ किन्दा कतै पाँच सय, कतै पाँच सय २५ त कतै पाँच सय पचास तिर्नुपर्छ । दूधडेरीबाट बिक्री गरिने दूध, दही र महीमा झनै घोटाला गरेको देखिन्छ । कतैको डेरीबाट किन्ने गरेको दूधमा पानीको मात्रा अत्यधिक हुन्छ । दूध तताएर चिसो पार्दा कुनै डेरीबाट किनेको दूधमा धेरै तर आउँछ भने कुनैमा तरै बस्दैन ।
गाउँबाट आएका आफन्त यहाँका डेरी दूध खान मान्दैनन् । पानी हालेको दूध खाने बानी लागेका मेरा आफ्ना बच्चा गाउँ जाँदा गाईभैंसीको पानीविनाको शुद्ध दूध मीठो लागेन भन्दै खान मान्दैनन् । पन्ध्र वर्षदेखि दूध दही बेच्दै आएका घरनजिकैको डेरीवालाले दूध बेचेर त्यहींनेर जग्गाजमिन किनेर घरसमेत बनाइसके । तर एकपटक पनि डेरी निरीक्षण गर्न अहिलेसम्म सरकारी स्तरबाट कोही पनि आएको देखिँदैन । यसले जुन सामान जतिमा बेचे पनि कसैलाई मतलब छैन । बोल्न सक्ने थोरै ग्राहकलाई व्यापारी टेर्दैनन् । बाँकी सोझासीधा जनता ठगिइरहन्छन् । सरकारी स्तरबाट दसैंतिहारबाहेक अरूबेला अनुगमन, नियमन नहुँदा व्यापारीमा मनोबल बढुदै गएको छ।
मकवानपुर र चितवनका दुर्गम क्षेत्रका उपभोक्ताले २० रुपैयाँ पर्ने नुनलाई ५० रुपैयाँ तिरिरहेका छन् । त्यसैगरी हुम्लामा खच्चरबाट बोकाएर ल्याउने गरिएको एक ग्याँस सिलिन्डरको १४ हजार रुपैयाँ पर्ने गरेको छ भने सकिएको ग्यास फेर्न सहरमा १५ सय पर्ने सिलिन्डरको त्यहाँ नौ हजार तिर्नुपर्ने बाध्यता छ । बजारमा दाल, चामल, तरकारी तथा फलफूलको मूल्य पनि धेरै बढेको छ । अहिले अंगुरको बजार छ। हरियो अंगुर किलोको सय रुपयाँदेखि एक सय पचासम्म बिक्री भइरहेको छ । फागुन महिनामा मात्रै सय रुपैयाँमा तीन किलो टमाटर बजारभरि फालाफाल देखिन्थ्यो । चैत महिनामै बढेर सय रुपैयाँ प्रतिकेजी पुगेको छ ।
कोरोना भाइरसले लाखौं जनता बेरोजगार भएका छन् तर मूल्यवृद्धि भने प्रत्येक वर्ष अकासिँदो देखिन्छ । २०७५ सालमा प्रतिलिटर १३५ रुपैयाँ पर्ने भटमासको तेल २०७७ सम्म आइपुग्दा २३५ रुपैयाँ पुगेको छ । त्यसैगरी तराई ताइचिन चिउरा ६५ बाट बढेर ८५ पुगेको छ । एक महिनामा तीनचोटि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । कोभिड– १९ को महामारी केही कम भएसँगै आयात बढ्दा साउनपछिका आठ महिनामा प्याज मात्रै झन्डै तीन अर्बको आयात भएको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आयात बढ्दा तथा निर्यात घट्दा गत वर्षको साउनपछिको आठ महिनाको तुलनामा यो वर्ष ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँको व्यापार घाटा भएको छ । लसुन, प्याजजस्ता भान्छामा अति आवश्यक पर्ने खाद्य पदार्थ प्रशस्त मात्रामा देशभित्रै फलाउन सकिएको भए अर्बौं रुपैयाँ खर्च गरेर आयात गरिरहनु पर्दैनथ्यो । गृहिणीहरूलाई एउटा प्याजलाई काटेर दुई छाक पुर्याउने बाध्यता हुँदैनथ्यो कि !