दुई घन्टामात्रै ठडियो योसिङ द्यः बिहीबार जिब्रो छेड्ने र सिन्दूर जात्रा
भक्तपुर : भक्तपुरको बिस्का जात्राअन्तर्गत बुधबार योसिङ द्यः (लिंगो) जात्रा सम्पन्न भएको छ। विक्रम संवत्को वर्षान्तको दिन ठड्याइने भक्तपुर नगरपालिका ५ योसिंखेलको योसिङ द्यः नयाँ वर्षको पहिलो दिन ढालेसँगै योसिङ द्यः जात्रा विधिवत सम्पन्न भएको हो।
यसपटक योसिङ द्यः ठड्याउने र ढाल्ने एकै दिन सम्पन्न गरिएको हो। मंगलबार राति अबेरसम्म तान्दा पनि नठडिएको योसिङ द्यः बुधबार दिनभर तान्दा पनि ठडिएन। बुधबार बेलुका करिब ६ बजेमात्रै उक्त योसिङ द्यः ठडिएको थियो। जुन योसिङ द्यः २ घन्टाभन्दा बढी समय ठडिन पाएन। अघिल्लो दिन ठडिएको भए करिब २४ घन्टा योसिङ द्यः ठडिन पायँथ्यो तर बुधबार बेलका करिब साढे ८ बजे उक्त योसिङ द्यः ढालिएको छ।
विक्रम संवत्को वर्षान्तको दिन ठड्याएर नयाँ वर्षको पहिलो दिन उक्त योसिङ द्यः ढालिन्छ तर यसपटक वर्षान्तमा नठडिएर ढाल्नुपर्ने दिन नै योसिङ द्यः ठडिएको हो। ५५ हात लामो योसिङ द्यः अष्टमातृकाको प्रतीकको रुपमा आठ वटा मोटो एवं लामो डोरीले तानेर ठड्याइन्छ। जसमा करिब ३५ हात लामा दुई हलिंपत्त (विश्वध्वज) फहराइन्छ।
बिस्का जात्राअन्तर्गत बुधबार योसिङ द्यः ढालिएपछि भक्तपुरमा बाराहीको टिप्वा जात्रा सकिएको छ। भक्तपुर नपा ३ वंशगोपालस्थित बाराहीस्थानमा स्थानीयले सुकेको निगालोको मुट्ठा बालेर गर्ने जात्रालाई टिप्वा जात्रा भनिन्छ।
त्यस्तै योसिंखेलमा रहेको भैरवनाथ र भद्रकालीको रथ गःहिटीतर्फ तानिएको छ। गःहिटी पुगेपछि बुधबार राति नै दुइटै रथलाई एकापसमा तीनपटकसम्म जुधाइन्छ। यस प्रक्रियालाई भैरवनाथ र भद्रकालीको समागम भएको मानिन्छ।
बिहीबार जिब्रो छेड्ने र सिन्दूर जात्रा
भक्तपुरको बिस्का जात्राअन्तर्गत बिहीबार मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने र बालकुमारी क्षेत्रमा सिन्दूर जात्रा मनाइँदै छ। बोडेको जात्रा यसवर्ष स्थानीय बुद्धकृष्ण श्रेष्ठले आठौंपटक आफ्नो जिब्रो छेडाउँदै छन्।
यसअघि बालकुमारी क्षेत्रमा मध्यपुर थिमि क्षेत्रका ३२ वटा विभिन्न देवदेवीको खटसहितको सिन्दूर जात्रा हुनेछ। उक्त जात्रामा सहभागी हुने जात्रालुले एकापसमा सिन्दूर छ्याप्ने गर्नु यस जात्राको विशेषता हो।
बुधबार साँझ ठडिएको ५५ हात लामो योसिङ द्यः को टुप्पोसम्म चढेर सेल्फी खिच्दै एक युवक। तस्बिर : ईश्वरकाजी खाइजू